इरानद्वारा इजरायलमाथि आक्रमण, पश्चिम एसिया थप तनावमा…..

काठमाडौँ — इजरायलको जेरुसेलमस्थित मोहिनमा कार्यरत बाँकेका कुमार बुढा क्षेत्रीलाई शनिबार राति इरानले इजरायलमाथि आक्रमण गर्दै छ भन्ने पूर्वसूचना थियो । तर, त्यो आक्रमण कति भयानक हुन्छ भन्ने क्षेत्रीलाई आकलन थिएन । इजरायलमाथि आक्रमण हुँदै छ भन्ने हल्ला एक सातादेखि नै व्यापक थियो । यहाँको सरकारले शनिबार राति आक्रमण हुँदै छ भन्ने पूर्वसूचना दिएको थियो । त्यसअनुसार हामी सुरक्षित अवस्थामा बसेका थियौं,’ क्षेत्रीले कान्तिपुरसँग भने, ‘नभन्दै राति पौने १ बजेदेखि नै जोडले साइरन बज्न थाल्यो ।’ क्षेत्रीका अनुसार तीन मिनेटसम्म साइरन बजिरह्यो । लगत्तै इरानबाट आएका ड्रोन र मिसाइलहरूको वर्षा भइरह्यो । ‘साइरन बज्नासाथ हामी बंकरभित्र पस्यौं । यो साइरन पहिलाको जस्तो सीमित क्षेत्रमा मात्रै होइन, पूरै सहर नै घन्किने गरी बजिरह्यो । तीन मिनेटपछि साइरन बज्न छोड्यो,’ एक होटलमा कार्यरत काभ्रेका शिवराज खड्काले भने, ‘त्यो क्षण निकै डरलाग्दो थियो । इजरायली डिफेन्स फोर्स (आईडीएफ) का अनुसार इरानले तीन सयभन्दा बढी मिसाइल प्रहार गरेको थियो । तीमध्ये ९९ प्रतिशतलाई निस्तेज पारिएको आईडीएफको दाबी छ । १ सय ७० ड्रोन र क्रुज मिसाइललाई खसाले पनि १२ जना भने घाइते भएको आईडीएफले जनाएको छ । गत अक्टोबर ७ मा हमास विद्रोहीले आक्रमण गर्दा इजरायलमा करिब १४ सय मारिएका थिए । जसमा १० नेपाली विद्यार्थी पनि थिए । त्यसयता विपिन जोशी हमासकै कब्जामा छन् । इजरायलले हमासलाई समाप्त गर्ने भन्दै साढे ६ महिनादेखि निरन्तर हमला गर्दै आएको छ, अहिलेसम्म ३५ हजारको ज्यान गएको छ । इजरायलले सिरियाको दमस्कसस्थित आफ्नो वाणिज्य दूतावासमा आक्रमण गरेकाले इजरायलमाथि प्रत्याक्रमण गर्नुपरेको दाबी इरानको छ । इरानको आक्रमणपछि पश्चिम एसिया क्षेत्रको शान्ति, सुरक्षा, अर्थतन्त्र र रोजगारीमा चुनौतीसमेत बढाएको छ । इजरायल, इजिप्ट, लेबनान र जोर्डनमा गरी करिब १० हजार नेपाली कार्यरत छन् । सरकारी तथ्यांकअनुसार इजरायलमा मात्रै ४५ सय नेपाली छन् । जसमा सबैभन्दा बढी महिला छन् । अहिले इजरायलबाट मात्रै मासिक करिब एक अर्ब ३५ करोड रुपैयाँ रेमिट्यान्स आइरहेको छ । ‘इजरायल सबैभन्दा सुरक्षित र आकर्षक गन्तव्य हो । भूराजनीतिकको चपेटाले यो गन्तव्यमा पनि असुरक्षा बढ्यो,’ पूर्वसचिव पूर्णचन्द्र भट्टराईले भन्छन्, ‘इरान–इजरायलबीचको तनाव कसरी अगाडि बढ्छ । त्यसअनुसार नेपालीको रोजगारीको भविष्य जोडिएको छ । गैरआवासीय नेपाली संघ इजरायलका संरक्षक गणेश गिरी इजरायलको सुरक्षा प्रणालीका कारण नेपालीहरू त्रसित नभएको बताउँछन् । ‘यहाँ रहेका ९० प्रतिशतभन्दा बढी नेपाली घरभित्रै रहेर काम गर्ने हो । बाहिर निस्किरहनु पर्दैन । इजरायलको सुरक्षा प्रणाली र तयारी अवस्था देख्दा आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘तर, शक्तिशाली राष्ट्रबीच नै तनाव बढ्दा वा एकअर्काबीच आक्रमणको प्रतिक्रिया दिने अवस्था बढ्दा सहज अवस्था पक्कै देखिँदैन । इजरायलमा रहेका अरू नेपाली पनि पछिल्लो आक्रमणबाट धेरै आत्तिएको देखिँदैनन् । ‘मनमा केही डर त अवश्य पलाएको छ । तर आत्तिएका छैनौं । इजरायलको सुरक्षा प्रणालीमाथि विश्वास छ,’ तेलअभिममा कार्यरत रमेश जोशीले भने, ‘यहाँ इजरायली नागरिकले जस्तो सुरक्षाको सुविधा पाइरहेका छन् । हामीले पनि त्यही पाउने हो । इरानको आक्रमणपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँको अवस्थालाई लिएर सूचना जारी गरेको छ । भनिएको छ, ‘इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन् । सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरका सभा/भेला नगर्न निर्देशन जारी भएको छ ।’ दूतावासले त्यस सूचनालाई मध्यनजर गरी आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा मापदण्ड पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थल आसपास रहनसमेत अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले इरान र इजरायलबीचको द्वन्द्वलाई नेपाल सरकारले नजिकबाट हेरिरहेको उल्लेख गरे । उनले भने, ‘इजरायली सरकारले त्यहाँ कसरी सुरक्षित रहने प्रोटोकल जारी गरेको छ । त्यही अनुरूपको सूचना दूतावासले पनि जारी गरिसकेको छ । तर वरिपरिका अन्य मुलुकमा रहेका नेपालीको सम्बन्धमा अहिले नै केही कदम चालिएको छैन । परिस्थिति हेरेर नेपाल सरकारले आवश्यक निर्णय लिन्छ । पश्चिम एसियामा इरान र इजरायलबीच सधैं शत्रुतापूर्ण सम्बन्ध छ । साढे ६ महिनाअघिको आक्रमणमा हमास विद्रोहीले प्रयोग गरेका ड्रोन, हातहतियार, तालिम र अन्य सबै सहयोग इरानले उपलब्ध गराएको इजरायलको आरोप छ । त्यसयता लेबनानमा रहेको हतियारधारी समूह हिजबुल्लाह र इजरायली सेनाबीच लगातार द्वन्द्व चलिरहेको छ । इरानले इजरायलमाथि आक्रमण गरेसँगै अमेरिका, अस्ट्रेलियालगायत पश्चिमा मुलुकहरूले इजरायलको पक्षमा वक्तव्य जारी गरेका छन् । पश्चिम एसियाको रणनीतिक शक्ति साउदी अरबले भने युद्धलाई रोकेर वार्तामार्फत समाधान रोज्ने प्रयास गर्नुपर्ने उल्लेख गरेको छ । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य पश्चिम एसियामा थप युद्ध चर्किए नेपाललाई समस्या हुने प्रस्ट पारे । उनले भने, ‘पश्चिम एसियामा भइरहेको संकट हामीले संवेदनशील भएर हेर्नुपर्छ । शान्तिको पक्षमा नेपाल सरकार पनि बोल्नुपर्छ ।’ उनले भारतले पनि युद्ध रोकेर वार्ता गर्नुपर्छ भनिरहेको उल्लेख गर्दै नेपालले पनि आफ्नो धारणा प्रस्ट पार्नुपर्ने सुझाए । आचार्यले भने, ‘पश्चिम एसियामा नेपालीहरू धेरै छन् । अमेरिका पनि युद्धमा जोडियो भने थप समस्या हुन्छ । इन्धनको भाउ थप बढ्न सक्छ । यो हाम्रा लागि चासोको विषय हो । इरानले आफ्नो मकसद पूरा भएको भन्दै थप आक्रमण नगर्ने बताएको छ । तर, इजरायल चुप लागेर बस्छ वा बस्दैन महत्त्वपूर्ण पक्ष रहेको आचार्यको भनाइ छ । ‘यो द्वन्द्वमा ठूलो शक्ति थपिए भने समस्या हुन्छ । केही न केही उपाय निकालेर समाधानको बाटोमा जान आवश्यक छ,’ उनको भनाइ छ । भूराजनीतिक मामिला जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यात पश्चिम एसियाको युद्धले अब इन्धनको मूल्यमा थप वृद्धि हुने तथा त्यस क्षेत्रमा काम गरिरहेका नेपालीहरूलाई असर पर्न सक्ने बताउंछन् । भन्छन्, ‘अहिलेको युद्धले नेपालीहरूको रोजगारीमा असर पर्न सक्छ । मुलुकभित्र रोजगारीको अवसर छैन, त्यहाँ रहेका नेपाली फर्कनुपर्‍यो भने थप समस्या हुन्छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार