लगातार दोस्रो वर्ष विद्युतमा बाढी-पहिरो वितण्डा, ५ अर्बको क्षति…..

काठमाडौं –      नेपालको विद्युत् क्षेत्रले बाढी-पहिरोका कारण लगातार दोस्रो वर्ष अर्बौं रुपैयाँको क्षति बेहोरेको छ । यसपटक १० असोजदेखि परेको पानीले ऊर्जा सिँचाइ क्षेत्रमा करिब ५ अर्बको क्षति भएको र यो अझै बढ्न सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । त्यस्तै माथिल्लो तामाकोशी कार्यरत ४ जना कर्मचारी तथा सुरक्षाकर्मी हराइरहेका छन् । गत वर्ष नेपालको पूर्वी क्षेत्रमा परेको पानीका कारण बाढी पहिरोले विद्युत् आयोजना र प्रसारण लाइनलगायतमा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानमा आधारमा आवश्यक सतर्कता अपनाउँदा अपनाउँदै पनि यति क्षति हुन पुगेको ऊर्जामन्त्री दिपक खड्काले बताए । सबैतिरबाट विवरण आउन बाँकी छ । जल तथा मौसम पूर्वानुमान विभागले यस्तो बाढी आउने पूर्वानुमान गरेको र त्यसका आधारमा विद्युत् आयोजनाहरूलाई पहिल्यै जानकारी गराउँदा गराउँदै पनि यति क्षति भएको हो । पूर्वानुमान नआएको भए अझै ठूलो क्षति हुने थियो,’ ऊर्जामन्त्री खड्काले बताए । गत वर्ष पूर्वी क्षेत्रमा मात्रै आएको बाढीले करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएकोमा अहिलेको क्षति कम रहेको पनि ऊर्जामन्त्री खड्काले बताए । हामीले विद्युत् आयोजनाहरूमा रातमा नबसीदिने, यातायातका साधन नचलाउनेलगायत निर्देशन दिएका थियौँ, त्यसले क्षति कम भएको हो,’ उनले भने ।

काबेली करिडोर प्रसारण लाइनका चार टावरमा क्षति, १८५ मेगावाट विद्युत् उत्पादन बन्द:

बाढी पहिरोले विद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीमा भएको क्षतिका कारण ११ सय मेगावाट विद्युत् उत्पादनमा अवरोध भएको मन्त्रालयले जनाएको छ । उत्पादन रोकिएका आयोजनामध्ये ६ सय २६ मेवावाट उत्पादन क्षमताका ११ वटा जलविद्युत् आयोजनाहरूमा क्षति भएको र आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरूको उत्पादन बन्द समेत रहे अनुसार करिब ११०० मेगावाट बराबरको उत्पादन रोकिएको जानकारी ऊर्जा मन्त्रालयले दिएको छ । त्यस्तै कुल १ हजार १० मेवाजडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति भएको उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीलगायत आयोजनामा ठूलो मात्रामा क्षति पुगेको र यसको यथार्थ विवरण आउन बाँकी रहेको बताए । माथिल्लो तामाकोशी आयोजनाबाट नदीले बगाएका चार कर्मचारीहरू अहिलेसम्म पनि भेटिएका छैनन् । आयोजनाको बाँध स्थलमा अवस्थित कन्ट्रोल रुममा पूर्णरूपमा क्षति भएको, सेटलिङ बेसिन र बक्स बेसिन र बक्स कल्भर्टमा थुप्रिएको घिसिङले जानकारी दिए । यसको पुनर्निर्माण कहिले सम्पन्न होला भन्न सकिने अवस्था छैन । हिउँदसम्म पनि मर्मतसम्भार सकिएन भने ऊर्जाको व्यवस्थापनमा समस्या आउन सक्छ । काबेली करिडोरका तीनवटा टावरमा क्षति भएको र त्यसका कारण पूर्वाञ्चलमा आउने २ सय मेगावाट विद्युत् बन्द हुन पुगेको घिसिङले बताए । त्यसबाट इलाम फिदिम ताप्लेजुङको आपूर्ति बन्द भएको छ । हामी दमकबाट ब्याकफिड गरी त्यस क्षेत्रमा आपूर्ति दिने प्रक्रियामा छौं,’ घिसिङले भने । त्यसलाई पुनर्स्थापनाका लागि टोली पठाउन खोजेकोमा हवाई टिकट नपाएकाले समस्या भएको उनले बताए । त्यस्तै खिम्ती लामोसाँघु खण्डमा एउटा टावर तामाकोशीले बगाएकोले २ सय मेगावाट विद्युत् लिन नसकिएको उनले बताए । यो काठमाडौंलाई पनि विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन हो । साथै, त्यही क्षेत्रमा रहेको खिम्ती ढल्केबर २२० केभी प्रसारण लाइनको एउटा टावर निकै जोखिममा रहेको र त्यसमा क्षति पुगे ८ सय मेगावाट विद्युत् प्रसारण बन्द हुने घिसिङले बताए । त्यसलाई जोगाउने प्रयास भइरहेको उनले बताए । टावरमा क्षति पुग्दा त्यसको असर एउटा आयोजनामा पुगेको भन्दा बढी हुने उनको भनाइ थियो । एउटा आयोजनामा क्षति पुग्यो भने त्यसको मात्रै उत्पादन बन्द हुन्छ तर एउटा टावर ढल्दा धेरैवटा विद्युत् आयोजनाको विद्युत् प्रसारण हुन सक्दैन । वितरण लाइनहरुमा पनि धेरै ठूलो समस्या भएको उनले बताए । ‘पानी परिरहेका बेला वितरण प्रणालीमा पोल ढलेको, ट्रान्सफर्मरमा समस्या आएकोलगायत कारण मानवीय क्षति नहोस् भनेर विद्युत् आपूर्ति बन्द गरिएकोमा तीमध्ये अधिकांश खुलाइएको उनले बताए ।साभार : अखप   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार