काठमाडौं- नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आउन ६२ दिनजति मात्रै बाँकी छ, तर एकातिर कांग्रेस-एमाले, अर्कातिर माओवादी केन्द्रबीचको राजनीतिक तालमेल नमिल्दा खेलकुद क्षेत्रले त्यसको मूल्य चुकाउने प्रष्टै संकेत देखिएको छ । नेपालका लागि यो दुर्भाग्य पहिलो त हुँदै होइन, तर अरु बेला खेलाडीलाई पुरस्कार र सम्मान बाँड्न आतुर हुने राजनीतिक पार्टी र सरकारहरु नयाँ खेलाडीलाई प्रभावकारी खेलकुद मन्च दिन भने पछि हटेका छन् । यसको प्रत्यक्ष असर कर्णाली २ मंसिरमा सुरु हुने भनिएको १०औं राष्ट्रिय खेलकुद तयारीले भोग्न थालिसकेको छ, जहाँ केन्द्रमा सरकार बनाउने कांग्रेस र एमाले, अनि प्रदेशको खेलकुद सत्ता सम्हाल्ने माओवादी निकटका पदाधिकारीबीच भित्रभित्र द्वन्द्व कारक छ । शुक्रबार दिउँसो खेलकुद मन्त्रालयमा त्यसैको झल्को देखियो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई कार्यकक्षमा डाकेर भने, ‘१५ दिनअगाडि पनि हामीले यसैबारे कुरा गरेका थियौं । तर किन काम अघि बढ्न सकेको छैन ? घिसिङले आफू केही प्राविधिक विषय मिलाइरहेको भन्दै अब १०औं खेलकुद लगायतका काम अघि बढाउन अप्ठेरो नरहेको प्रष्टीकरण दिए। उनले १०औं खेलकुदका लागि चाहिने पूर्वाधार लगायतको बजेटका लागि अझै माथिबाट काम नभएको भन्दै उल्टै गुनासो सुनाए। मन्त्रीले उनीसँग चित्त बुझाएनन् । अब मलाई काम नै चाहियो, कुराले भएन भन्दिएको छु’ चौधरीले भने, ‘खेल समयमा हुनुपर्यो। त्यसको तयारीका लागि चाहिने काम समयमा सकिएन भने म एक्सन लिन्छु । भन्नलाई १०औं राष्ट्रिय खेलकुदको कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको भनिएको छ । अन्तिम मस्यौदा तयार भएपछि १० औं राष्ट्रिय खेलकुदको सचिवालयले उक्त मस्यौदा जाँच गरी मन्त्रालय पठाउँछ । खेलकुद नियमावलीको आधारमा मन्त्रालयले बोर्ड बैठकमा मस्यौदा पारित गरेपछि मात्रै अर्थ मन्त्रालय पठाउन मिल्छ । तर दलगत किचलोले बोर्ड बैठक नै बस्न सकेको छैन । मुखले राष्ट्रिय खेलकुद समयमा नै गर्छौ भन्ने गरे पनि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्य सचिव टंकलाल घिसिङबीच मतभेदका कारण बोर्ड बैठक बस्न समस्या भइरहेको राखेप उच्च स्रोतले दाबी गर्यो । स्रोतले भन्यो, ‘बोर्ड बैठक नबसी अर्थ मन्त्रालय जाने भनेको मन्त्रीले बोर्डका सदस्यलाई मस्यौदामा सहमत गराउन सकेको अवस्थामा हो तर अहिले मन्त्री र सदस्य सचिव फरक राजनीतिक पृष्ठभूमिको हुँदा धेरै कुरामा तालमेल मिलेको छैन । मन्त्री चौधरीले राखेपले माग गरेको स्रोतका विषयमा अर्थमन्त्रालयलाई सोमबारसम्म चिठी पठाइसक्ने जानकारी पनि दिए । त्यही गतिमा राखेपबाट काम हुनुपर्ने उनको अपेक्षा पूरा हुने सम्भावना भने कम छ । नेपाली खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय खेलकुद यस वर्ष कर्णाली प्रदेशमा हुने भएसँगै कर्णालीको सुर्खेतलगायत विभिन्न पहाडी जिल्लामा समेत यसका लागि चाहिने विभिन्न पूर्वाधार बनिसकेका छन् भने केही अन्तिम अवस्थामा छन् । दशैं अगाडि सम्पूर्ण पूर्वाधार तयार हुने प्रतिवेदन राष्ट्रिय खेलकुद परिषदले युवा तथा खेलकुद मन्त्रालय पठाइसकेको छ । राखेप भन्छ, ‘मन्त्रालयले बजेट लगायत काम अघि बढाएन । मन्त्रालय भन्छ, ‘राखेप, अनि कर्णाली प्रदेशबाट हुनुपर्ने कामका लागि तातो लागेको छैन।’ १०औं खेलकुद यिनै दुई निकायबीच टकरावको गुमराहमा पर्न गएको छ।साभार : अखप