Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 04, 2009 | Author : पूर्ण इन्फादा
Category : Criticism / समालोचना | Views : 1021 | Unrated

  
पूर्ण इन्फादा

आमुखः

            समकालीन नेपाली कविता साहित्यलेखनमा चर्चाको शिखरमा रहेका कवि हाङयुग अज्ञात (वि.सं. २०३३) विशेषतः कवितालेखन र भूमिकालेखनमा अभ्यस्त देखिन्छन् । सिर्जनशील अराजकतालाई रूचाउने हाङयुग अज्ञात सिर्जनशील साहित्य समाज हङकङका संस्थापक पनि हुन् । उनले आजको युवा पुस्ताको आवाजको प्रतिनिधित्व गर्ने र दविएर रहेका युवा र उत्पीडनको सिकार बनेका आदिवासी जनजातिहरूको आवाजलाई शालीन र काव्यिक ढङ्गबाट उजागर गरिरहेका छन् । उनका रङ्गीन आविष्कार (२०५७), ढुङ्गामुढाको मन (२०५८), करङको हिरासत (२०६०), ककपिक् (२०६२) जस्ता कवितासङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । यी कृतिहरूको चर्चा विभिन्न समालोचकहरूबाट भइसकेको  र भइरहेको छ । उनी आफ्नो लेखनमा नयाँ विचार, नयाँ शिल्प र नयाँ प्रयोगधर्मितामा विश्वास गर्छन् । विशेषतः उनी आयामेली आन्दोलन र लीलालेखनजस्ता नेपाली साहित्यमा स्थापित मान्यता र दृष्टिकोणलाई रूचाउँछन् । पाश्चायत्यमा रोलाँ बार्थ र ज्याक डेरिडाजस्ता विद्वान्हरूले ल्याएको उत्तरआधुनिक चिन्तनलाई पनि गम्भीर रूपमा अध्ययन गरिरहेका छन् र त्यस दृष्टिकोण र चिन्तनबाट पनि अलग भएर बस्न नसकिने उनको अवधारणा छ । हाङयुग आफ्नो लेखनमा जहिले पनि नयाँ विचार र प्रयोग रूचाउँछन् । माथि उल्लेख गरेका सबै कविताकृतिमा भिन्न भिन्न प्रयोग, शिल्प र विचारको पक्षपातीका रूपमा उनले आफूलाई उभ्याएका छन् ।

            पछिल्लो चरणमा हाङयुग अज्ञात हङकङ डायास्पोरामा बसेर नेपाली साहित्यलाई महत्वपूर्ण योगदान दिइरहेका छन् । यति मात्रै होइन हङकङेली नेपाली साहित्यलाई नेपालमा र नेपाली साहित्यलाई हङकङमा चिनाउने र स्थापित गर्ने काम उनकै सङ्लग्नताबाट भइरहेको छ । यदि उनी नहुँदा हुन् त हङकङबाट कुनै पनि स्रष्टा जन्मिने थिएनन् होला । हाङयुग अज्ञातले नेपाली कविता साहित्यमा आदिवासी जनजातिका नश्लीय साँस्कृतिक मिथक,बिम्व र प्रतीक भित्र्याउने नवीन परम्पराको थालनी गरेर अरूलाई पनि अभिप्रेरित गरे । यसै फलस्वरूप आज विभिन्न आदिवासी स्रष्टाहरूका रचनामा यसले प्रमुखताका साथ प्रयोग हुने महत्वपूर्ण काम भइरहेको छ । यसभन्दा पहिले ब्राह्मणवादी सामन्ती संस्कारबाट अभिप्रेरित भएर नेपाली साहित्यमा प्रयोग भइरहेका थोत्रा राम, कृष्ण, सीता, अर्जुन, उर्वशीजस्ता मिथकका ठाउँमा दबिएर बसेका सुम्निमा, पारुहाङ, फेदाङवा, बलिहाङ, राँकुदेले जस्ता मिथक, बिम्व र प्रतीकहरूले प्रमुखताका साथ स्थान जमाउन सक्षम भएका छन् ।

            यहाँनेर चर्चा गर्न र समालोचकीय दृष्टिकोण अघि सार्न खोजिएको पाटो भने अर्कै छ । नकी उनको जीवन चरित्रको वर्णन गर्न यो समय खर्च गरिएको हो । पछिल्लो चरणमा उनका थुप्रै फुटकर रूपमा कविताहरू छापिएका छन् । ती सबै कविताहरू महत्वपूर्ण नै छन्, आआफ्नो ठाउँमा । तर यहाँ भने २०६४ साल मङ्सिर ३१ गते एभरेष्ट (साप्ताहिक) पत्रिकामा छापिएको 'मेरो जोकास्टा आमाको समर्थनमा' शीर्षकको कवितामा केन्द्रित हुने प्रयास गरिएको छ र मेरो दृष्टिकोणमा यस कवितालाई उनको पछिल्लो चरणको प्रतिनिधि कविताको रूपमा उभ्याएको छ ।

            वास्तवमा यो कविताको अन्तरवस्तु र संरचनात्मक रूपमा हेर्दा इन्द्रबहादुर राईको लीलालेखन र पाश्चात्य जगतको उत्तरआधुनिकता वा विनिर्माणवादी चेतबाट लेखिएको जस्तो अनुभूति सहज रूपमा गर्न सकिन्छ । उत्तरआधुनिकता वा विनिर्माणवादी चेतकै उपज हो इन्द्रबहादुर राईको लीलालेखन र उनले लेखको कठपुतलीको मन । मैले यो तर्क यहाँ सार्नुका पछाडि केही कारणहरू छन्:

            .   राजा इडिपस (इ.पू. ४३१) र इडिपस कोलोनसमा (इ.पू.४०२) मा सोफोक्लिजद्वारा देखिएका ग्रिसेली दुःखान्त नाटक हुन् ।

            जोकास्टा राजा इडिपस नाटककी पात्र हुन् जो पहिले इडिपसकी आमा र पछि पत्नी हुन पुगेकी छन् ।

            लीलालेखन अनुरूप नै इन्द्रबहादुर राईले गुरुप्रसाद मैनालीको 'परालको आगो' कथामा चामे र गौथलीको कार्यव्यापारलाई लम्ब्याएर वा विनिर्माण गरेर 'कठपुतलीको मन' बनाएका हुन् ।

            .  हाङयुग अज्ञातले पनि ग्रिसेली मिथक 'राजा इडिपसकी पात्र जोकास्टालाई लिएर लेखिएको कविता हो ।

            यी तर्क अघि सार्नुका पछिल्तिर म लीलालेखन, उत्तरआधुनिकतावादी विनिर्माणवादी मान्यताको विरोधमा उभिनका लागि नभईकन हाङयुग अज्ञातको यस कविता माथि उल्लेख गरिएको सैद्धान्तिक चिन्तनसँग निकट सम्बन्ध राख्छु भन्ने अर्थमा मात्रै गरिएको हो ।

            यस कविताभित्र पस्नुभन्दा अगाडि इडिपस, जोकास्टा र टाइरासियस (टिरेसियस) को सम्बन्ध उल्लेख गर्यो भने अझ सान्दर्भिक होला भन्ने लाग्दछ ।

            जोकास्टासँग विवाह गरेको लामो समयसम्म सन्तान नभएकाले डेल्फीमा अवस्थित अपोलोको मन्दिरमा देववाणी सुन्न टाइरासियस (टिरेसियस) लायस जानु ।

            छोराबाट मारिने सराप परेको थाहा हुनु ।

            रानीसँग शारीरिक सम्बन्ध तोड्नु ।

            रानी जोकास्टा चिन्तित भएर रक्सीको नशामा पारी यौन सम्पर्क गर्नु र छोरा इडिपस जन्मनु ।

            टाइरासियस लायराले नवजात छोराको गोडामा कीला ठोकी सिथेरान पर्वतबाट फ्याक्न लगाउनु

            इडिपसलाई निःसन्तान पोलिवसले पाल्नु

            भेद खुलेपछि इडिपस त्यहाँबाट हिँड्नु र बाटामा अपरिचित आफ्नै बाबुलाई मारी अपरिचित आमासँग विहे गरी राज्य सञ्चालन गर्नु ।

            आमासँग बिहे भएको भेद पछि खुल्नु

            साफोल्किजले लेखेको दुःखान्त नाटक राजा इडिपसको कथासार यही हो । अरू यहाँ उल्लेख गरिरहनु आवश्यक छैन ।

कविताको विश्लेषणात्मक अध्ययन:

            हाङयुग अज्ञातको 'मेरो जोकास्टा आमाको समर्थनमा' शीर्षकको कविता यही कथासारसँग सम्बन्धित छ । संरचनागत हिसावले भन्नुपर्दा यो कविताले विनिर्माणवादी चिन्तन बोकेको छ । प्रतिकात्मक रूपमा उनले यहाँ आजका नारीहरूको समर्थनमा लेखिएको कविता हो यो । यस कवितालाई केस्राकेस्रा केलाउँदा निम्न उपशीर्षकमा विभाजन गरी विश्लेषण गर्नु उचित ठहर्छ जस्तो लाग्छ मलाई

            . लीलालेखन र उत्तरआधुनिक विनिर्माणवादी चेतना

            . आद्य बिम्बको प्रयोग

            . नारीवादी चेतना

            . पुरुष हैकमवादप्रति नग्न प्रहार

            कवि हाङयुग अज्ञातको यो कविता नेपाली कविता साहित्यको महत्वपूर्ण सम्प्राप्ति हो । जुन एउटै कवितालाई पनि विभिन्न कोणबाट हेर्न र विश्लेषण गर्न सकिन्छ । नयाँ चिन्तन र संरचनामा लेखिएको यस कवितालाई यी माथि उल्लेख गरेका विविध बाटाबाट हेर्ने प्रयास गरिएको छ यहाँ ।
 

. लीलालेखन र उत्तरआधुनिक विनिर्माणवादी चेतना :

            हाङयुग अज्ञातको यो कवितामा लीलालेखन र उत्तरआधुनिक विनिर्माणवादी चिन्तन उरालिएर आएको छ । ग्रिक मिथकमा आधारित यो कविता ग्रिसेली नाटककार सोफोल्किजले लेखेको राजा इडिपस नाटककी पात्र हुन् जोकास्टा । टाइरासियस (टिरेसियस) लायसकी पत्नी र इडिपसकी आमा हुन् । टाइरासियसले नचाहादानचाहादै जन्मिएको र जोकास्टाको रहर र षडयन्त्रबाट जन्मिएको हो इडिपस ।

            कवि हाङयुगले इडिपस र जोकास्टाको बाँकी अंश आजको सन्दर्भसित जोडेर पूरा गरेको अनुभूति गरेका छन् । हुन सक्छ यही संरचनालाई भोलि कसैले भाँचेर अर्कै कविता कथा वा निबन्ध बनाउन सक्तैन भन्न मिल्दैन । देशमा गणतन्त्र स्थापना हुनुभन्दा पहिले श्री ५ लेखेर जनतालाई रैती बनाउने चलनको क्रमभङ्गता हुनु पर्ने उदेघोष गरेका छन् हाङयुगले यहाँ । यो पनि विनिर्माणको सङ्केत हो ।

            महावाणी

            ��" मेरो जोकास्टा आमा

            अब म तिमीसित बिहे गर्छु

            र टाइरासियस बूढोको छाला काढेर

            एकजोर जुत्ता सिलाउँछु

                      - श्री ५ हाङयुग अज्ञात

            यस कविताको सुरूको अंशबाट नै के कुराको सङ्केत भएको छ भने अब सबै जनताका छोराछोरी सार्वभौम भएर बस्न पाउनु पर्छ । सबै किसिमका सामन्तका अवशेष समाप्त हुनुपर्छ । यहाँ कविले पुरानो परम्पराको अन्त्यको सङ्केत गरेका छन् । पुरानो र रूग्ण वस्तुलाई विस्थापन गर्नुपर्ने आग्रह पाइन्छ । युगौँदेखि उत्पीडनमा पारेर जनताको/आदिवासीको अस्तित्वलाई जुत्तामा प्रयोग हुने छाला सम्झी सधैँ पाइतालाले दबाउने शासकको अन्त्य हुनुपर्ने हुँकार छ यहाँ । अर्कोतिर अपरिचित आमा जोकास्टासँग इडिपसले बिहे गरी असामानजस्य परिस्थितिको विकास भएको कुरालाई यहाँ सङ्केत गरिएको छ । राजा इडिपस' नाटकमा यो नग्न सत्यको उद्घाटन भएपछि आमाछोरा दुवैले आफूलाई अपराधीका रूपमा लिएका छन् र सजायको भागीदार बनेका छन् । कविले यहाँ विसङ्गतिको चित्रण गरेका छन् । कुनै पनि धर्म, संस्कृति र मानवताले सहन गर्न नसक्ने छोराले आमासित बिहे गर्ने प्रस्ताव गरेको नाटकीय दृश्य देखाएर उत्तरआधुनिक ऐनाबाट चरम विसङ्गतिको तस्विर देखाउने काम भएको छ ।
 

. आद्य बिम्वको प्रयोग :

            'मेरो जोकास्टा आमाको समर्थनमा' कवितामा कवि हाङयुग अज्ञातले मिथकीय बिम्व (mytological Image) को प्रयोग गरेका छन् । यसका माध्यमबाट उही विसङ्गतिको उद्बोधन गर्ने काम गरेका छन् ।

            जसरी नपुंसक समयको विरूद्ध

            कुनै बेला

            भर्जिन मेरीले येशु खि्रष्ट जन्माइन्

            त्यसरी नै तिमीले जन्माइसकेकी छौ

            यहाँ हाङयुगले भर्जिन मेरीले येशु खि्रष्टलाई विसङ्गतिपूर्ण ढङ्गले जन्माएको कुरालाई स्मरण गरेका छन् । जुन कुरा नखानु भनिएको थियो त्यही कुरा खाँदा मेरीले येशुलाई जन्माएकी थिइन् । यहाँ भर्जिन मेरी र येशु ख्रिष्ट मिथकीय बिम्व हुन् । यी दुवै विसङ्गत पात्र हुन् तर मेरी आफै होइन अरूले विसङ्गत बनाएको दृश्यलाई स्मरण विनिर्माण र क्रमभङ्ग दृष्टिकोणबाट जब्बर हेरिएको छ ।

            तिमीले त्यो भेँडागोठालोको अनुहारमा पनि

            मलाई देख्ने छौं र फत्फताउने छौ

            यहाँ इडिपसलाइ सिथेरान पर्वतबाट फ्याँकेपछि भेँडागोठालाहरू भेट्टाएको दृश्यलाई देखाएर जोकास्टा र इडिपसको बिहे कतै अपचेतन मनमा रहेको बदलाको अहम् त होइन भन्ने शङ्कालाई नग्न राखेका छन् । अनि आफूलाई सम्भोग गर्ने छोरालाई भेँडागोठाला अघि गएर किन यसलाई तिमीहरूले बचायौँ ? भन्दै प्रश्न गरेको दृश्यलाई राजा इडिपस नाटकको भेँडागोठालो मिथकीय बिम्बमार्फत् देखाएका छन् ।

            मैले नै बाँधेँ

            गान्धारीको आँखामा पट्टी

            मैले नै तानेँ

            दौपद्रीको पेटीकोट

            मैले नै लिएँ

            सीताको अग्निपरीक्षा

            मैले नै जलाएँ

            सतीहरूको सरीर

            यहाँ हाङयुगले पूर्वीय मिथकीय बिम्वको प्रयोग गरेर आजको समाजमा नारीमाथि भइरहेको उत्पीडनलाई देखाएको छ । नारी अस्मितामाथि जुन किसिमको उत्पीडन र हिंसा भइरहेको छ त्यो पुरुषका कारण भएको छ । नारीमाथिको अन्याय, अत्याचार र पीडालाई देखाइएको छ । यी सबै विसङ्गतिका स्वरूपहरू हुन् भन्ने देखाइएको छ । यो पूर्वीय र पाश्चात्य मिथकीय बिम्ब प्रयोग भएको कविता हो ।
 

. नारीवादी चेतना :

            हाङयुग अज्ञातको यो कविता नारीवादी चेतनाबाट अभिप्रेरित छ । नारीलाई सम्मान गर्नुपर्ने ठाउँमा अनेकन् प्रकारका उत्पीडनको सिकार बनाउने र उपभोग्य साधनका रूपमा लिने विश्वव्यापी जुन प्रथा छः त्यसका विरूद्धमा निर्मम उभिएको छ । त्यस प्रकृतिका विरूद्ध गोमन सर्पलेजस्तै फना फिजाएर जाइलागेको छ यो कविता । मिथकीय बिम्वको चर्चा गर्दा यसको सानो अंश माथि उधृत भइसकेको छ । बीसौँ र एक्काइसौँ शताब्दीमा विश्व राजनीतिमा नेतृत्वदायी भूमिका गर्ने महिलालाई हत्या गरिएको परिदृश्यलाई देखाएर कविले नारीवादी चिन्तनको अङ्कारलाई स्पष्ट देखाएका छन् ।

            जसले तिमीलाई कोखमै हुँदा पनि

            लात्ती र मुड्कीले हान्यो

            र आफ्नो शरीरभरि बाँध्यो आरडिएक्स

            र तयसले खोजिरहेछ यतिबेला

            कुनै बेनजीर भुट्टोको जुलूस

            समाज परिवर्तनको सपना देखेर विश्व राजनीतिमा नेतृत्वदायी भूमिका खेलन अग्रसर रहेकी बेनजीर भुट्टोजस्ती नारीको आत्मघाती आक्रमण गरी नारी अस्तित्व र अस्मितालाई निर्मम प्रहार गर्ने पुरुष अङ्कारवादी सोचका विरूद्ध आक्रोश व्यक्त भएको छ यहाँ । यसले अनेकन पीडा सहेर नौ महिनासम्म गर्भभित्र बोकेर सन्तान जन्माउँछिन् उनै आमालाई अनेकन पीडा दिइरहने पुरुष समाजप्रति गरिएको कटु व्यङ्ग्य पनि हो यो ।

            जसले सधैँ मार्छ इन्दिरा गान्धी

            थुन्छ आङसाङ सुकी

            डाम्छ इमा गोल्डमेन

            र पढाउँछ धर्मका पाठहरू

            नारीका प्रत्येक कदमको अवरोधक भनेको पुरुष हो । नारीले अगाडि बढेको कहिल्यै हेर्न सक्तैन । इन्दिरा गान्धी आफ्नै अङ्गरक्षकबाट मारिनु, आङसाङ सुकी र इमा गोल्डमेनजस्ता महिलाहरू अपमानित भएर आफ्नै देशमा हिरासतको कालकोठरीमा बस्नु पुरुषवादी चिन्तनका अहङ्कारका दृष्टान्त हुन् भन्ने देखाइएको छ । जुनसुकै धर्मले नारीलाई सम्मान नगरेको र कुनै न कुनै किसिमको अपमान भइनै रहेको परिदृश्यलाई यहाँ कविले सचेतताको अहम् व्यक्त गरेका छन् । यो विसङ्गतिपूर्ण अवस्थाको अन्त्यका लागि निर्ममतापूर्वक मेरो जोकास्टा आमाको समर्थनमा हाङयुग उभिएका छन् ।
 

. पुरुष हैकमवादप्रति नग्न प्रहार :

            विश्व मानचित्रमा पुरुषहरूको जुन किसिमको हैकम युगौँदेखि चल्दै आएको छ र विद्यमान अवस्थामा पनि कायमै छ । त्यसप्रति एकातिर कविको चिन्ता छ भने अर्कोतिर नारी समानता र स्वतन्त्रताको पक्षमा उभिएका छन् । यहाँ हाङयुग अमेरिकी नारी साहित्यकारले चलाएको फेमिनिस्ट आन्दोलनबाट प्रभावित हुन् कि भन्ने एउटा कौतुहल जन्मन्छ भने अर्को स्केन्डेभ्याली साहित्यकार स्ट्रिण्डवर्ग र हेन्द्रिक इब्जन अनि नेपालकै गोपालप्रसाद रिमालको नारी समानता र सम्मानको नारीवादी चेतनाबाट पो अभिप्रेरित हुन् कि भन्ने पनि लाग्छ । यहाँ पुरुषको अहंकार कै कारण विश्व राजनीतिमा फासीवादी बर्बरताको रक्तरञ्जित कालो इतिहास लेखिन पुगको कुरालाई पनि इङ्गित गर्छन् ।

            तिमीले धेरै जन्मायौ

            महापुरुषहरू

            खोपडीहरूको दरबारमा बस्ने

            इदिअमिन जन्मायौ

            मृत्युभूमिमा रगतले नुहाउने

            पोलपोट जन्मायौ

            नश्लवादले बहुलाएर

            यहुदीहरूको यमराज बन्ने

            हिटलर जन्मायौ

            सिङ्गो मानवतामाथि धावा बोल्ने इदिअमिन पोलपोट हिटलर आदि सबै पुरुष नै हुन् । पुरुषको सत्ता टिकाउनका लागि कसैले पुरुष (मान्छे) कै मासु खाने, कुनैले ग्यासच्याम्बर भित्र राखेर मार्ने र कुनैले सम्पूर्ण मान्छेलाई एकै चिहान बनाउने काम गरे । पुरुष अङ्कारले गर्दा सर्वसत्तावादी बन्न पुगे भन्ने अवधारणा अघि सारेर पुरुषको हैकमवादी चरित्रलाई उदाङ्गो पारेका छन् हाङयुगले यहाँ । नारीको अस्तित्व सधै सङ्कटग्रस्त बन्नुको कारकतत्व भनेकै पुरुषको हैकमवादी चरित्र हो भन्ने ठोकुवा छ यहाँ ।

            आमा

            त्यो बुश

            त्यो सद्दाम

            त्यो लादेन

            मै हुँ

            जसलाई तिमीले जन्माइसकेकी छौ

            वर्तमान विश्व परिदृश्यमा जुन प्रकारका खलचरित्रहरू देखिएका छन् र तिनले अरूको अस्तित्वमाथि धावा बोलेर आफ्नो वर्चश्व कायम गर्ने जमर्को गरिरहेका छन् बुस, सद्दाम, लादेन सबै मानवता विरोधी र हैकमवादी चरित्रका प्रतिनिधि पात्र हुन् । यिनले नारी समस्यालाई बुझ्न नसक्ने जिकिर छ, कवि हाङयुग अज्ञातको ।
 

निष्कर्ष :

            कवि हाङयुग अज्ञातको विभिन्न कोणबाट व्याख्या विश्लेषण गर्नु पर्ने शक्तिशाली कविता हो । उत्तरआधुनिक विनिर्माणवादी चिन्तन, लीलालेखनको किपटलाई पनि छुन पुगेको छ । विभिन्न मिथकीय आहा बिम्बको प्रयोग भएको छ । नारीवादी चेतना जुर्मुराएको र पुरुष अङकारको दोहोलो पनि काडिएको छ । यसका साथै यस कवितामा कान टोक्नु, स्तन टोक्नु, फिला टोक्नु र मस्तिष्क टोक्नुजस्ता पदावलीको प्रयोग गरेर थुप्रै यौन बिम्वहरूसमेत प्रयोग गरेका छन् । यसले गर्दा कवि हाङयुग अज्ञातको यो कविता बहुआयामिक हो भन्नु पर्ने हुन्छ । यो कविता नेपाली कविता साहित्यको उल्लेख्य प्राप्ति हो ।

 

सन्दर्भसूची

            . डा. केशवप्रसाद उपाध्याय : दुःखान्त नाटकको सृजन-परम्परा (काठमाडौ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, -२०५५)

            . लक्ष्मणप्रसाद गौतम : समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण, (ललितपुर, साझा प्रकाशन, २०६०)

            . किसन राई सं. : एभरेष्ट (साप्ताहिक), हाङयुग, ३१ मङ्सिर २०६४

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Criticism / समालोचना category

Glancing on Hongkong Ma Kavita
लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर
घामको चुम्बनमा लोकबोलीको चमत्कार
कवि आँकालाको 'सन्तानहरू'मा पाठकीय समालोचना
देशपरदेशका तस्वीर
'एक हातको ताली' निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण
'एक हातको ताली'मा आलोक
अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश
मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा
नयाँ लेखकको जन्म
बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले.....

    Links
Column / स्तम्भ

    Random Pick
केही अघि कवियत्री मनु कन्दङ्वाको कविता संग्रह "बलिहाङतङनाम मेरो मानसपटलमा" फेसबुक वालमा धेरैले सेयर गरे । कालो रंगको भुँइमा पुस्तकको नामलाई रक्त रन्जित बनाइएको आवरण रहेछ । कुनै हरर सिनेमाको पोस्टर शैलीको यस्तो आवरणले पुस्तक रहस्यमयी जस्तो बनाएको छ । फेरि 'बलिहाङतङनाम' लिम्बू किराँतहरूको सांस्कृतिक शब्द हो......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622830
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com