गाजा अस्पताल आक्रमणले विश्वभर तरंग…..

जेरुसेलम — प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा मंगलबार राति भएको रकेट आक्रमणको विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्रसंघ, रेडक्रसजस्ता मानवअधिकारको क्षेत्रमा काम गर्ने संगठनसँगै थुप्रै देशले उक्त घटनाको विरोध गरेका हुन् । रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन् । इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्रयस्थलका रूपमा समेत प्यालेस्टिनी नागरिकहरूले प्रयोग गर्दै आएका थिए । अस्पतालमा कार्यरत एक चिकित्सकले करिब ४ हजार जनाले त्यहाँ शरण लिएको बीबीसीलाई बताएका छन् । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अस्पतालमा आक्रमणपछि तीनदिने शोक घोषणा गरेका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले अस्पतालको अवस्था बयान गर्न नसकिने रहेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. असरफ अल–कुन्द्राले वक्तव्य जारी गर्दै चिकित्सकले जमिनमा सर्जरी गरिरहेको बताएका छन् । ‘कतै बेहोसी पार्ने दबाई नदिई सर्जरी भइरहेको छ । कति व्यक्ति अपरेसनका लागि आफ्नो पालो पर्खिरहेका छन्,’ वक्तव्यमा भनिएको छ । यो आक्रमणबाट धेरै बालबालिका र महिला प्रभावित भएको पनि असरफले बताएका छन् । जोर्डनका विदेशमन्त्री आयमन सफादीले आक्रमणमा इजरायललाई जिम्मेवार भएको बताएका छन् । उनले जोर्डनमा हुने भनिएको अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अरब देशका नेताहरूको वार्ता पनि रद्द भएको जानकारी दिए । ‘जारी युद्ध रोक्न र प्यालेस्टिनीको संहारको विरुद्ध खडा हुन’ सबै पक्ष तयार भएमा मात्र इजरायल–हमास युद्धको विषयमा बैठक हुन सक्ने उनको भनाइ थियो । बुधबार इजरायल भ्रमणमा आएका अमेरिकी राष्ट्रपति बाइडेनले गाजाको अस्पतालमा रकेट आक्रमणको घटनाबाट आफू आक्रोशित र दुःखी रहेको प्रतिक्रिया दिएका छन् । उक्त घटना इजरायलबाट नभई अन्य पक्षबाट भएको जानकारी आफूले पाएको बाइडेनको भनाइ थियो । गाजा र वेस्ट बैंक क्षेत्रमा मानवीय सहायताका लागि १ अर्ब अमेरिकी डलरको प्याकेज पनि घोषणा गरेका छन् । उनले इजरायललाई अमेरिकाको समर्थन रहने पनि बताए । इरानले अस्पतालमा आक्रमणको घटनाको निन्दा गर्दै एकदिने शोकको घोषणा पनि गरेको छ । यो घटनाले इजरायललाई पनि चाँडै असर गर्ने इरानी राष्ट्रपति इब्राहिम रइसीले चेतावनी दिएका छन् । साउदी अरबले घटनालाई बर्बरताको संज्ञा दिँदै यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलको पछिल्लो कारबाहीले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको उल्लेख छ । यस्तै, इजिप्ट, यूएई, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी लगायत देशले पनि आक्रमणको विरोध गरेका छन् । रकेट आक्रमणको विरोधमा विभिन्न देशमा प्रदर्शन पनि भएको छ ।

हमासले रकेट आक्रमणलाई ‘युद्ध अपराध’ भन्दै इजरायललाई दोषी ठहर गरेको छ । इजरायलले भने हमासलाई नै दोष लगाएको छ । इजरायलले आफ्नो सेनाको संलग्नतालाई अस्वीकार गर्दै अर्को ‘आतंकवादी समूह प्यालेस्टिनी इस्लामिक जिहाद’ले प्रहार गरेको रकेट विस्फोट भएको बताएको छ । गाजाको दोस्रो ठूलो लडाकु समूह प्यालेस्टिनी इस्लामिक जिहादले पनि जिम्मेवारी अस्वीकार गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । सुरुवाती विवरणअनुसार सयौं मानिस घाइते भएको र मृत्यु भएको संकेत छ । हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्योपचारको माग गर्छौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणको बदलामा प्यालेस्टिनी नागरिकहरूमाथि ‘सामूहिक सजाय’ दिन नमिल्ने बताएका छन् । बुधबार बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सम्बोधन गर्दै महासचिव गुटेरसले ‘अक्टोबर ७ को आक्रमणको बदलामा प्यालेस्टिनी नागरिकमाथि सामूहिक सजाय’ न्यायोचित नहुने बताएका हुन् । महासचिव गुटेरेसले गाजामा रहेको अल अहली अस्पतालमा भएको आक्रमणको पनि निन्दा गरेका छन् । उनले तत्काल मानवीय आधारमा युद्धविराम गरी मानिसहरूले भोगिरहेको पीडा कम गर्नॅपर्ने पनि बताएका छन् । अक्टोबर ७ मा गाजाबाट हमासले इजरायली भूमिमा आक्रमण लिएपछि पश्चिम एसियामा तनाव चर्किएको हो । हमासको आक्रमणमा १४ सय इजरायली नागरिकको मृत्यु भएको छ । जसमा १० नेपालीसहित १ सयभन्दा बढी विदेशी नागरिक पनि छन् । त्यस्तै इजरायली आक्रमणमा ३५ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलले गाजा क्षेत्रमा खाद्यान्नसहित खानेपानी, इन्धन र स्वास्थ्य सामग्रीको आपूर्तिसमेत बन्द गरेको छ । गाजामा १ हजारभन्दा बढी मानिस इजरायली आक्रमणबाट ध्वस्त बनेका भवनका भग्नावशेषमा पुरिएको बीबीसीले जनाएको छ । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाबाट लाखौं मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले सहायता एजेन्सीलाई गाजामा पहुँच दिन अपिल गरेको छ । यदि त्यहाँ सहायता पुर्‍याउन अवरोधमा भएमा युद्ध अपराध हुने चेतावनी राष्ट्रसंघले दिएको हो । मानव अधिकारका लागि राष्ट्रसंघकी उच्चायुक्तकी प्रवक्ता रविना श्यामदासनीले उत्तरी गाजाबाट स्थानीयलाई दक्षिणतर्फ स्थानान्तरणका लागि इजरायली सेनाले दिएको निर्देशनले मानवअधिकारको कानुन उल्लंघन हुने बताएकी छन् । उनले हमासको बन्धकमा रहेका इजरायलीको तत्काल रिहाइका लागि पनि आग्रह गरेकी छन् । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजा क्षेत्रका विस्थापितहरूको दैनिकी कष्टपूर्ण बनेको छ । उत्तरी गाजाबाट विस्थापित भएकामध्ये हजारौंको संख्यामा इजिप्टतर्फ जान राफाह क्षेत्रको सीमा पुगे पनि अनुमति नपाउँदा अलपत्र बनेका छन् । यस्तै, खान युनिस क्षेत्रमा पुगेका विस्थापितहरू एउटै घरमा ९० जनासम्म बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार