काभ्रे – वीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारदेखि ७० किलोमिटरमा रहेको काठमाडौं आइपुग्न गाडीमार्फत् सामान्यतः साढे दुई घण्टा लाग्छ । शुक्रबार बिहान इटहरीबाट काठमाडौं जाने बस चढ्दा शर्मिला श्रेष्ठको अनुमान पनि यस्तै थियो । यदि अनुमान अनुसार गाडी चलेको भए गत शनिबार एउटा बैंकमा जागिरका निम्ति उनले परीक्षा दिइसकेकी हुन्थिन् । त्यही परीक्षाका लागि भनेर उनी काठमाडौं आउँदै थिइन् । तर शुक्रबारको दिन बढ्दै जाँदा वर्षा बाक्लियो । साँझपख मंगलटार आइपुगेको गाडीलाई प्रहरी प्रशासनले अगाडि बढ्न दिएन । त्यस रात मंगलटारमै कटाए पनि भोलिपल्ट गाडी चल्दा शर्मिलाले परीक्षा दिन पाउँथिन्, उनको विश्वास पनि त्यही थियो । शनिबार बिहान हुँदासम्म सबथोक भताभुंग भइसकेको थियो । रेकर्ड ब्रेक हुने गरी परेको अत्याधिक वर्षाका कारण रोशी खोलामा बाढी आउँदा वीपी राजमार्ग क्षतबिक्षत बनेको थियो । ‘यता पनि भत्किएको छ, उता पनि भत्किएको छ’, उनले भनिन्, ‘परीक्षा त छुटिहाल्यो, अब घर फर्कने कसरी ? तर यो बिचल्लीमा उनी एक्लै थिइनन् । रोशी गाउँपालिकास्थित मंगलटार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार झण्डै साढे तीन हजार यात्रु यो सडकखण्डमा अलपत्र परेका थिए । त्यति धेरै मान्छे व्यवस्थापन गर्नै गाह्रो भयो । बस्ने र खाने समस्या थियो’, उनले अनलाइनखबरसँग भने, ‘तर स्थानीय सरकार, सामाजिक संघसंस्था र हामी मिलेर व्यवस्थापन गर्यौं । त्यही अलपत्र पर्ने भीडमा शर्मिला पनि थिइन् । अलपत्र परेकाहरुमध्ये अधिकांशले शुक्रबार गाडीमै रात बिताए । ‘पहिलो रात गाडीमै बस्यौं, तर भोलिपल्ट पहिरो र बाढी देखेपछि गाडीमा बस्न पनि डर भयो’, जनकपुरका सरोज मण्डलले भने ।
अझ नेपालथोकदेखि काभ्रे भञ्ज्याङसम्मका सडकखण्ड हत्तपत्त बन्नै नसक्ने गरी भत्किएको सूचना सुनेपछि उनीहरु थप आत्तिए । ‘भत्किएका र पहिरोले पुरिएका सडकहरुको बीचबीचमा गाडीहरु छन् । त्यो गाडी अगाडि जान्छ न पछाडि’, झापा बिर्तामोडकी पुष्पा लुइँटेलले भनिन् । तर त्यस्तो विनाशकारी बाढी पहिरोबाट ज्यान जोगिएको भनेर चित्त बुझाइन् । ‘जता हेर्यो भीर छ, भत्किएको सडक र पहरा छन् । धन्न, बाँचेर निस्किएँ’ लुइँटेलले अनलाइनखबरसँग भनिन्, ‘हामीसँगै हिँडिरहेकाहरु कतिले आफन्त गुमाएका छन् ।’ मंगलटारमा परेको संकटपछि पुष्पालाई काठमाडौं नपुगी बिर्तामोड नै फर्कने मन थियो । तर झापा फर्कने विकल्प थिएन । ‘अलपत्र परेकाहरु काठमाडौंतिर हिड्न थालेपछि म पनि हिँडे’, उनले भनिन्, ‘एउटा खोला तर्यो, फेरि अर्को पाखा भीर आउँछ, बल्ल यहाँ (काभ्रेको बेला) आइपुगियो ।’ उक्त सडक खण्डमा अलपत्र परेकाहरु आइतबार बिहानैबाट काठमाडौंतिर पैदल हिँडेका थिए । उनीहरुले कम्तीमा नमोबुद्ध नगरपालिका–२ स्थित बेला आइपुग्नुपर्ने थियो । बेलादेखि काठमाडौं तर्फको सडक खण्ड जसोतसो चल्ने अवस्थामा रहेको सूचना पनि उनीहरुले पाए । तर मंगलबारदेखि बेलासम्मको यो ४० किलोमिटर पार गर्न उनीहरुलाई दुई दिन लाग्यो । ‘त्यत्रो पहाड घुमेर बचेर आएको हो । एउटा बाटो काट्नलाई चार घण्टा भन्दा धेरै लाग्थ्यो । कति ठाउँमा बाटो बनाउँदै हिँड्नुपर्ने’, सुनसरीका मनोजकुमार राउतले भने । बाटो नहुनु, अप्ठ्यारो हुनु र भोकै पर्नुबाहेक सँगसँगै हिड्नुपर्ने परिस्थितिले पनि धेरै समय लागेको सप्तरी राजविराज–२ का मोहम्मद रजाक भन्छन् । ‘केटाकेटी र परिवारका मान्छेहरु छन्, बुढाबुढी छन्’ उनी भन्छन्, ‘अप्ठ्यारो बाटोमा एकले अर्कालाई हात दिएर हिँड्दा ढिलो भइहाल्यो ।’
मंगलटारदेखि बेला (नमोबुद्ध) सम्म हिँडिरहेको यो मानव साङ्लो हेर्दा पनि रजाकले भनेजस्तै सबै मिलेर हिँड्नुपर्दा धेरै समय लागेको अनुमान लगाउन सकिन्छ । ‘अरु हिँडेको हेरेर हौसलामै म यहाँसम्म आइपुगेँ’, ७० वर्ष कटेका इलियास मियाले भने । विराटनगरका मियाँ पनि मंगलटारमै अलपत्र परेका थिए । उनी अरु अलपत्र परेकाहरुको साथ भएर दुई दिनको पैदल हिँडे । मियाँ जस्ता बृद्ध अवस्थाका अरु थुप्रै यात्रुहरु हिँडेर काठमाडौं आउँदैछन् । हेलिकप्टर पनि आएको थियो, त्यसले बिरामीहरु र विदेशीहरुलाई मात्रै लैजाने सुनेपछि हामी हिँड्यौं’, मियाले भने । शुक्रबार रातिको वर्षाका कारण उक्त सडक खण्डमा अलपत्र परेकाहरु मध्ये झण्डै सात सयलाई हेलिकप्टरबाट उद्धार गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । आज (सोमबार) ३९० जना हेलिबाट उद्धार भयो । हिजो ३३७ जनाको भयो’ काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले भने । तर जुन संख्यामा यात्रु अलपत्र छन्, हेलिकप्टरबाट हुने उद्धारले सम्भव देखिन्न । बरु अवरुद्ध सडक छिटो सञ्चालनमा ल्याउने अथवा पूर्ण क्षतिग्रस्त खण्डको वैकल्पिक व्यवस्था उपयुक्त विकल्प हो ।
यो विकल्पमा सरकारको पहलकदमी असाध्यै ढिलो भएको मोरङका जोगिन्दर साह बताउँछन् । ‘मलाई हिँड्नुपर्ने बाध्यता थियो । शनिबार रातिको दुबईको फ्लाइट थियो । एअर अरेबियाको टिकट काटिसकेको थिएँ’ जोगिन्दरले सुनाए, ‘अलिकति हिँडेपछि गाडी भेटिएला भन्ने थियो । तीन दिन हिँड्दा पनि अहिले यही छु । कुनै वैकल्पिक व्यवस्था गर्न पनि सरकारले हदै ढिलाइ गरेकोमा उनको आक्रोश छ । सरकारप्रति आक्रोश पोख्ने उनी एक्लो भने होइन । बरु अलपत्र यात्रुहरु हिडिरहेको मानव साङ्लोमा जोगिन्दर साझा प्रतिनिधि आवाज थिए । ‘हामी २० घण्टादेखि हिडिरहेका छौं । कति भोकै छौं, कति घाइते छौं । केटाकेटी र बृद्धबृद्धा भन्न पाइएको छैन’ हिँडेरै बेला आइपुगेकी पुष्पा लुइँटेलले भनिन्, ‘यो दुखको बेला साथ नपाउँदा रिस उठिहाल्छ नि ।साभार : अखप