जी-२० को मूल नारामा चीनको आपत्ति…..

नयाँदिल्ली — चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ । संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ संस्कृत विज्ञले ‘वसुधैव कुटुम्बकम्’ को अर्थ ‘विश्व एक परिवार’ हुने अर्थ्याएका छन् । भारतको थिम ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ रहेकाले उक्त सूक्तिले त्यो अर्थ नदिने चिनियाँ विज्ञको दाबी छ । ‘वसुधैव कुटुम्बकम’ ले ‘एक पृथ्वी, एक परिवार’ दर्शाए पनि ‘एक भविष्य’ अर्थ नदिने उनीहरूले बताएका छन् । त्यसैले उक्त सूक्तिलाई जी–२० को विज्ञप्तिमा प्रयोग गर्न नहुने चिनियाँ पक्षको भनाइ छ । भारतले जी–२० को अध्यक्षता ग्रहण गरेदेखि नै लोगो तथा कार्यक्रममा उक्त सूक्तिको प्रयोग गर्दै आएको छ र साझा दस्ताबेजमा पनि त्यसैलाई प्रयोग गर्न प्रयासरत छ । रूस र युक्रेनको युद्धको मुद्दालाई लिएर जी–२० का सदस्य राष्ट्रहरू ध्रुवीकृत रहेका बेला नाराको विषयमा पनि भारत र चीनबीच मतभेद देखिएको भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ । समाचारअनुसार बेइजिङले भारतको थिम ‘एक पृथ्वी, एक परिवार, एक भविष्य’ वास्तवमा चीनको ‘वान बेल्ट, वान रोड’ बाट प्रेरित रहेको आरोप लगाएको छ । चीनले उक्त योजनालाई जी–२० को वक्तव्यको हिस्सा बनाउन प्रस्ताव गरेको तर भारत सहमत नरहेको समाचारमा उल्लेख छ । दिल्लीमा ९ र १० सेप्टेम्बरमा जी–२० शिखर सम्मेलन हुँदै छ । यसमा युरोपेनियन युनियन र १९ देश सदस्य छन् । दिल्लीमा जी–२० को १८ औं बैठक हुँदै छ । पहिलो बैठक सन् २००८ मा अमेरिकाको वासिङटनमा भएको थियो । दिल्लीको बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ अनुपस्थित रहनेछन् । त्यस्तै, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि भारत नआउने सार्वजनिक भइसकेको छ । दुई जना शक्तिशाली नेताहरू एकै पटक अनुपस्थित रहने खबरले जी–२० को बैठकलाई खल्लो बनाएको विश्लेषण गरिएको छ । चीनका तर्फबाट प्रधानमन्त्री ली चियाङ र रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लावरोभले बैठकमा प्रतिनिधित्व गर्नेछन् । युक्रेनसँगको युद्धका कारण पुटिनले अन्तर्राष्ट्रिय मञ्चहरूमा उपस्थिति कम गरे पनि चिनियाँ राष्ट्रपति सीको दिल्ली यात्रा अपेक्षित मानिएको थियो । २०१२ देखि शक्तिमा आएयता सीले कहिल्यै पनि जी–२० को शिखर सम्मेलनलाई छुटाएका थिएनन् । तर, देशको आन्तरिक समस्या, ब्रिक्सलाई प्राथमिकता, अमेरिकासँगको तिक्तता र आयोजक राष्ट्र भारतसँगकै तनावहरूका कारण चीनले सम्मेलनमा अनुपस्थित रहने निर्णय गरेको हुन सक्ने विश्लेषण गरिएको छ । चीन र भारतको सीमामा तनावको स्थिति कायमै छ । गतसाता मात्रै चीनले जारी गरेको नयाँ नक्सामा भारतको अधीनमा रहेको अरुणाचल प्रदेशलाई समेटिएपछि दुई देशबीचको तिक्तता झनै बढेको छ । अमेरिकाले भने जी–२० को मञ्चलाई विशेष महत्त्व दिएको छ । पत्नी जिल बाइडेनलाई कोरोना संक्रमण भए पनि अमेरिकी राष्ट्रपति जो बाइडेन दिल्ली आउँदै छन् । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व ध्रुवीकृत भएको छ । जी–२० मा पनि पश्चिमा देशहरूले उक्त युद्धको मुद्दालाई उठाउन खोजेका छन् । रुस–युक्रेन’को विषयले शिखर सम्मेलनपछि जारी हुने साझा वक्तव्यमा सहमति जुटाउन आयोजक राष्ट्र भारतलाई मुस्किल परेको छ । जी–२० देशका शीर्ष वार्ताकारहरू जसलाई ‘शेर्पा’ भनेर सम्बोधन गरिन्छ, उनीहरू बैठकको साझा वक्तव्य बनाउन प्रयासरत छन् । साभार : इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार