Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 20, 2008 | Author : हाङयुग अज्ञात
Category : Poetry / कविता | Views : 1497 | Rating :

  
हाङयुग अज्ञात
Author
'Buffalo soldier, dreadlock Rasta:
There was a buffalo soldier in the heart of America,

Stolen from Africa, brought to America,

Fighting for arrival, fighting for survival.'

                                                         -Bob Marley

 
सा रे ग म प ध नि
नि ध प म ग रे सा
यो सात सुरमा सात संसार हुन्छ
यो सात संसारमा सात ब्रम्हाण्ड हुन्छ
तर हिजोआज सङ्गीतकारहरूको नयाँ वर्ग
सङ्गीतको अर्को परिभाषा बनाउन खोजिरहेका छन्
यो सहरको कोलाहलमा
नयाँ गायकहरूको लामो लस्कर
हतारहतार गीत रेकर्ड गरिरहेका छन्
तेसैले सङ्गीत, हङकङ र यो जिन्दगी
हिजोआज मलाई उस्तै लाग्न थालेको छ,
 
बैरागी काइँलाले बिगारेको
हाङयुग अज्ञात भने जस्तै
यो हङकङमा मानिसहरू भन्छन्
अम्बर गुरूङले बिगारेको दिनेश सुब्बा
या शम्भुजित बाँस्कोटाले बिगारेको नागेन्द्र श्रेष्ठ
साँच्चै ! ठूलो र सप्रेको सहर भइकन पनि
यो सानो र छुद्र सहरमा
यस्तो गफ गर्दा मज्जा आउँदोरहेछ
र हामी यस्तो गफमा बिर्सिदाँ रहेछौं
कला, कविता अथवा सङ्गीतको आत्मा,
 
दिनेशको गीतार र नागेन्द्रको किबोर्ड
थाहै नपाई मिनी अर्केष्ट्राबाट हराएजस्तै
यो सहरमा सङ्गीत पनि हराएको छ
जसरी हराएको छ कविहरूको कविता
जसरी हराएको छ गायकहरूको स्वर
जसरी हराएको छ पत्रकारहरूको कलम
जसरी हराएको छ बुद्घिजिविहरूको बुद्घ
अनि जसरी हराएको छ
हाम्रो विवेकको फाइलबाट 'कर्ड सी'
तेस्सरी नै हराएको छ जीवनबाट गम्भीरता
तेस्सरी नै हराएको छ अफेर्सको कथा,
 
उहिलेउहिले पाठशालामा सङ्गीत गुरूले
सिकाउनुभो सा रे ग म प ध नि सा
तेतिबेला हामी केटाकेटीहरू भन्थ्यौं
पादेपछि आउँछ दिसा
र जब दार्जिलिङबाट अङ्ग्रेजी पढाउन
नेपाल छिरेको पप गुरूले गिटार फिट्नुहुन्थ्यो
हामी भन्थ्यौं
गितार भनेको हाम्रो आमाले मकै भुट्ने
होर्लाङ्गे हो, त्यो तेत्ति मात्रै हो !
यो उमेरमा । यो सहरमा । यो कोलाहलमा
जबजब म त्यो मेरो सङ्गीत गुरू सम्झिन्छु
तबतब म अत्तालिन्छु
र सरस्वतीलाई नपत्याएको
तेतिबेलाको मेरो बुद्घले पिरोलेर
लक्ष्मीको पछाडि लुक्न खोज्छु
हो, मलाई धेरैले भने
जहाँ सरस्वतीको बास हुन्छ तिहाँ लक्ष्मीको नास हुन्छ
जहाँ लक्ष्मीको बास हुन्छ तिहाँ सरस्वतीको नास हुन्छ
र मेरो अगाडि पल्टिरहेका गीतका नयाँ सिडीहरू हेर्दै
यतिबेला सोचिरहेको छु-
'के कलाको मृत्यु भनेको यही हो ?'
   - गुन्गुनाऊ
   - धुन बनाऊ
   - शब्दहरू भर
   - या शब्दहरूमा धुन भर
   - गायकलाई शब्द र धुन घोकाऊ
   - एरेन्जरलाई बाजाहरू हाल्न लगाऊ
   - भायोलिन र सेक्साफोन नछुटोस्
   - रेकर्ड गर, सिडीको गुरूकपि बनाऊ
   - बाँकी कपि गर, कभर फोटोकपि गर
   - विमोचन गर, रङ्ग पत्रकारहरूलाई जाँड ख्वाऊ
   - एफ्.एम्. रेडियो र टिभि च्यानलका आरजे र भिजेसित विशेष सिटिङमा बस, डिजेलाई पनि साथी बनाऊ
   - समाचार आउँछ, समिक्षा आउँछ, अन्तर्वार्ता आउँछ
   - म सङ्गीतकार भएँ
   - यसरी नै गायक र गीतकार पनि हुनसक्छु
 
साँच्चै कत्ति सजिलो छ हिजोआज
कवि हुनलाई !
सङ्गीतकार हुनलाई
गायक हुनलाई ! गीतकार हुनलाई ! पत्रकार हुनलाई
यो उत्तरआधुनिक सहरमा साँच्चै सजिलो छ
गीतार बजाउनु या स्वर तान्नु या शब्द खेलाउनु
गीतार बजाउनु केको चिन्तन गर्नु पर्‍यो ?
स्वर तान्नु केको विचार गर्नु पर्‍यो ?
शब्द खेलाउनु केको दर्शन पढ्नु पर्‍यो ?
हो, सङ्गीतकार हुनलाई अब
अम्बर गुरूङले जस्तो
कविहरूको सङ्गत नगरे पनि हुन्छ
कवि हुनलाई अब
बैरागी काइँलाले जस्तो
सङ्गीतकारहरूको सङ्गत नगरे पनि हुन्छ
गायक हुनलाई अब
नारायण गोपालले जस्तो
कविहरूको सङ्गत नगरे पनि हुन्छ
किनभने यो हङकङ हो
र हङकङ भनेको अहङ्कारको अजिङ्गर हो,
 
यहाँ झलकमान गन्धर्वको बुढो सारङ्गीको होइन
शुभबहादुरको टिलिक्क टल्किने सेक्साफोनको प्रशंसा हुन्छ
पालाम, हाक्पारे र च्याबु्रङको होइन
हङकङ त रक सङ्गीतको प्रशंसक हो
हो, प्रशंसा गर्न पाइन्छ
तर, यो हङकङले सेक्साफोनबाहेक अरू बाजा देख्दैन
रक सङ्गीत बाहेक अरू सङ्गीत सुन्दैन
तेही सारङ्गीको धुन सुनेर हुर्केको
तेही पालाम, हाक्पारे र च्याबु्रङको बीचमा जन्मेको
ओ, मेरो प्रिय सङ्गीतकार
दोश्रो अन्तरामा पुगेपछि
मलाई विश्वास छ तिमीले सम्झिने छौ
लुङ्माहीम लुङ्रुप्पाको एकतमासको गीत
अथवा पौवासारतापको पल्टने पालामको भाका
र तेतिबेला मात्र बुझ्नेछौ सङ्गीतको सरगम
र तेतिबेला मात्र तिमी हुनेछौ असली सङ्गीतकार,
जब रेगी बब मार्लीले
जमैका गायो पुरै अमेरिकामा
तब सङ्गीतले विश्व हल्लायो
काला अफ्रिकनहरूको आँखा खुल्यो
नेल्सन मण्डेला जन्म्यो
र कालो ओबामा यतिबेला सेतो घरको यात्रामा छ
(यो समय ओबामाले जितिसकेका छन्)
रामेश र रायनहरूको गीतसङ्गीतले
जेबी टुहुरे र श्याम टमोटका गीतसङ्गीतले
कति मानिसहरूले बुझे आफ्नो जिन्दगीको मूल्य
खोकु छिन्ताङको गणेश इजम र शिव सुब्बा
इः इहिनेर हङकङमा छन्
जीउँदो शहीदमा रूपान्तरण भएर,
 
अम्बर गुरूङ र अमगसिंह गिरी
'नौ लाख तारा उदाए' भन्दै किन रोए गीतमा ?
हो, धेरै सङ्गीतकारहरूले मेरो औंला मात्रै हेरे
त्यो सूर्य देखेनन्
र 'हम्से पुछो ना' भन्दै नाचिरहे
अझै पनि गायकहरू
गाइरहेका छन् बुर्जुवा प्रेमकथा
उता दशौं हजार मानिसहरूको दुःख बिर्सेर
यता हाम्रो सामुहिक कथाव्यथा बिर्सेर
विश्वमा छरिएका
उत्पीडितउपेक्षित मानिसहरूको विपक्षमा
गीत गाइरहेका छन् गायकहरू
सङ्गीतकारहरू सङ्गीत भरिरहेका छन्
र गीतकारहरू आँखा चिम्लेर गीत लेखिरहेका छन्
मिटर र अनुप्रास मिलाउँदैमा
यदी कोही गीतकार हुने भए
मीठो स्वर बनाउँदैमा
यदी कोही गायक हुने भए
अथवा बाजा बजाउन जान्दैमा
यदी कोही सङ्गीतकार हुने भए
किन जन्मिनु पर्थ्यो बब मार्लीले ?
किन जन्मिनु पर्थ्यो गोपाल योञ्जनले ?
किन जन्मिनु पर्थ्यो ब्लुज सङ्गीतले ?
किन जन्मिनु पर्थ्यो झलकमान गन्धर्वले ?
किन जन्मिनु पर्थ्यो रूविनले ?
हो, तेसकारण हङकङले
मिटर र अनुप्रास मात्रै मिलाइरहेको छ
मीठो स्वर मात्रै बनाइरहेको छ
र एकोहोरो बाजा मात्रै बजाइरहेको छ !
 
सा रे ग म प ध नि
नि ध प म ग रे सा
यो सात सुरमा सात संसार हुन्छ
यो सात संसारमा सात ब्रम्हाण्ड हुन्छ
तर हिजोआज सङ्गीतकारहरूले बिर्सेका छन्
जीवनको लय
बिर्सेका छन् माटो र धानका गीत
बिर्सेका छन् हलो र किसानका गीत
बिर्सेका छन् झुपडी र सारङ्गीका गीत
बिर्सेका छन् आफ्ना गोडाहरूको चाल
बिर्सेका छन् सल्लाघारीको धुन
बिर्सेका छन् लेकाली खोलाको आवाज
बिर्सेका छन् मादल, डम्फू र धिमे
बिर्सेका छन् ढोल, झ्याम्टा र च्याब्रुङ
बिर्सेका छन् पञ्चेबाजा, मुर्चुङ्गा र बिनायो
तेसैले म यो स्टिलको जङ्गलमा
असली सङ्गीतकार खोजिरहेको छु
किनभने मैले सुनेको छु
धेरै सङ्गीतकारहरू
मजस्तै आइडी किनेर
हङकङ छिरेका छन् अरे
मजस्तै डिपेन्डेट भएर
हङकङ छिरेका छन् अरे ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by Ram Yakthumba Idhingo on December 28, 2010
निरन्तरताको कामना जय होस, सेवारो ।

Posted by hangyug on November 30, 2008
sudip ra chandrabir g,
thanks for your comments.tapaiharu ko maya le hami bacheka chuwn.

Posted by sudip samip on November 29, 2008
Hangyug g ko yati saral kavita! Manparyo, yasta kavita aru pani padhna paun.


Posted by chandrabir tumbapo on November 29, 2008
dai kabita lamo r ramro6


Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
हाँस्ने कसरी म तिमी बिना ?
बाँच्ने कसरी म तिमी बिना ?
नीरस रंगमञ्चमा एक्लै
नाँच्ने कसरी म तिमी बिना ?
अधूरा अनन्त रहरहरु
साँच्ने कसरी म तिमी बिना ?

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
707114
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com