Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 21, 2009 | Author : डा. गोविन्दराज भट्टराई
Category : Criticism / समालोचना | Views : 1153 | Rating :

  
डा. गोविन्दराज भट्टराई

गणेशजीको प्रेमले

म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर अघि केही लोकभाकाका रचनावाहेक केही लेखिएन । सायद हाम्रा सिपाहीमा शिक्षाको कमी थियो होला साथै नेपाली सबैको स्थिति त्यस्तै थियो- प्रकाशन व्यवस्था थिएन, पठनपाठन परम्परा थिएन । कलिलो नेपाली भाषामा सिर्जना शक्ति हुन्छ भन्ने ज्ञान थिएन, त्यसबाट आस्वादन प्राप्त थिएन । नत्र प्रथम विश्वयुद्धका युद्धकविता हेरौँ- सिग्फ्रिड स्यासुन, आइज्याक रोजेन्बर्ग, विल्फेड ��"एन आदि ! दोश्रो विश्वयुद्धका हेन्रि रीड, अलुन लुइस, किथ डगलस आदि ।

झन् दोस्रो विश्वयुद्धपछि ता विश्वसाहित्यको ठूलो अंश नै युद्ध साहित्य भएर आयो । विश्वकला, सङ्गीत सबै कुरा युद्धको उन्माद, क्रूरता र विनासमा सबै केन्द्रित भए ।

नेपालीजातिले ती सारा युद्धमा भाग लियो तर त्यो अनुभवमा साहित्य रचेन । देशभित्र वीरकालीन साहित्यले अलिकति युद्धचित्र उतार्यो तर ती सर्जक स्वयम् योद्धा थिएनन्, राजकविहरू थिए, कल्पनाको प्राधान्य थियो ।

मैले गणेश राईको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि यस्ता कुरा मनमा खेल्न थालेका थिए । उसो त त्यो भन्दा पूर्व प्रकाशित विश्वासदीप तिगेलाको गृहयुद्धका पीडामा लेखक स्वयम् युद्धभूमिमा कुधेका छन् । त्यसपछि प्रकाशित मुलीवीर राईको हरियो पर्खालभित्रले पनि सैन्यको जीवन र सम्भावित युद्धको परिवेश देखाउँछ तर गणेश राईको प्रस्तुत कृतिमा प्रवेश गरेपछि एउटा मन, हृदय सबै भएको; दया, माया, प्रेम सबै भएको; भावना सम्झना र बाँच्ने रहर सबै भएको नेपालीले फोकल्याण्डको युद्ध मैदानमा कसरी लड्यो, कसरी प्रत्यक्ष मुत्यु देख्तादेख्तै त्यसमा होमिएर बच्यो, ती कुरा छन् । मलाई त्यसले छोएको थियो । उनको "राइफलले फलाकेको जिन्दगी" शीर्षक कवितासङ्ग्रहको पनि थिम त्यस्तै रहेको छ । यद्यपि यहाँ युद्धानुभूतिहरूसँग अन्य कुरा पनि मिसिएका छन् ।

गत वर्षको बेलायत यात्रामा मलाई गणेशजीले सङ्केत दिएका थिए- म लेख्तै छु । एउटा गद्यरचना आउनेवाला छ । नभन्दै यो पालि, एक वर्ष पछि, उनी छुट्टीमा आउनुभन्दा पहिले, आफ्ना अघि लागेर युद्ध एम्बुसमा राइफलको सङ्गीत आइपुग्यो । भाई शुभ मुकारुङले त्यो हस्तान्तरण गरे । मैले नाइँ भन्ने ठाउँ थिएन, बरु आफ्ना सारा हतारहरू एकातिर पन्छाएर पढ्न बसेँ । परदेशमा रहेर पनि नेपाली साहित्यमा समर्पित एक नेपालीको प्रेमले, गणेशजीको प्रेमले मैले पढेँ र आज केही लेख्न बसेको छु ।

 

सैन्य साहित्यसँग

नेपाली साहित्यमा यताका वर्षमा लाहुरे स्रष्टाले धेरै काम गर्न थालेका छन् । सेनामा लागेकाहरू, सेवा निवृत्तहरू, तिनका आफन्तहरू धेरै सर्जकले नेपाली जातिको यो विशेष पक्षलाई विषयवस्तु बनाएर सिर्जना गर्न छन् थालेका । गोर्खा भर्तीमा लाग्ने प्रक्रियालाई अर्को कोणबाट हेर्न थालेका अतीतको त्यो कर्मको पुनर्मूल्याङ्कन गर्न थालेका छन् । हालै प्रकाशित रक्ष राईको सालिक उभिएर गोरखाली यस्तो एक जीवन्त सिर्जना हो । जसले नयाँ दृष्टिले गोर्खाभर्तीको कर्मलाई हेर्दछ ।

तर गद्यमा लिखित गणेशको प्रस्तुत कृति अरू सारा भन्दा भिन्न छ । यो आत्मजीवनीपरक कृति हो । यसमा त्यस्तो व्यक्तिपात्र बोल्छ जसले भर्ती लाग्ने दिनदेखि भीषण युद्ध मैदानमा लड्दाको अनि त्यहाँबाट बचेर आउँदाको अनुभवसमेत बताउँछ । यसरी ��"पन्यासिक शक्ति हालेर लेखिएको गोर्खा सेनाको आत्मजीवनीपरक कृति अघि कहिल्यै आएको छैन ।

 

कृतिको संरचना

प्रस्तुत कृति नौ शीर्षकमा विभाजित छ । छाती नम्बर ४४७ मा यसको प्रमुख पात्र वर्णनकर्तासँग भेट हुन्छ । धरानको घोपा क्याम्पमा ऊ आफ्नो शरीरको नापतौल गराउने प्रतीक्षामा भेटिन्छ । ऊ त्यसमा पास भएर नयाँ जीवनको अभ्यासमा हङकङ लाग्दछ । कृतिको अन्तिम शीर्षक छ योद्धाजीवनसित जीवनको विच्छेदन । यसमा युद्धवीर नामक सो पात्र हङकङबाट बिदा भएर स्वदेश फर्किन्छ ।

त्यसबीचमा बितेका धेरै वर्ष । त्यसमा जीवनले भोगेको अनन्त उहापोह । युद्धबीर बन्ने रोजाई र त्यस रोजाइले भोगाएका अनेक कठोरताहरू, जीवनका सङ्घर्षहरूले भरिएको छ, कृति ।

यो कृति एक सैन्यको आत्मबृतान्त हो । एउटा तेस्रो संस्कृतिको कथा किनभने ऊ बेलायती सैन्य भएर अनेक क्रूरता खप्तै, वीरता प्रदर्शन गर्दै, डराउँदै अनेक भावना उमाल्दै सम्वेदना भत्काउँदै कर्तव्य पथमा दौडिरहन्छ । जीवन एक कर्तव्यपथभन्दा अर्थोक केही होइन ।

यस कृतिले धेरै कुरा भनेको छ । सर्वप्रथम ता गणेश राईलाई एक विशिष्ट लेखकमा प्रस्तुत गरेको छ । उनको विलक्षण र विशिष्ट लेखकीय क्षमता, सम्वेदनशील र मानवीय चिन्ताले ��"तप्रोत व्यक्ति, सैन्य सेवामा जानाले त्यसभित्र उठेको लेखक यहाँ प्रकट भएको छ; नत्र त्यस सेवामा लाग्नेको जीवन कसरी संवेदनाहीन बनाउने तालिम गरिएको हुन्छ, कसरी पठनपाठन र अक्षरसितको सम्बन्ध सपनाजस्तो मात्र हुने गर्थ्यो भन्ने कुरा धेरैले बताउँथे, यहाँ पनि लेखिएको छ ।

त्यसो त यो कृति अवकास जीवनमा लेखिएको हो ता पनि यसमा एउटा सैन्यले भोगेको वा अनुभव गरेको एक जीवनको आरोह-अवरोह र कर्तव्यपथको कथा छ ।

तर यसमा एक सैन्यको जीवनपथ मात्र छैन । यसमा अनेक भूगोल छन्- हङकङ, मलेसियाको जङ्गल, चीन, बोर्नियो, ब्रुनाइ र बेलायत । ती नौला भूमि र प्रदेश, वनस्पति, खाद्यान्न र जीवनशैली, राजनीतिक व्यवस्था र इतिहासको महापथ । यो महापथमा भ्रमण गर्दा साम्यवादी चीनमा भएका, नरसंहारका कथा, इतिहास बङ्ग्याएर सोझ्याउने प्रयत्न, पश्चिमी महाशक्ति, अन्तिम घडीसम्मको एक महान् सम्राज्यवादको उपस्थिति त्यसको अन्नपानी र त्यसको लागि लडिएका युद्ध- यस्ता कुराले, कृति भरिएको छ ।

 

एक भिन्न संस्कृति निर्माण

यी सारा कुरा जोडिँदा एक भिन्न संस्कृति निर्माण भएको छ । त्यसभित्र पसेर लेखकले त्यहाँ भोगिएको जीवन लेखेका छन्- कसरी नेपालीहरू (तिनका जात विशेषहरू) भर्ति लाग्छन्, कसरी उता नयाँ जीवनको अभ्यास गर्छन्, तिनको घरपरिवार र नाताकुटुम्बमा, समाज र देशमा कस्तो बिम्ब हुन्छ, कसरी उता आफ्नो पारिवारिक र साँस्कृतिक जीवन निर्माण गर्दछन्, कसरी त्यसमा अभ्यस्ता हुन्छन्, निरन्तरता दिन्छन्; लामो जीवन अस्थायी गोठहरूमा बिताएझैँ कसरी व्यतीत गर्दछन्, कसरी अन्त्यकाल आइपुग्छ- यो एक भिन्न संस्कृति हो । नेपाली समाजमा भनौँ या 'पल्टने', 'गोर्खाली' भनौँ 'रिकुटे', 'लाहुरे', 'भर्तीवाल' भनौँ वा 'योद्धा' अनेक पर्यायवाची नाम भित्रसम्म भिजेका छन् । तीसँग जोडिएर तीनसय वर्षको इतिहास पल्टिन खोज्छ । त्यसैको अन्तिम पृष्ठमा उभिएका गणेश राईको यो आत्मजीवनीपरक कृति पढ्दा एउटा विशाल इतिहास सुसाएर हल्लिन्छ । इतिहासका भीरपाखा, रनबन सबै थर्कन्छ । यस्तो इतिहासको समापन गर्ने अन्तिम अभिनेता भै उनले हङकङको परेडग्राउन्डमा बत्ती निभाएको बेला एक महानाटकको पटाक्षेप हुन्छ । यो एउटा केन्द्र हो । नयाँ केन्द्रको लेखन । पात्र भिन्न छन्, गोरा, मले, इन्डोनेसियन र अरू मिश्रति छन् । सारा फरक छ, जीवनशैली फरक छ, समय पर्खाइ फरक छन्, नानीहरू अर्कै प्रकारले हुर्केका छन् - एक भिन्न उपसंस्कृति । नेपाली जनजीवनमा भोगिएको छ, यसको अध्ययन भएको छैन ।

गोर्खा सैनिकबारे, यसका अनेक रेजिमेन्ट र पल्टनबारे, यसले लडेका युद्ध र युद्धकौसलबारे लेखिएका कृति धेरै छन् । तर त्यहाँ पसेर आफै योद्धा-साहित्यकारले लेखेका अघिका कुनै कृति छैनन् भन्दा हुन्छ । हालै मात्र गोर्खा सैनिकहरू युद्ध साहित्यको सिर्जनामा लागेका छन् ।  ती कवितामा बढी प्रकट छन् । सीमाहीन बिम्बहरू, हङकङमा कविता र गृनवीचका प्रतिध्वनिहरूमा त्यसका अत्यन्तै राम्रा प्रमाण पाइन्छन् । अरू अनेक व्यक्तिगत सिर्जना पनि छन्, गद्य पनि ।

 

एक सैन्यजीवन गाथा

तर सबैभन्दा उत्कृष्ट र जीवन्त कृतिको जन्म हुन बाँकी रहेछ । गणेशको एम्बुसले ठूलो सन्नाटामा पहरो थर्किने आवाज उत्पन्न गर्यो । नेपाली युद्धसाहित्यको बगरमा एउटा विशाल बृक्ष- अनेक हाँगा पात र फलफूलले लचक्क नुहेको ।

यो योद्धाको सम्पूर्ण जीवन हो । भर्ति भएपछि ऊ रिटायर्ड हुइन्जेलको । ठूलाठूला घातक युद्धमा परेको लडेको, भाग्यले जीवित रहेर, यी शब्द लेख्न पर्खिरहेको । यो विवरण होइन विशुद्ध साहित्य हो, सम्पूर्ण भावनाले भरिएको सम्वेदनाले भिजेको, इमानदार,  सरल र स्पष्ट विचारको । तर सधैँ युद्ध थिएन; नहुँदाको सैन्य जीवन हेर्न पनि यो कृति पर्याप्त छ ।

यो एउटा महाकाव्य हो । पढ्दा बेलाबेला पाठक भक्कानिएर लड्छ, फेरि बौरिन्छ । नेपाली जनमानसले बनाएको 'लाहुरे' को चित्र सुन्दर छ, इमानी छ साथै रूमानी पनि । तर यथार्थ कति सङ्घर्ष र त्यागको बलिदान बनेको हुनेरहेछ यो पढ्दा थाहा हुन्छ ।

लाहुरे नेपाली संस्कृतिको अत्यन्तै पुरानो खण्ड हो । यो संस्कृतिको उज्यालोले यो देशको आधुनिकीकरणमा ठूलो सहयोग पुर्याएको छ । मङ्गोलियन अनुहारको मात्र बर्चस्व रहेको यो क्षेत्र बेलायती सामाज्यको उदय र विलयनसँग जोडिएको छ, अझै त्यो निरन्तर छ । यसको ऐतिहासिक पक्ष बेग्लै छ तर प्रतिजीवन बाँचिरहेको युद्धवीरले प्रस्तुत गरेको यो चित्रले नेपाली साहित्यमा एक नयाँ दिशाको खोजी गर्छ ।

परम्परित आँखाले यस कृतिलाई हेर्दा यसलाई आख्यानेतर गद्य- संस्मरण, विवरण, निबन्ध भनिन सक्छ । तर उत्तरआधुनिक लेखनमा विधालाई कसैले वाटरटाइट कम्पार्टमेन्टमा सीमित गर्न मान्दैन । विधागत विभाजन अनिर्धाय स्थितिमा अल्झिन पनि सक्छन् । यहाँ त्यस्तै छ । यसले परम्परित बोर्डर र बाउन्ड्री नाघेको छ र नयाँ दृष्टिले अर्थ खोज्दा अर्कै थोक भएको छ । यो एउटा जीवनी हो, गणेश राईको आत्मजीवनी । तर यसमा कति यथार्थ र केही प्रवृत्ति पात्र पनि छन् । सैन्य जगत सम्पूर्ण क्यानभासमा भूमिका खेल्ने अनेक प्रकृति र विशेषताका चरित्र छन् । कतिले याथार्थिक भूमिका खेलेका छन् कोही ता आख्यानिकता पनि छन् । त्यसर्थ यो एउटा आख्यानीकृत चित्र हो सम्पूर्ण यथार्थताको ।

 

आत्मजीवनीपरक आख्यान

यो आत्मजीवनीपरक आख्यान हो किनभने यी पात्रहरू काल्पनिक भए पनि सैन्य जीवनमा आउने पात्रहरूलाई खेलाइने भूमिका यस्तै हो ।

फ्रान्सेली साहित्य आत्मजीवनिपरक उपन्यासले भरिपूर्ण छ । एकपछि अर्को गर्दै कतिले त सिक्वेल पनि लेखेका छन् । नेपालीमा त्यस्ता उपन्यास छैनन् भन्दा पनि हुन्छ । आत्मजीवनीपरकता र क्रमलेखनमा नाम जोडिएका दुईवटा उपन्यास छन् । ध्रुवचन्द्र गौतमको बाढी र घुर्मी । कृष्ण धरावासीको आधाबाटो पनि आत्मजीवनी नै हो । त्यसो त प्रत्येक लेखकले आफ्ना प्रत्येक सिर्जनामा आत्मजीवनी नै लेखिरहेको हुन्छ, परोक्षरूपले अनेक पात्रमा आरोपित भएर । उसले आफ्नो क्षितिजमा नदेखिएको कुरा लेख्न सक्तैन । प्रत्येक लेखकले सिर्जनामा आफ्नो अध्ययन, पेशा, दर्शन, परिवेश, भ्रमण आदि कुरा लेखिरहेको हुन्छ तर पनि आत्मजीवनीपरकतामा आएको परोक्षतालाई लेखकसँग जोड्न सकिँदैन ।

माधवी, सेतो बाघ, तीनघुम्ती, शिरीषको फूल, अलिखित, सुकरातका पाइला प्रत्येकमा लेखक छ, त्यहाँ उसकै क्षितिज हुन्छ । अङ्ग्रेजीमा पनि त्यही छ, फ्रेन्च, जर्मन सबैतिर । युद्ध देखेर भोगेर टाल्सटायले वार एन्ड पिस लेखे, भारतको उम्लिँदो समाज र अन्धकार देखेरै किप्लिङले किम लेखे । तर तिनमा कल्पनाको मात्रा अधिक हुन्छ । आख्यानिकरण अधिक । यता जीवनीपरकतामा यथार्थता बढी, संस्मरणात्मकता बढी । यस सिद्धान्तबारे मैले ध्रुवचन्द्र गौतमको उपन्यास घुर्मीमा बोलेको सम्झिन्छु- सिर्जनाका परम्परित स्वरूप र प्रकृतिमा अनेक विचलन र परिवर्तन आईहेका छन्" त्यसैले यतिखेर सिर्जनामा लेखकको जीवन कहाँ हुन्छ, कति मात्रामा त्यो त्यहाँ प्रवेश गरेको हुन्छ भन्ने विषयमा जान्न समालोचकहरू उत्सुक रहेका छन्" लेखकतत्व कहाँ प्रकट छ, कहाँ छैन भनेर अध्ययन गर्ने कार्यमा उनीहरू लागिपरेका छन!" यस सम्बन्धमा वर्तमान विश्वका साहित्यसिद्धान्तका एक महान! गुरु रोलाँ बार्टले क्यामेरा लुसिडामा बोलेका छन:- इट इज माइ पोलिटिकल राइट टु वी अ सब्जेक्ट हृविच आइ मूट प्रोटेक्ट अर्थात् एउटा पात्र बन्न पाउनु मेरो (अर्थात् लेखकको) राजनीतिक अधिकार हो र त्यसको मैले संरक्षण गर्नुपर्दछ" यस उद्घोषले सिर्जनामा विषयपरकताको हूतक्षेप वा प्रयोगलाई प्रोत्साहित गरेको छ" अर्की समकालीन नारीवादी चिन्तक हेलेन सिक्सुको पनि यूतै अभिमत रहेको छ; रुटप्रिन्ट्समा उनी बोलेकी छन्- सबै आत्मजीवनीले जस्तै, सबै आख्यानले जस्तै सबै जीवनीहरूले पनि एउटाको सट्टा अर्काको कथा भनिहेका हुन्छन्" अर्थात् त्यहाँ यथार्थ भए पनि काल्पनिक भए पनि एउटा पात्रको उपस्थिति आवश्यक हुन्छ" यसरी सिर्जनाका आत्मामा लुकेको अथवा पारदर्शी भैरहेको लेखक वा विषयपरकताको सम्बन्धमा अनेक मतहरू प्रस्तुत छन्" भर्खरै क्यान्डेस ल्याङ्ले भनेका कुरा छन्- वास्तवमा जीवनी सर्वत्र हुन्छ, त्यसलाई खोज्ने चेष्टा मात्र गर्नुपर्दछ" यसरी सदैव एउटा लेखक आफ्ना कृतिभित्र आलिप्त हुन्छ भने जुनसुकै पनि सिर्जना आत्मजीवनीपरक हुनजान्छ, तर त्यो कसले कसरी पढ्दछ त्यसमा भर पर्दछ"

 

भाषिकागत सुन्दरता

प्रस्तुत उपन्यास अज्ञानता र निर्दोषिताबाट आरम्भ हुन्छ । अर्को निर्दोषितामा गएर अन्त्य हुन्छ । लेखक निर्मल ग्राम्य परिवेशबाट धरानमा पुगेर युद्धवीर नापिन्छ, केही कल्पना र भ्रम बोकेर हङकङ पुग्दछ । हङकङमा अभ्यास गर्दाका कठोर रिकुटे दिन, त्यसपछि राइफलसितको प्रेम र युद्धमैदानको अवतरण अत्यन्तै रोमान्चकारी र भयप्रद लाग्दछ । हङकङ पुगेर कालान्तरमा सम्झनाको लामो डोरीले घर छुन्छ । युद्धवीरलाई लाग्छ- सुघेा- बतासको गन्ध फाल्टो थियो । हावामा ध्वाँसोको गन्ध थिएन । चिरबिराएका थिएनन् चराका बथान । न त घुरिरहेका थिए परेवा जोडी । पखेटा फट्फटाउँदै बासिरहेको थिएन बीउ पालेको जख्खुभाले । सब भ्रम, भ्रमले म थिचिएको थिएछु ।

सम्पूर्ण उपन्यास सैन्य जीवनका आभ्यासिक खेलदेखि परिपक्क अवस्थाका जोखिमपूर्ण, अनेक हिसावकिताब, अनुभव ट्याक्टिस र होसियारीले चल्ने खेल छन् । उनैले सम्झेका छन्- "... रिक्रुटबाट सिपाही बन्नलाई पनि काँचो ज्यानमा भौतिक कसरतको कोर्राले चाबुक मार्दै रपाई सिपाही बनाउन पर्नेरहेछ ।

त्यो लामो जीवनमा गर्नुपर्ने अनेक अभ्यास र खेलिने भूमिकाबारे यसरी कतै लेखिएन- हरेक बिहान झिसमिसेमा उठेर कोठा साफसफाई गर्नु, ट्वाइलेट, वाथरुम आफ्नै प्रतिरूप देखिने गरी टिलिक्क टल्काउनु, नालानाली झाडु लगाउनु, बाहिर फेर फोहोर मैला उठाउनु अविरल नित्यकर्म आफ्नै प्रतिरूप देखिने गरी टिलिक्कपश्चात् कहिले रित्तो मरून्जेल दौड्नु, कहिले पेक र पाउचमा बालुवा कोची राइफल भिरेर हेलमेट ��"ढी आफ्नै जीवनले थिचिँदै न घर न घाटको बनी फोर्स मार्च गर्नु पर्ने । कुनै बिहानी जिमखानामा निर्जीव काठे घोडा नाघ्नु, तन्किँदा पनि नभेटिने चाक्लो काठै बारमा नसा तन्काउँदै हेविङ खिच्नु, पैातालीस डिग्रिको कोणमा कोल्टे पल्टेका फल्याकमा ढाड सोझ्याउँदै सिट अप गर्नु, गन्धे नालीमाथि पुल तन्किई छाती चिरिन्जेल बेण्ड खिच्नु, वारपार टाँगिएको लठारोमा बाँदरझैँ झुण्डिई पाखुरा सिथिल बनिन्जेल कसरत गरिरहुन्, साँच्चै कलिलो मासु मार्नुपर्ने उद्देश्यले गराइएका यी एक्सरसाइज सिपाही बनिने प्रारम्भिक आधार थिए । अथवा चेतनाको आलोकलाई पीडाले गलाई अवचेतनामा रूपान्तरण गरी व्लिङकर पहिराई दायाँ-बायाँ नहेरी अगाडि मात्र हेर्दै चाँडो दौडन सकोस् भनी अनुशासनका अतिरिक्त युद्धसैनिक बनाउने नाउँमा गुरुजी र सापका हर आदेस पालन् गर्ने विवेकहीन पशुमा जीवनान्तर गर्नु खोजिएको थियो । मैले बुझिनँ दुःखै दुःखको भुवरीले बेरेको त्यो विवेक बन्दकि राखेको बेसहारा दिनमा ।

बोलिचालीका भाषा भिन्न छन् । ती भाषिका हुन्, खासगरी राई-लिम्बूले पल्टनेले बोल्ने नेपालीको एक विशेष भेद । त्यो कति सुन्दर, भिन्न र मिठासले युक्त छ । यो दार्जेलिङ भाषिका पनि हो तर पल्टनेहरू सबै यसतै बोल्छन् । यहाँ म केही उदाहरण प्रस्तुत गर्दछु-पहिलो तीन जनाले माफ पाउँछस्, अरूको चाहिँ उही पुरानो पारा हो । बुझ्यो हैन ? मसल परेड क्या, देख्दैनस् नाली रुँदैछ ।" "नढाँटी भन् को-को सिग्रेट खान्छस् ? मलाई थाहा छ तिमेरु खैनी पनि खान्छस् । पाइस् भने रक्सी, जाँड पनि खान्छस् ।

उता गाउँबाट अल्पसाक्षर मायालुहरूले हङकङ लेखिपठाएका  शब्दहरू अत्यन्त्तै निक्खर, सम्झनाले भिजेका र चोखा छन् । एक मायालुले लेखेकी थिई- लुङ्गा, त्यो हाट डाँडामा धान नाचेको कम्ति सम्झना आउँदैना हाउ । तिमी हिँडेपछि त पालाम पनि गाउनु मुन लाग्दैन । हाट भर्ने मुन्छेले हाड डाँडा ढोकेको हुन्छा । लुङ्गा तिमीबिना मलाई शुन्ने लाग्छ । कैले तीन बर्ख बित्छ र हाम्रो फेरि मिलन हुन्छा । चिठ्ठीभन्दा रसिला दुइटै ��"ठ ढाक्ने गरी नाकमा तुर्लुङ्ङ झुम्केबुलाकी झुण्डाएकी, निधारमाथि चिटिक्क शिरबन्दी पहिरिएकी लुङ्गाको मेन्छिमाको तस्बिरले हङकङ र मलाई पनि लोभ्यायो ।

तर भाषाको कुरा गर्दा यो कृति अत्याधुनिक सैन्यविज्ञानको अनुभवमा आधारित भएकाले र अझ वास्तविक युद्धमा होमिएका पात्रले लेखेका हुनाले त्यस्ता सयौँ शब्द र पद छन्, वाक्यांस र उद्धरण छन् । यी अङ्ग्रेजीमा आए, तिनको नेपालीकरण हुन सम्भव छैन, ती अङ्ग्रेजीमै नेपालीकरण भएर बसे । यो ज्ञानको अपार भण्डारले सैन्य सेवामा वा युद्ध विज्ञानमा कति धेरै नवीन कुरा छन्, तिनको बारेमा हामी कसरी अनभिज्ञ हुँदा रहेछौँ भन्ने ज्ञान दिन्छ । नेपाली सेनाले, प्रहरीले ती शब्द कसरी प्रयोग गर्दो हो, तुलनात्मक अध्ययन गर्नु आवश्यक छ । नेपाली अध्येता अनुसन्धाताका लागि यो कृति एक खुला प्रयोगशाला हो । कहिलेकाहीँ  त्यसको घना प्रयोगले पाठीयता (रिडेबिलिटी) लाई अलिकति रोक्न पनि खोज्छ, जस्तै- हावामा राइफल फ्याँकेर देब्रे हातले फोर हृयान्डगार्ड र दाहिने हातले पिस्टोल ग्रिपमा एकसाथ समाउँदै सेफ्टी क्याच पोस्-बोल्ट पोस्-ब्याक पोस्- गरी बोल्ट तानेर राइफललाई थोरै बायाँ ढल्काई च्याम्बर देखाउन अब खासै भारिबाद रहेन न त पाउचको गुण्डी खोली भित्र राखिएका म्याग्जिन र राइफल क्लिनिङ किट निकाली लाइभ या ड्रिल राउन्ड केही नभएको देखाउन नै समस्या रह्यो ।" अरू पनि धेरै शब्द छन्, हजारजति होलान् । तिनको प्रयोग र परिचय नेपाली साहित्यमा अनिवार्य छ । नम्बरी, सत्ताईस, पैातीसनी, लङ रेञ्ज सुटिङ, फोरटन बस, कम्ब्याट फिट्नेस, अब्स्टयाकल टेस्ट... हाम्रै जीवनमा चल्ने, जीवनमै चाहिने शब्दहरू तिनको नेपाली भाषामा प्रवेश, प्रयोग र परिस्कार भएको छ । गणेशको उपन्यासले हामीलाई यसतिर सोच्न बाध्य गराउँछ । तीन सय वर्षको सैन्य संस्कृति बोकेको नेपाली जनजीवनको यो एउटा महत्त्वपूर्ण अङ्ग जनजिब्रोमा थिएता पनि साहित्यमा भर्खरै उत्रिदैछ । भाषाविद्हरूले यसतिर गम्भीर भएर लाग्नु पर्ने बेला आएको छ । अझ सूचना आदानप्रदानमा उनीहरूले प्रयोग गर्ने गरेको अनेक प्रकारको कोड भाषा त्यो अति भिन्न छ जस्तै- -गणेश राई यस्तो प्रयोग गरेको एक/दुई किताबबाट यहाँ राख्नु ।)

 

भयप्रद कालखण्डको अभिलेखन

यसमा इतिहासका भयप्रद कालखण्डहरू छन् । यीमध्ये एउटा हो चीनमा साम्यवादी साशनको क्रूरता र त्यसको विरोधमा उम्लेको तियानमेन स्क्वायर ...स्वतन्त्रताको खोजिमा प्राण अर्पेर भोगेकाहरू, भाग्न हङकङ पस्न खोज्नेहरू, आई.आई. हरू; लेखकलाई सम्झना छ- तर चीनभित्र अनगिन्ति घटनाहरू घटे, घटाइए । थुप्रै मानिसहरू अनाहकमा मारिइनुपर्यो । ठूलो उथलपथल मच्चियो पेकिङ, सङघाई, नानकिङलगायत सहरहरूमा । अन्त पनि बज्रको छिटोले बाँकी राखेन । जसको परिणाम राजनीतिक शरणका निम्ति हङकङ भित्रिने ढोका खुल्यो । यद्यपि त्यो आगमन अस्वीकृत र गैरकानुनी नै किन नहोस् । प्रारम्भमा शासकका पञ्जाबाट ज्यान बचाउन भागेर हङकङ छिर्ने प्रथा कालान्तरमा नितान्त व्यक्तिगत स्वार्थमा रूपान्तरण भयो । चिनियाँ बन्द समाजको दुलोबाट चियाउँदा बन्दीझैँ बनाइएका चिनियाँहरूले हङकङमा खुल्ला जीवन देखे । गरिबीले डामेको आँतहरूले सामचुन नदीको दक्षिणी पाटोमा स्वतन्त्र जीवनसँगै रोजगारी र सुखी जीवनको मानक टाइमोसानझैँ सम्भावना र अवसरका अग्लो पहाड पनि देखे । तेसरी देख्नु र त्यसप्रति आकषिर्त हुनु, लोभिनु उनीहरूको दोष थिएन । घाम देख्दादेख्दै अँध्यारोमा बस्न रुचाउने मानिसको स्वभाव पनि होइन वास्तवमा ।

कसरी चिनियाँहरू देश छोडेर भाग्न खोजे, कसरी ज्यान फालेर, नदी पारगर्दै, लुकेर, काँढेतार र कडा पहरा, सजाय, फिर्ती र मृत्युसम्मको सम्भावना मोलेर लुटिने युवतीहरू, सुत्केरी आमाहरू, गरिब दुःखी सबै... तिनीहरूका विरूद्ध नाराबाजीमा उभिनु पर्यो । मानवताको विरूद्ध थियो, स्वतन्त्रताको विरूद्ध थियो तर उभिनुपर्ने थियो । सैन्यलाई सिकाएको पाठ त्यही थियो । यसरी बेग्लाबेग्लै अनुभूति राइफल एकातिर मानवीय सम्वेदना अर्कातिर भयको विरोधाभाषपूर्ण स्थितिमा बारम्बार पर्दछन् । संवेदनशील लेखकलाई त्यसले छुन्छ । तर के त्यो छोड्न सकिन्छ ? लेखकले यही परिस्थितिलाई एम्बुस ठानेका छन् । एम्बुसमा प्रत्येकपल्ट फस्तै संवेदना मार्दै, निस्कँदै । जीवन अनेक विरोधाभाषपूर्ण स्थितिको बाचाइ रहेछ । आज एकदेशको नागरिकले अर्काकोलागि अर्को सिमाविरूद्ध लड्दा हुने अप्ठयारोमा सारा सम्वेदना नमारी, कसरी सम्भव हुन्छ ? फेरि एकातिर हेर्दा यो एउटा व्यवसाय हो, व्यापारजस्तै, शिक्षण जस्तै, अथवा यस्तै कुनै अत्यन्तै प्राचीनतासँग जोडिएको एक शिल्प र जागीर ।

युद्धचेतना मानव इतिहासको प्राचीन तिर्खा, अभ्यास र कौसल । सभ्यतासँगै त्यो पनि तिखारिँदै आएको छ । त्यहाँ ड्युटी गर्दाको क्षणलाई अनेक विरोधाभासबीचमा उभिएको स्थितिलाई लेखकले अत्यन्तै सुन्दर शैलीमा उतारेका छन् । जल, स्थल र नभ तीनैतिरको भयबाट वा आक्रमणबाट जोगिनु जोगाउनु पर्ने स्थितिमा एउटा शङ्करको क्षण यसरी उतारिएको छ । यसको भाषिक परिस्कार र शैली यस कृतिलाई उत्कृष्ट बनाउन यथेष्ट छन्- हरियो समुद्रको रौद्र छालमाथि एसल्ट बोट (डुङ्गा) मा चढेर तोलो बोर्डर क्याम्प पुग्दा सप्पै सप्पै नौला भए । मानिसहरू नौला, कर्मक्षेत्र नौलो, कार्यतालिका नौलो । सप्पै नौलो: अनुभूतिहरू नौला भए । समुद्र नौलो, त्यो माथि चढ्दाको अनुभूति नौलो, दुश्मन नौलो, पर्यावरण नौलो, सप्पै नौलो । नौलै नौलो बीच आफू पनि नौलो । अझ गर्न पर्ने काम झनै नौलो । नवीनता माझ अभ्यस्त बनिने क्रम समयको गतिसँगै क्रमशः बढ्दै गयो । कहिले समुद्रको उत्ताल छालमाथि अति उच्च गतिवान र्याडर बोटमाथि चढेर समुद्रको बीचमा उम्रिएका स-साना सिमलकाँडे निर्जन डाँडामा समुद्री आँधीसँग जुद्धै अनियन्त्रित पाहुनाको पखाईमा रातभरि जागै बस्यौँ । कहिले समुद्री किनारमा नुनिलो पानी पिउँदै निर्लज्ज नाङ्गो पल्टिएका बेशर्म चट्टाने छातीमा लाज पचाउँदै खुसु्रक्क पुग्यौँ । पोथ्रा-पोथ्रिमा लुकेर दुश्मन ढुक्दा गोठालो जाँदा लुकामारी खेलेको अतीत नराम्ररी बल्झन्थ्यो । रातभरि अनिदो र गतिशील रहेर लाटकोशेरो या चमेरोको जीवनमा म आफूलाई रूपान्तरित गरिरहेथेा ।

बोर्डर ड्युटीको कष्ट जीउज्यानको खतरा र सावधानीको आवश्यकता वयान गरिनसक्नुको छ । कसरी सञ्चार स्थापित हुन्थ्यो, कसरी लुक्ने, ढुक्ने वा जोगिने कर्म हुन्थे ती आश्चर्यजनक छन् । दिनभरि एक प्रकारको कर्म साँझ परेपछि चाइनातिर फर्केर 'चमेरे वा 'लाटोकोसेरे जिन्दगी बिताउन पर्ने, कहिले दुस्मनलाई 'अँध्यारोमा भ्याकुरा खेदेझैँ खेदिरहेका कति साथी हिलामा गाडिए, मारिए । सामचुन नदी किनारको जीवन भयावह छ । झाडीमा लुकेकी सुत्केरी, रोइरहेको बच्चा र पक्राऊ ... यी सुम्निमाको कथा कति कारुणिक छ । बोर्डर ड्युटीमा पर्दा सार्जन्ट सक्कलजितको वयान कति जीवन्त छ-साइकुङको त्यो अनकन्टार समुद्री किनार र किनारसँगै उठेका पट्यारलाग्दो निर्जन डाँडा पाखामा आई.आई. कुरेर व्याक स्टप बस्दाको समयले साँच्चिनै उनको जीवनलाई अर्कै जीवनमा परिणत गरिदिएछ । त्यो निर्दयी दिन अल्छि लाग्दो निरस थियो रे उनको ठम्याइमा । भुइँकुइरोले आँखाको दृष्टि खुम्चाएको थियो रे । र, रुझेको थियो रे सिमसिम पानीले जीउ ।  उनको भनाई मुताबिक आई.आई. को गैरकानुनी प्रवेश दिनहुँ हूलका हूल पस्दो थियो । अधिकांश समातिएर चीनतिरै फर्काइए पनि ��"इरिने क्रम रोकिएको थिएन । बोर्डरमा पक्राउ पर्नु भनेको नयाँ सपनाको क्रम भङ्ग भई नयाँ जीवनको अन्त्य हुनु थियो ।

चीनबाट भागेर हङकङ पस्ने दुई युवतीको, साहस, वीरता र जीवन अर्पण गर्दाको क्षण कति करुणाजनक चीन-हङकङ बोर्डर पार गर्ने प्रयत्नले एउटा लामो इतिहास बोल्दछ । क्रूरताको, अधिनायकवादी शासकमा हुने अत्याचारको त्यसबाट मुक्ति पाउन चाहने इच्छाको । सांस्कृतिक क्रान्तिपछि हिजो देङसिया पिङ आउनुअघिसम्म चीनले कति वर्वरताको अभ्यास गर्यो होला ती सारा कुरा छेलिएका छन्, संसारका ढोका बन्द गरेर गरिएका ती क्रूरताका खेल कति भयप्रद थिए होलान्, कति मारिए, कति यातनागृहमा सडिए, अरू भाग्न चाहनेहरूको एक खण्डको दुःखान्त हङकङ बोर्डरले देख्यो र गणेशको कलमले लेख्यो ।

हजारौँ गोर्खाली सेनाले उही जीवन बिताए हुन्, तर गणेशले एउटा इतिहासको भयङ्कर त्रासद घडीलाई कड्याप्प पक्रिएका छन् । त्यो शक्तिशाली भाषामा छ, लेखकको विश्लेषण र दृष्टिकोणले युक्त । ती भाग्न चाहनेको प्रयत्नलाई देखेर उनको अनुभव बोल्छ-... मौका मिल्नसाथ हाम्फाल्थे । ती काँडेतार नाघ्न पोख्त हुन्थे। ती तालिम प्राप्तजस्ता थिए । आँखाको झिमिक्कमा तार काटेर भाग्न सिपालु । हरियो रुखको डाला, हाँगा सिउरेर या समातेर भूबनोटसँग तालमेल मिलाउने कन्सिलमेन्ट ट्याक्टिसमा पनि माहिर थिए । तिनीहरूको चातुर्यतापूर्ण क्रियाकलाप देखेपछि यस्तो लाग्थ्यो कि तिनीहरूले बोर्डर पार गर्ने तालिम उतै कतै लिएर अभ्यस्त बनी आएका हुन् ।

 

अभिघातक दुश्चिन्ता

यो सारा तियानमेन स्क्वायरको पराकाष्ठाले उत्पन्न गरेको परिस्थिति थियो । लेखक एउटा निष्पक्ष अवलोकनकर्ता बनेर टाढाबाट बोल्छन्- जसले अनागरिक बनाएको छ मान्छेदेखि मान्छेलाई । आफ्नै देशभित्र पनि कुकुरको जुनी बाचेर गरिबीले डामेर नागरिक कहलाइनुको महत्त्व र मूल्य कति छ ? खोक्रो राष्ट्रियता पेट भर्ने दालभात बन्छ कि बन्दैन ? कस्को आङ ढाकिएको छ केवल खोक्रो आदर्शले ? कसैको चुँहेको छानो न त टालिएको छ स्वाभिमानले ।

युद्ध साहित्यमा यस्तो भयानक जीवन्तता बोकेको अरू कृति नेपाली साहित्यमा आएको छैन । यति प्रत्यक्ष र पनि सूक्ष्म, यति सहज र एक सिद्धहस्त सर्जकले लेख्ने क्षमतामा । उनले राइफललाई नै जीवनको संस्कृति ठानेका थिए । कतिबेला त्यो सम्हाले, कतिबेला ड्यूटी गरे, कतिबेला युद्धभूमिमा फ्याँकिए, कतिबेला यो अमर काव्य रचे- मलाई उदेक लाग्छ । सोच्तछु, गणेशप्रति प्रेम र प्रशंसाले गले हृदय भरिएर आउँछ ।

नेपाली साहित्यले यो पाटो हेरेकै छैन, देखेको छैन, त्यसको सम्झना र मूल्याङ्कन गरेकै छैन । फ्राइड र मार्क्स लगाएर यसले साहित्य हेर्न खोज्छ, तर यसले यस्ता क्रूरताले उत्पन्न गर्ने भय र अभिघातले ध्वस्त बनाएको जीवनतिर फर्केर हेरेन । विश्वभरि फैलेका गोर्खा सैनिक यही त्रासदी मनोविज्ञानमा बाँचेका छन्, मरेका छन्, तर साहित्यमा त्यस्को चर्चा, विश्लेषण भएन, त्यो सिद्धान्तको पनि उल्लेख भएन । बोर्नियोको युद्धमा पर्नु अघि पात्र बोल्छ- भयप्रद कल्पनामा पर्दै बौरिँदै गर्नु जीवनको प्रतिजीवन या फोटोकपि बोक्नु हो । वास्तवमा हो पनि, सम्वेदना जति फुकालेर टाढै राखेपछि मर्नु र मार्नुको खेलमा उत्रने बेलामा ती भयप्रद दुस्कल्पना र अन्यमनस्कता, अनेक दुश्चिन्ताको संघारमा उभिएर सोच्ता कति डरलाग्दो देखिन्छ यो मूर्खतापूर्ण खेल ! अर्कैका लागि अर्कैको भएर, अर्कैको आँगनबाट मृत्युको गहिरो ��"डारमा हामफाल्दा- ब्लाकाङमति फ्यामिली लाइनमा रहेकी सान्केन्मालाई सम्झियो । यही सरवाकको लडाइँमा मर्छु कि क्या हो भन्ने संशयले बिचरा त्रस्त भयो । युद्धरत अवस्थामा त्यस्तो सोचाइद्वारा हरेक योद्धा सताइएकै हुन्छ प्रायः युद्धकालभरि । ऊमात्र अपवाद किन हुन्थ्यो र ! सरवाकको जङ्गलमा मरेा भने मेरो लास के हुने होला ? बाघ, भालु, स्यालले चिथोर्छन् होला । कुगतिले मरेा भने पित्रमा पस्दिना होला । तीन चुलादेखि बाहिरै रहन्छु होला । साम्खामा मेरो नाउँ डाक्दैनन् होला । नाक्छोङ बिजुवाले बेछुक कचेत काट्तै, चोखो फलामकोक र वाछोन खाचासिप चढाइ पित्रीकार्य गर्दा मेरो अस्तित्व फलाक्दैनन् होला । जहाँ जन्मे त्यहीँ मर्न पाउँ । त्यही माटोमा पुरिन पाऊँ एक चपरी आफ्नै चोखो माटोले । ऊ मानसिक सोचाइले भरियो, त्रासैत्रास ।

त्यहाँ यथार्थ युद्धभूमि छ । त्यहाँ मृत्यु सिकेर मृत्युसँगको मात्र खेल छ । कालो जङ्गलभित्र घमासान युद्ध छ, मर्नेहरू मार्नेहरू ।

यी सारा परिस्थितिका लड्नु पर्ने ऐतिहासिक कारणहरू सँगै आउँछन् ।

गणेशभित्र एक अत्यन्तै कुशल सैन्य छ सँगै एक गम्भीर मानवतावादी दार्शनिक व्यक्तित्व पनि । रक्तपात र विनाशको दहमा डुबेपछि उनी भन्दछन्-सबैजना जीवनको निरन्तरताको निम्ति जीवन हर्ने युद्धको तयारीमा लागे । कत्रो विरोधाभास र बिड्म्बना ! त्यसबेला मनभित्र आशङ्काको कालो ढिस्को उभियो मानवता छेकेर । मान्छे मान्छे जस्तो नदेखिइ शत्रुबाहेक अरू केही देखिएन ।

अन्य देशको निम्ति योद्धा बन्ने पेशामा लाग्ने संस्कृतिको स्थापना हुनुमा तत्कालीन राज्यव्यवस्था दोषी थियो- कसैले युद्धलाई मृत्युको प्रतिरूप देखे । ठाडै अस्वीकार गरे । कसैले युद्धलाई अवसरको सुनौलो बिहानी ठाने । सहर्ष स्वीकारे । कतिले मन नमान्दा नमान्दै पनि मौकामा चोका हान्नुपर्छ भनी बाध्यता र स्वार्थले अँगाले । परायाका निम्ति पाखुरा सुर्किन तयार हुने पेशाभन्दा के नै पो अरू सिकायो र तत्कालीन समाज र व्यवस्थाले ? मानव सौदाबाजीको दासयुगको अन्त्यले पनि अन्त्य गर्न सकेन सिपाही बन्ने अघोषित मृत्युपेशा नेपाली समाजमा । परिणाम घातकै घातक जहीँतहीँ ।

यो देशको समग्र मानसिकतालाई विराट बिम्बमा उतारेका छन् उनले यसरी-हिम्मत त गर्नै पर्यो नि ! कतै अँध्यारोले छोपेको दरिद्र जीवनले पनि एक चोइटा घाम भेटी पो हाल्ने हो कि !

 

स्थानभ्रंश र नेँस्टयाल्जिया

प्रसङ्गवस लेखकले यहाँ अतीतका भयप्रद युद्ध पनि छोएका छन्- जापानको जर्मनको, दोस्रो अझ पहिलो विश्वयुद्धमा गोर्खालीले लडेको चारबर्से बोर्नियाको लडाइँ कसरी आयो र गयो, त्यसले कति ज्यान लियो, त्यो कुरा भयप्रद छ । त्यसपछिको चित्र कति डरलाग्दो छ-आर्मी रेजिमेन्टहरू एकपछि अर्को गर्दै युद्धको समाप्तिसँगै जङ्गलदेखि निस्कन थाले ताँतीका ताँती । काँधमा राइफल भिरेका, पिठ्यूामा प्याक र पौच बोकेका सिपाहीहरू दाह्री जुँगा र कपाल बढेर चिन्न हम्मेहम्मे पर्ने अवस्थामा थिए । मलेसियाका विभिन्न क्याम्प र फ्यामिली लाइनमा व्यग्र पर्खाइमा प्रतीक्षारत श्रीमतीहरूले हतपत आफ्नो लोग्ने ठम्याउन सकेनन् । आमालाई लोग्ने चिन्न कठिन परेको स्थितिमा मसिना केटाकेटीले त झन् बाउ चिन्ने कुरै भएन ।

लडाइँ सकिएकोमा खुसियाली मनाए । पुनर्मिलन भएकोमा भाग्यमानी ठाने । तथापि सबैको स्थिति एकै थिएन । धेरैको लोग्नेलाई लडाइँले खाएको थियो । उनीहरूका लागि युद्ध साम्य भएर पनि खुसी आएन । बच्चा बच्चीहरू बाउको प्यारो अँगालो र मायाबाट बन्चित भइसकेका थिए । युद्धको समाप्ति उदेकलाग्दो थियो- पल्लो कोठामा हर्ष, वल्लो कोठामा रोदन । बाटापारि हाँसो बाटावारि आँसु । यो कस्तो जिन्दगीको अभिशाप !

बेलाबेला युद्धवीरको 'प्रतिजीवन' देखापर्छ । उसको पारिवारिक जीवन छ । युद्धमैदान र तीबीच मन टाँगिन्छ, नेपाल र हङकङबीच टाँगिन्छ । लिम्दे स्कूलमा पढेकी लिलिमा आउँछे । आफ्ना पनि अनेक रूपान्तरणहरू छन्, अनेक प्रतिजीवनहरू । लिलिमा पनि त्यस्तै- माइतीघरकी लिम्दे स्कुलमा लिलिमा भनी चिनिन्थी । कर्मघरमा जेठी बनी । लाहुरेनी पनि कसैकसैले भन्थे गाउँघरमा उसलाई । पल्टनघरमा आएपछि उसका पूर्ववत् चिनारी बदलिई सैातालीसनी भएकी छ । म पनि जेठा, जुद्धे, युद्धवीर हुँदै सैँतालीस अथवा बत्तीस सैँतालीस भएजस्तै मेरो र उसको चिनारी समानान्तर बदलिएका छन् ।

साम्राज्यको झन्डा त्यहाँबाट उखेलिदिएपछि, हङकङ चीनमा पसेपछिको परिदृश्य अर्कै छ । एउटा क्षय र सुनसान जीवन तितरबितर र नोस्टाल्जिया, गुमेको अतीतको खोजी छ, अनागत भविष्य अजिङ्गर भई उभिएको छ ।

युद्धका भग्नावशेष र अवशादहरू । सार्वाकको लडाइँमा हराएको साथी । वनमान्छेको रूपमा भेटिएको-कस्तो सपनाभन्दा अपत्यारिलो कुरा ।

 

योद्धा जीवनसँग विच्छेद

अन्त्यतिर लेखक जीवनलाई अनेक दृष्टिले बुझ्न खोज्छन् । हङकङको एउटा इतिहास टुङ्गिएपछि सयौँ वर्षको खेलमैदान सारा व्यर्थ भए । सुनसान भो, अघिका कर्म अनर्थ भए । लेखकलाई लाग्यो- जीवन कुनै उच्चतामा नपुगी चटक्क छाड्नु, र फेरि फेदीबाट आरोहण थाल्नु जीवनको नियति हो आर्मी जीवनमा ।

योद्धा जीवनसँग विच्छेदन भएपछि उनी अर्कै व्यक्ति भए । युद्धवीर अर्कै जीवनमा रूपान्तरित भयो । प्रतिजीवन फेरियो । शन्त्रास्त्रले घेरिएर हिँडेको यति लामो अतीत धन्य कालले नदेखी रह्यो, धन्य आज अर्को जीवनले कोल्टे फेर्ने समय भो ।

उनी बेलायततिर लागे । लिलिमा छिन्, युगान्त र नुमा छन् । जीवन अर्कै भएको छ । जीवनको मध्यभाग सङ्घर्ष र सेवा अर्पण गरिसकेपछि अब नौलो भूमि पनि आफ्नो हुन थाल्छ । त्यहाँबाट उड्ने बेलामा युद्धवीरलाई लाग्छ- म हाँगाबाट खसेको पातको नियति अँगाली उडिरहेँ, सम्झनाको धारमा रेटिँदै विमानको कुचुक्क सिटमा पेलिँदै बसेँ । ... चिरपरिचित हङकङ कर्म घर थियो या दोस्रो घरभन्दा पनि हुने- गर्मीले उखरमाउलो बाफिएको हङकङ बिस्तारै गर्मी सिजनबाट उन्मुक्ति पाउने तरखरमा थियो अगस्ट महिनामा म पुग्दा । चिरपरिचित हङकङ कर्म घर थियो या दोस्रो घर भन्दा पनि हुने । जहाँ जीवनका अति उर्वर क्षणहरू, उत्कृष्ट पलहरू र फलाम चपाउने तन्नेरी बैँसहरू ब्रिटिस गोर्खा सिपाही हुनुको नाताले अरूले झैँ म स्वयम्ले पनि खर्चेको थिएँ ।

एक लामो अतीत तेर्सिएको छ सामुन्ने । त्यसतिर हेर्दै युद्धवीर बोल्छ- समय आखिर समय नै हो, आफ्नै गतिमा आफ्नै तरिकाले फुत्किने । रोकौँ नरोकिने । पक्रौँ पक्रन नमिल्ने । समय बितेको भन्नु मात्र आफै बितेको पत्तो नहुने । कस्तो समयको यो खेल । जीवनसँग समयको यो कस्तो झेल । रिक्रुटहरू काँचो माटोजस्तो नेपालबाट आएका थिए । सैनिक ज्ञानले परिपक्व भइ पल्टन पल्टन गए । कोर्स गर्न आउनेको ताँतीमा धेरैले कडा मेहेनत गरी राम्रो ग्रेड लिई पास भएर पल्टन फिरे । प्रमोसनको सिँढी उक्ले । र्याङमा ठ्याङ नमिल्नेहरू कोर्समा राम्रो ग्रेड लगे पनि मार्क टाइम परे, जहीँको तहीँ उफ्रेको उफ्रेकै । कमजोरहरू कोर्स फेल भइ प्रमोसनको चिप्लो सिँढीबाट चिप्ली पछारिए । ईआरई याने कि काजमा खटिएकाहरूको पनि गति या दुर्गति उही थियो । काज पूरा गरी डिपोबाट कोही पल्टन फिरे । कोहीले डिपोबाटै हेभिकिट ठोके । हेभिकिट ठोक्नु भनेको सिङ्गो जीवनबाट अवकास नभई मात्र सैन्य जीवनबाट अवकास या सामान्य भाषामा पेन्सन निस्कनु हो । नयाँ पात पलाउनु र पुरानो पात हाँगासँग जतिसुकै प्रगाढ पिरती भए पनि खस्नु प्रकृतिको नियम । नयाँ रिक्रुटहरूको आगमनको अर्थ पुरानाहरूको बहिर्गमन । दिनहरू यसरी नै बिते र बितिरहे । चर्खाजस्तो घुम्ने समय घुमिरह्यो सिपाही जीवन च्यापेर फनफनी आफ्नो कक्षमा ।

१९९४ पश्चात् हङकङ अर्कैको भयो । लामो बसाइको कर्मथलोको हकले गोर्खाली अब आईडीको खोजीमा पुगे । अघिको रौनकको अन्त्य भयो, एक इतिहासको पटाक्षेप । शून्य लाग्छ मनमा- मनभित्र राइफल खोसिएको भोलिको जीवन कल्पिन लागे ।

कटौतीपछि युद्धवीरले पल्टन छाड्ने निर्णय गर्यो । एउटा लालबुक च्यापेर उसले हङकङ छाड्यो ।

ऊ सम्झिन्छ- जीवन सायद संयोगैसंयोगले बनेको हुँदो हो । कल्पनातीत संयोगहरू रहस्यमय जीवनका जिउने गतिला आधार हुन्- सम्झिएँ । र, नै त जीवन कहिलेकाहीँ संयोगात्मक बन्छ । अर्को संयोग थियो सकुशल सशरीर स्वदेश फिर्नु । सैनिक हुने रहर पाल्नु भनेको मर्ने रहर हुर्काउनु पनि हो । किनकि सिपाही भनेको युद्धका निम्ति लड्न भर्ती गरिन्छ । बुलेटद्वारा जीवन भ्वाङ पर्नु या एम्बुसमा जीवन चुाडिनु योद्धाको अदेखा अर्को जीवन हो । घुमाउरो अर्थमा भर्ती हुनु र युद्ध लड्नुको सादृश्यता मृत्यु केवल मृत्यु वा अङ्गभङ्ग हुनु हो जीवन र भविष्य दुवैको । यस अर्थमा पनि खुसीको संयोग थियो यो मेरो लागि । करिब एक जोडी दशक पहिले मैले टेकेको रिक्रुट पाइलोमा म सैनिक जीवनको अन्तिम पाइलो खापिरहेको थिएँ या वेवारिसे नबनुन् भनी तिनलाई फिर्ता लिँदै थिएँ । डिपोको अन्त्यसँगै मेरो सैन्य जीवनको पनि अन्त्य भयो । सकार्छु- म स्वयम्ले अन्त्य गरेँ आफ्नो सैन्य जीवनको । फलामे ढोका बन्द । यद्यपि, जीवन बन्दी भएन । फलामे ढोकाले कहाँ थुन्न सक्थ्यो र आयामिक जीवनको बहुआयामलाई ।

अप्रिल महिना बर्दी फुकालेको महिना । राइफलसँग एकाएक सम्बन्धविच्छेद भएको महिना । गोर्खा ह्याटसित परेडमा जीवनको पुनः भेट नहुने महिना । सैन्य जीवनको एम्बुसबाट छुटेको महिना । बङ्करमुक्त जीवनको सुरुवाती महिना । एघार सन्ताउनबाट अन्तिम छुटकारा । एघार सन्ताउन (आर्मी र्फम इलेभेन फिप्टिसेभेन) यस्तो बही हो जुन खातामा सिपाहीको जिन्दगीको चित्र हेर्न र बुझ्न सकिन्छ । अप्रिल महिनाको एक दिन मैले मेरो यौटा जीवन त्यागेँ । ��"तारी बनेँ कि क्या हो ! हैन । त्यत्तिका लम्बेतान वर्षहरूको बफादारी सैन्य सेवा केवल यौटा लालबुकमा रूपान्तरण भयो । लालबुकमा रूपान्तरित म आफ्नो जीवन च्यापेर हङकङ छाड्ने तयारीमा लागेँ । अनेकौँ तर्कहरू उठे मनभित्र । यौटा तर्क जहिले पनि निहुँ खोज्थ्यो पाखुरा सुर्किदै मसित र चिच्याउँथ्यो- 'तैँले गल्ती गरिस पल्टन नफिरेर । म प्रतिवाद गर्थें- 'जे निर्णय मैले लिएँ, ठीक निर्णय मेरो निम्ति लिएँ । मलाई पुग्यो छलछामको यो पेशा । ऊ हायलकायल पार्न अझ विवादको मोर्चामा घुँडा धस्दै भन्थ्यो- 'तेत्रो पसिनाको खोला बगाइस्, अनेकौँ कस्ट सहेर कोर्स क्याडर गरिस् र योग्यताको सिँढीमा माथि चढिस् । खै त्यसको प्रतिफल तैँले पाएको ? जीवनदेखि हारेर तैँले यसरी भाग्नुहुन्छ ? म किन जीवनदेखि हारेर भाग्थेँ । जीवनसङ्घर्षमा रमाउने म सङ्घर्षदेखि डराउने या हारेर भाग्ने भन्ने प्रश्नै आउँदैन । म यही अडान लिन्थेँ । हो, म हारेर भागेँ हुँला, तर सङ्घर्षबाट नभई जालझेल, तिकडम, नातावाद, कृपावाद आदि जस्ता फोहोरी खेलबाट भागेँ हुँला । मेरो नैतिकता र स्वाभिमानद्वारा सदासर्वदा तिरस्कृत त्यही घृणित खेल प्रमोसन केवल प्रमोसनका निम्ति म खेलौँ ? अहा, तिलाञ्जलि दिन्नँ म मलाई ! जसले मलाई म बनाएको छ उसैको उपहास, असम्भव ! मबाट हुँदैन त्यो गद्दारी ।

 

एक अमर सिर्जना

नेपाली साहित्यमा यस्तो सिर्जना मैले पढेको थिएनछु । अङ्ग्रेजी युद्ध साहित्यमा मात्रै । यो एक अकल्पनीय कृति हो । सैन्य जीवनलाई पलपलको त्रासले भोग्दै जीवन्त यथार्थता छोएर पोखिएको । मैले भनेँ- अघि कहिल्यै यस्तो लेखिएन ।

यस कृतिले अनेक तह अर्थ दिन्छ ।

यसमा डायास्पोरिक जीवनचित्र छ । हङकङ-नेपालको, खासगरी सैन्य जीवनको । यसलाई डायास्पोरिक साहित्यको अध्ययन गर्दा हङकङको सन्दर्भमा अग्रपङ्क्तिमा राख्नु आवश्यक हुन्छ । डायास्पोरिक जीवनका सारा अभिलक्षणको जीवन्त नमुना यसमा पाइन्छ । फेरि एक सफल गद्य साहित्यकेा रूपमा यसको उत्कृष्टता निर्विवाद स्थापित हुनेछ ।

यसमा नेपाल-हङकङ स्मृत्याभासमा आउँदै अल्पिएका छन् । एउटा अनिणिर्त मनोदशामा लेखकको जीवन गुज्रिन्छ ।

अरू अनेक तत्त्व छन् । बाल्यकाल छ, परिवारजन छन्, नातागोता र एक विशाल संस्कृति भण्डार जहाँबाट एक राई पात्र बोल्दछ- आफ्ना कुल पित्रीको स्मरण गर्दै, धर्म, संस्कृति, यो लोक र परलोक सम्झिदै, केही बाचाहरू सम्झिदै ।

धेरैले युद्धजीवनलाई एक व्यर्थता ठानेर धिक्कारेका छन्, गणेशले निस्पक्ष उभिएर एक निष्पक्ष चित्र इमानदारीले उभ्याएका छन् ।

पढ्न थालेपछि पढौँ पढौँ लाग्ने, झन् झन् पढौँ लाग्ने, नछोडौँ लाग्ने, छोड्न नसकिने एक आकर्षण र एक जादुले निर्मित छ यो । तर यो दुःखपूर्ण गाथाले लछप्पै भिजेको छ । सारालाई कौतूहल जगाउने विषय कसरी भर्ती लाग्दा हुन्, कसरी रिकुटे तालिम गर्दा हुन्, कसरी सैन्य जीवनमा प्रवेश गर्दा हुन्, के कस्तो कर्तव्यमा होमिएर कसरी जीवन सकिँदो हो ।  साँच्चैको युद्धभूमि कस्तो हुदो हो । त्यो जीवन्ताले निर्मित छ यो कृति ।

गोर्खाली सेनाले भोगेका आधुनिक लडाइँको यो दृश्य । नयाँ पुस्ताले पढेको छैन, नेपाली साहित्यमा यसको भिन्न स्थान छ । यसको लेखाजोखा भएको छैन, ती सबै परिप्रेक्ष्यले हेर्नुपर्ने, पढ्नै पर्ने कृति छ गणेश राईको एम्बुस ।

यस कृतिले मेरो मनमा दुःखका अनेक छाल उठायो, म संयमित र तरङ्गित भएँ । प्रत्येक लाहुरेप्रति म भावुक भएँ र मेरो मन बोल्न थाल्यो- यो भिन्न जीवन, यो भिन्न संस्कृति, हाम्रा हजारौँ दाजुभाइ, दिदीबहिनीले रचेको यसलाई नबुझे नेपाली जीवन कति खोक्रो, आडम्बरी र सम्वेदनाशून्य हुन्छ होला । गणेश राईको एम्बुस नपढेको नेपाली लेखक समालोचक वा कुनै पाठकको दृष्टिकोण अधुरो र एकाङ्गी रहने छ ।

यहाँ वीरत्व छ, सम्वेदना छ सँगै यहाँ क्रूर चित्र छ, मानवताको खोजी छ, सँगै यहाँ दूरत्व र पराइपन छ, अपत्वको खोजी र सम्झना छ सँगै । होमल्यान्ड र होस्टल्यान्ड बीचको एउटा साँघु भै अनिर्णयमा उभिएको एक नेपाली परिवार छ यहाँ तर यो हजारौँ ती नेपाली परिवारको कथा हो जसले विगत ३०० वर्षदेखि यस्तो जीवन भोगे, यो संस्कृति निर्माण गरे ।

आज त्यसप्रतिको घृणा छ, प्रेम पनि । त्यसबाट भाग्न चाहन्छ नेपाली त्यसैलाई निरन्तरता दिन पनि चाहन्छ ।

एउटा सैन्यको जीवनमा युद्धसँग भेट हुन सक्छ, नहुन पनि सक्छ । तर सैन्य जीवनसँग ता उसको सधैँ भेट हुन्छ । सैन्य जीवनबारे लेखे सैन्य-साहित्य हुन्छ । यसमा सैन्य र युद्ध दुवै छन्, तथापि यो सैन्य जीवनको प्रथम साहित्य हो । गणेशले त्यसको श्रीगणेश गरेका छन् । आशा छ यस्ता अरू कृति अरूबाट पनि लेखिएलान् । मैले देखेँ, गणेशको हृदयमा एक शक्तिशाली लेखकको बास छ ।

म चाहन्छु, उनले त्यसलाई अविश्रात लेखाइरहून्, लेखिरहून् । यो सुन्दर गद्य सिर्जनाले उनलाई अमर बनाएको छ, तर बाँकी जीवनमा नेपाली साहित्यले उनीबाट यस्तै आसा गर्दछ । यो लाखौँ सैन्यलाई प्रेरणाको स्रोत पनि हो । अन्य व्यवशायका आत्मजीवनी लेख्न चाहनेलाई पनि ठूलो प्रेरणाको स्रोत हो ।

यो युद्धकलाको एक अपडेटेट पाठ पनि हो, मृत्युलीलाको त्रासद खेल पनि, यो महत्त्वपूर्ण सैन्यसाहित्य हो । यो नपढेसम्म नेपालीको जीवन अधुरो हुन्छ, नेपालीको जीवन हेर्ने दृष्टिकोण अधुरो हुन्छ ।

 

१० साउन, २०६६                                                                                                                                               
 प्राध्यापक, (अङ्ग्रेजी)                                               
त्रिभुवन विश्वविद्यालय

कीर्तिपुर, काठमाडौँ




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Criticism / समालोचना category

Glancing on Hongkong Ma Kavita
लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर
घामको चुम्बनमा लोकबोलीको चमत्कार
कवि आँकालाको 'सन्तानहरू'मा पाठकीय समालोचना
देशपरदेशका तस्वीर
'एक हातको ताली' निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण
'एक हातको ताली'मा आलोक
अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश
मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा
नयाँ लेखकको जन्म
बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले.....

    Links
Column / स्तम्भ

    Random Pick
यो धर्तीको सवैभन्दा
नयाँ गीत गाएर,
सम्झनाको सवैभन्दा पुरानो
प्रेम सन्देस बोकेर
उडिरहने प्रिय बादल
र, मेरो प्रियतमको अनुहार

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622817
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com