माइत जाने बाटो अर्थात हङकङमा कविता

देवेन्द्र खेरेस

युङलन !

फेरि आइपुगेकी छु

घुम्दैघुम्दै म पार्कमा ।

-युङलन पार्क ।

कवि सुनिता गिरी, हङकङको साहित्य लेखनका अव्वल नाम हो । उनको ‘माइत जाने बाटो’ कविता कृति पहिलो संस्करणबाट पढ्दै आएको छु । र, दोस्रो संस्करणसम्म आइपुग्दा कविताहरू धेरै बुझ्ने मौका मिलेको छ । दोस्रो संस्करणको प्रकाशकीयमा दाजु गुरूङले “ ‘माइत जाने बाटो’ मा यात्रारत कविको कल्पनाको स्निग्ध क्यानभासमा ठिक यति वेला ‘सपनामा आमा’ आइपुगेकी छिन”  सिलसिलेवारमा ‘माइत जाने बाटो’ कृतिको प्रतिनिधि कविताहरूको संक्षेपमा अर्थपूर्ण तरिकाले विचरण गरेका छन् । कविता पढ्नुमा जति आनन्द छ, पढ्दैजादा यसको महत्व अझ बढेर आउँछ ।

 

कविता लेखिसकेर

नारी पस्छे भान्सामा

कविता लेखिसकेर

पुरूष पुग्छ कवि गोष्ठीमा

जहाँ वाचन गर्छ उसले

नारी स्वातन्त्रताको कविता ।

-नारी र स्वतन्त्रता ।

कविता पढ्नलाई मात्र होइन, पढेर बुझ्नु पनि हो । कविता आवाज हो, सुन्नु पर्दछ । कविता शक्ति हो, वेवास्ता गर्नु हुदैन । र कविता जीवन हो, सबैले बराबर जीउनु पर्दछ । कवि सुनिता गिरीका कविताहरू पढिसकेपछी अनुभूत गरेका कुराहरू यि र यस्तै हुन । राम्रो कविता हुनलाई सरल भाषा, शैली र प्रस्तुति भए पुग्छ । र विषयहरू केही मात्रामा गहन र पाठकको मन/मुटु छुने भइदिए हुन्छ । ‘माइत जाने बाटो’ कृतिमा समेटिएका कविताहरू यस्तै सरल र शुन्दर ढंगले गरिएका छन् भने विषयगत ढंगले हेर्दा सशक्त र कतिपय गम्भीर विषयहरू पनि उठान गरिएको पाइन्छ । कविताको बिम्बहरू नियाल्दा ‘माइत’ शब्द नै काफी लाग्दछ । जुन शब्दको उच्चारणले सामाजिक सम्बन्धहरूको गाठो एति कसिलो बनाएको छ, कसैले खुस्काउन सक्दैन । यस्तै आमा, वसन्त, मन, नारी र रङ आदी कविताका अमर बिम्बहरू हुन ।

अब म-

सपनाहरूमा मात्रै पर्खन सक्दिन

अब म-

सम्झनाहरूमा मात्रै भेट्न सक्दिन

यी बाडुल्की

र आसुका थोपाहरू

यी प्रतिक्षा

र वियोगका तृष्णाहरू

कतै देउरालीमा चढाएर

फर्कन पनि सक्दिन ।

-मेरो हजुर ।

कृतिको प्रथम संस्करणमा कविले भनेकाछन् “…कविता समाजलाई हिडाउने बाटो हो साथै यो मानव हृदयको ऐना पनि हो” । यस दृष्टिकोणबाट कविताहरू नियाल्ने हो भने सामाजिक र मानव हृदय नछुने सायद होला । कविताको मर्म कसैको मन छुनु हो, हौसला बढाउनु हो र समाजलाई सशक्त बनाउनु हो । यस संग्रहका कविताहरूमा सामाजिक चेतना प्रचुर मात्रामा पाइन्छ । व्यक्तिगत जीवनका आरोह अवरोहरू शब्दले उनेर शु्न्दर काव्यको निर्माण भएको छ ।

माइत जाने बाटोबाट

टाढा देखिएका पहाड

माइतीजस्तै लाग्छन्

माइत जाने बाटोबाट

माथि देखिएको आकाश

माइतीघरको आगनजस्तै लाग्छ ।

-माइत जाने बाटो ।

‘माइत’ महिलाहरूको प्रिय शब्द हो, व्यवहारमा । तर कतिपय कार्यहरूमा पुरूषलाई पनि प्रिय लाग्दछ भन्ने कुरा तत्कालीन बरिष्ठ अधिवक्ता वलराम केसी सर्वोच्च अदालतको न्यायधीस नियुक्त भएपछी बारको कार्यक्रममा सम्बोधन गर्दै “घरबाट माइत फर्केजस्तै महसुस भएको छ” भनेका थिए। यसरी माइत शब्दको शाब्दिक अर्थ र ब्यापक प्रयोगले विशेष महत्व राख्दछ ।

कवि सुनिता गिरीको कविता पढिसकेपछी हङकङका अन्य महिला कवि/लेखकहरूको सृजानाले अतीतलाई तानेको छ । विशेष गरी ९० को दशकमा सकृय गीता संताप एक राम्रा कथाकार हुन । उनको कथा र कविताहरू हङकङको पत्र पत्रिकामा प्रकाशित हुने गर्दथ्यो । लेखनमा परिपक्वता भएकी संताप छोटो समयमा नै हङकङ बाहिर गइन। कथाकार जयालक्ष्मी राई कथा लेख्दा-लेख्दै डम्बरी (कथा संग्रह) लिएर बेलायत हानिन । फुटकर कथा लेख्नमा  सनु इजमको सकृयता केही समय रह्यो । गीत/कविता लेखनमा सकृय गीता पालुंग्वाले पनि हङकडेली नेपाली साहित्य लेखनमा थप योगदान दिएकी छन्। सामाजिक कार्यक्रमहरूमा संलग्न लक्ष्मी राई (लारा) ले पनि हङकङको साहित्य क्षेत्रमा निकै क़लम खर्चिन् । सैद्धान्तिक विचारबाट प्रभावित दिपा एवाई हङकङको साहित्यमा खरो कविको रूपमा परिचित नाम हो । पछिल्लो समय कवि सुनिता गीरी, पुर्णीमा जी शाह, मनु कन्दंगवाको कृतिहरू प्रकाशनले हङकङेली साहित्य लेखनमा वल पुगेको छ । निरन्तरताको शुभकामना ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार