कतारी अमिरको भ्रमणमा नयाँ श्रम सम्झौता गर्न नेपालको प्रस्ताव…..

काठमाडौँ — नेपालले कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीको आसन्न भ्रमणमा नयाँ श्रम सम्झौता गर्न कतारसँग प्रस्ताव राखेको छ । नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको हो । वैशाख १२–१३ मा नेपालमा हुन गइरहेको कतारी अमिर अल-थानीको नेपाल भ्रमणको अवसरमा कतारसँग नयाँ श्रम सम्झौता गर्न नेपालले प्रस्ताव राखेको हो । श्रम सम्झौता गर्न नेपाली पक्ष तयारी अवस्थामा पुगिसकेको छ । कतारको अमिरको भ्रमणबारे परराष्ट्र मन्त्रालयले सार्वजनिक भने गरिसकेको छैन । कतारी अमिरको नेपालमा पहिलो पटक भ्रमण हुन लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालका लागि कतारी राजदूत मिशाल बिन मोहम्मद एल एई अन्सारीसँग श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिएका हुन् । मंगलबार श्रम श्रन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री अर्यालले १९ वर्षअगाडि भएको श्रम सम्झौतालाई परिमार्जन गर्न आवश्यक रहेको बताए । ‘नेपाल र कतारबीच १९ वर्ष अगाडि नै श्रम सम्झौता भइसकेको थियो । धेरै वस्तुस्थिति बदलिइसकेको छ । अहिलेको परिवेशअनुसार सम्झौता गर्न आवश्यक देखिएको छ,’ श्रम प्रवक्ता गोविन्द रिजालले इकान्तिपुरसँग भने,‘यही विषयलाई श्रममन्त्रीज्यूले राजदूतसमक्ष प्रस्ताव गर्नुभयो । नेपालले सन् २०१७ देखि नै कतारसँगको श्रम सम्झौता परिमार्जन गर्न चाहेको हो । यसका लागि दुई देशका उच्च श्रम अधिकारीहरूबीच पटक-पटक संयुक्त प्राविधिक समितिको बैठकसमेत बसिसकेको छ । कतारले पछिल्लो समयमा कफला प्रणाली (स्पोन्सरसिप सिस्टम)लाई सुधार गरी श्रम बजारलाई लचक बनाएको छ । कतारमा कार्यरत आप्रवासी कामदारले कतार छोड्न चाहिने ख्रुज (एक्जिट पर्मिट)लाई हटाइसकेको छ । कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ । श्रम प्रवक्ता रिजालले अमिरको भ्रमणमा श्रम सम्झौतालाई टुंगाउन चाहेको बताए । ‘हामी अहिले श्रम सम्झौतासम्बन्धी छलफलमा छौं । तर सम्झौतामा हस्ताक्षर हुने निर्णयमा भने पुगिसकेको छैनौं,’ रिजालले भने,‘हामी थप गृहकार्यमा छौं । नयाँ श्रम सम्झौताको मस्यौदामा परराष्ट्र, अर्थ र कानुन मन्त्रालयले सुझाव दिइसकेको छ । त्यसलाई नेपालले कतार सरकारलाई पठाइसकेको छ । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले श्रम सम्झौता गर्न कतार सकारात्मक रहेको बताए । ‘कतार नेपालको लागि प्रमुख गन्तव्य देश हो । यो भ्रमणमा श्रम सम्झौता गर्न दुवै पक्ष सकारात्मक छ । तर, हामीसँग समय निकै कम छ,’ उनले भने,‘यदि यही भ्रमणमा भएन भने यथासक्य छिटो गर्न बाटो खुल्नेछ । श्रममन्त्री अर्यालले सीपयुक्त जनशक्ति उत्पादनको विकासमा कतारी सहयोगको अपेक्षा राखेका छन् । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सीपयुक्त बनाउन चाहन्छौ । त्यसैले श्रमिकको सीप विकासमा तपाईंहरूको सहयोगको अपेक्षा गर्छौं,’ मन्त्री अर्यालले कतारी राजदूतसँगको भेटमा भने । कतारमा कार्यरत नेपाली श्रमिकलाई अन्य श्रमिकसरह नै व्यवहार हुनेमा पनि आफू ढुक्क रहेको उनको भनाइ थियो । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रंशसनीय छ । कतारी राजदूत अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताउँदै नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न कतार सधैं तयार रहेको बताए । उनले सीपयुक्त जनशक्तिको विकासको लागि कतारबाट गर्नुपर्ने सहयोगको लागि स्पष्ट रूपमा प्रस्ताव ल्याउन अनुरोध गरे । ‘नेपाली श्रमिकको सीप विकासका लागि के-के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौँ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार