Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : May 12, 2012 | Author : युवराज नयाँघरे
Category : Essay / निबन्ध | Views : 705 | Rating :

  
युवराज नयाँघरे

   किनारमा छु रगते आहालको !

   सधैं त काठमाडौं छोडेर घरै पुग्थें दशैं मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मन । थच्चिएं यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दशैं हेरौं ! यसको पोल्टामा थच्चिनेका दशैंमा मिस्सिउँ र मनाउँ आँफै पनि ।

   नौरथाको अन्तिम दिन हो यो ।

   नवमीको दिन । बिहानै पुगेँ म दक्षिणकाली । जाने उत्कण्ठा पुरानै हो । बल्ल तारतम्य मिल्यो यो पालि । बिहानको चारैबजे जाने मेलोमेसो, त्यहाँ पुग्दा घामले सारीचोलो लाएर नाँचिसक्यो छमछमी । बाटाको जाम, भीडभाड अनि दोहोरीलत्ता मान्छेले सजिलै पुग्न दिए पो ! पुगियो, गनिमत भो यै ।

   बाटैदेखि भेट्छु एकतमासको मार हनाइ ।

   बटुल्न आएको छु शान्ति, चकमन्न, मौनता र सुनसानले दिने ज्ञानको अर्थ । मूर्तिमा लिपिएको रङ, मूर्तिमा खिपिएको कला र मूर्तिमा ओर्लिएको चरित्रले दिने दीक्षा जान्न आएको छु । मेरा निम्ति धर्म त्यै हो, अध्यात्म त्यै हो र दर्शनको गहन तरङ्ग त्यै हो ।

   धेरैबेर नमन गरेँ दक्षिणकालीलाई ।

   'हाम्री कुलकी आमा हुन् दख्खिन कालीमाई । तिनलाई बर्सेनी गएर भेट्नु !'

   सम्झन्छु आमाले भनेको ।

   हाम्रो पुर्खाको मान्यता यस्तै शक्तिको सेरोफेरोमा रहँदै आएको छ । त्यो उपासनाले बलशाली बनायो र भनिरह्यो-'तिमी अघि बढ !'

   थाहा छैन-त्यो मौनतामा मानिसले कति शक्ति पायो, कति ऊर्जा सङ्कलन गर्यो र कति तागत बिस्तार गर्यो । हो, शक्तिपीठ पुग्ने क्रम रोकिएको छैन अद्यपि ।

   बसेको छु आँखा चिम्म गरेर ।

   मानिसहरू घन्ट बजाइरहेका छन् । कल्याङमल्याङ बढिरहेको छ बेस्सरी । धूपको बास्नाले नाकलाई लाछलुछ पारिरहेकै छ । नशामा नौलो भावको लुकामारी हुन छोडेको छैन । भीडभाडमा मन थिचिन्छ धेरै खेप । 

   हेर्दाहेर्दै नयाँ परिवेश उम्लिरहेछ ।

   आँखाले रगतका बाच्छिटामा नुहाइरहेको छ घरीघरी ।

   आजैको दिन किन रोजेको हुँला मैले ? यो रगताम्मे दिनै किन खोजेको हुँला मैले ? यो रगतपच्छे दिनै किन छानेको हुँला मैले ?

   बोका, कुखुरा, पाडा र हाँसका रगतले आहालमय छ मैले टेकेको मन्दिरको पटाङ्गिनी । रगतले बोकेको रातोभित्रको रङमा अरु जम्मै रङ बिलाएका छन्, हराएका छन् र समाहित छन् । यी घोलिएका रङले मलाई आफ्नोअर्थ र मूल्यका चौर औंला ठड्याएको देख्छु म पटकपटक ।

   जुत्ता, धेरै पर खोलेर आएथेँ मैले ।

   खुट्टाका घुँडासम्म रगतका सिर्का र बाच्छिटाले लत्पताएका छन् । जताततै रगतका टाटा र थोप्लाथोप्लीले एउटा दिगमिगभित्र आउने सबैखाले विचारको चित्र आउँछ, शब्द आउँछ र तर्कना आउँछ । भुावरी उठ्छ पटकपटक ।

   हजार दृश्य नपढी भएकै छैन एकजोर आँखाले ।

   त्यसो त यो नौदिनभरि देशका शक्तिपीठमा निरन्तर छ रगतलीला । त्यो पढेको वा झिल्काझिल्कीले छोएकै हो छातीमा । अहा, यसरी आँखैले देखिएको थिएन भने नि हुने-यसअघि । 

   यो पीठको सबै सत्तलमा निधार रागाएका बाहुनहरू चण्डी भट्टयाइरहेका छन् । दुर्गासप्तशती पढ्नेका घोक्रा सुकिसकेका देखिरहेछु म । देवी भागवत पढ्नेका चिमचिमे आँखामा तलमाथि गर्छ चस्माको डन्डी ।

   यी हरेक घामपानीमा दृष्टि पुर्याइरहेकै छन् मेरा आँखाले ।

   रगत बाहेक क्यै नभएको पटाङ्गिनी ! ठाउँठाउँमा गाडिएको छ मौलो । धेरै ठाउँमा मौलो गाडिन सक्छ भन्ने अनुमानमै पनि मार हानिएको छ । रगतले देखाइरहेको छ-कम भो मौलोको सङ्ख्या !

   एउटा जुल्फेले आफ्नै उमेरको पाडोको घाँटी मुनिको किल्किले समाएर चुप्पीले काट्यो स्वाट्ट ! अनि पाडोको लामो कण्ठनली तानेर वरिपरिका मूर्ति पखाल्यो रगतको धारोले । शरीरमा रगतको अभावले जिउँदो पाडो ढल्यो गर्ल्याम्म । उता निर्जीव मूर्ति रक्तस्नानले उज्यालियो झन्झन् ।

   ढुङ्गाले तरबार चम्काउनेहरू थिए । चुप्पी, खुँडा र चुलेसीमा साँध लाउनेहरू थिए । तिनका अनुहारमा रगतको उम्लाइ थियो त्यत्तिकै चमकदार । बालुवा, ढुङ्गा र चकमकले टलक्क टल्केका खुकुरीका धारमा आफ्ना अनुहार हेरेर ती भन्थे-'आज चैँ ढालिन्छ !'                      

   कुखुराका भाले रेटिरहेका देखिन्थे किशोरका हुल । तिनका शरीरमा पुसंत्वको एउटा बिरुवासम्म उम्रिएको थिएन-तर ती मार हान्न र भाले रेट्न खुब डटेका लाग्थे । मृत्यु र जीवनको-एकदमै नमिल्ने खोलो बगिरहेथ्यो यहाँ ।

   टाउको छुट्टयाइएका कुखुराका मुख एकातिर देखिन्थे प्याकप्याकी पारिरहेका । अर्कोतिर छटपटाइरहेका हुन्थे गिँडिएका ज्यान । कुनैकुनै त दशहात परसम्म उच्छिटिएर गई उफ्रिरहेका हुन्थे । गति भनेकै त्यही । टाउको र ज्यान छुट्टीँदा त त्यो ऊर्जा छ भने-सिङ्गो जीवनमा कति धेरै हुँदोरहेछ सामर्थ्यको लय !

   मैले हेरिरहेँ रगत ओकलिरहेका कुखुराहरू ।

   रगतको खोलो छ वरपर । आहालजस्तो ठाउँ, रगतको आहाल । रगत आँफै जमेर दलदल छ । जम्न नसकेको तह बगेको छ खोलाको धारमा । हाड्याइँदो रङ बोकेर छेवैको नदी कुदेको छ तल....तल...

   एउटी युवती कसोकसो हुत्तिएर परी रगतको भासमा । ऊ आत्तिएर कराई र ओठबाट रगतका विरुद्घ भुत्भुताई केही शब्द । त्यो आवाजमा धर्म र पापको विवेचना कति आयो ? पूजा गर्न मन्दिर आएकी नारीसँग कुनै प्रश्न गर्ने साहस बटुलिनँ मैले ।

   घन्टी बजाउँछु म ।

   रगतको टाटोले रालो नै लाटो छ घन्टीको । बोल्न सकिरहेको छैन ऊ । आवाज थुनिएको छ रगतको लतपतले । घन्टीलाई पूरै छेकबार लाएजस्तो-रगतको छिटा र लेस्याइलो स्पर्शले । टड्कारो आवाज रगतले निलेछ घन्टीको-लोसे र सुस्त स्वर आउँछ मुस्किलले ।

   मन्दिरमा चढाइएका हरिया पात छन्-रातै पल्टिएका । फूलमा अरु रङ चढेको छ रगतको । हरिया पातले मौलिकता गुमाएर रगतको रङमा हाँसेका छन् ती ।

   रगतपच्छे मौसममा उम्रेका पो थिए कि ती ?

   पटाङ्गिनीपूर्व बोका लिएर उभिनेहरू छन् लामबद्घ । हातमा डोरी लिएर रगतका आँखा, मन र संवेदनामा उभिएको हुनुपर्छ तिनले । धमाधम मार हानिन्छ । एक, दुई र अन्त्यमा एकको पछाडि दुई शून्य हालेर पनि पुग्दैन । झण्डै चार वा पाँच अङ्क उभ्याएर अरु त्यस्तै सुन्ना नहाली धरै पाइन्न । मारको सङ्ख्या गन्न नि समय खर्चिनुपर्ने हुन्छ ।

    असरल्ल टाउका देख्छु बोकाका ।

    आँखा हेरिरहेका, खुल्ला । ट्वाल्ल, आकाश हेरिरहेका । जिब्रो टोकिरहेका र कान हल्लाएका एकाधले । ज्यान र टाउका अलग पार्नेका कुइनेटादेखि कम्मरसम्म रगतको धोईधाई छ । छिटा देखिन्छ मुखभरि । कान, नाक, जर्नी वा आफ्नै गर्धनसम्म । रगतले पुछपाछ गरिएका तिनका अनुहारले रगतमा पौडिएर आएको प्रमाणपत्र देखाउँछन्, हामीलाई ।

    सिरिङ्ङ हुन्छ मनको हरेक कुनाकाप्चा ।

    तलबाट घाँटी रेट्नेले रगत भेला पार्छन् थाल, कचौरा र बटुकामा । अनि पातमा रगतका तीनचार थोपा मन्साएर ढोग्छन् । उता ढलिसकेको हुन्छ एउटा जीवन त । रगतको आहालमा अरु थोपाथोपी थपिएर अग्लिएकै हुन्छ दलदल ।

    एउटा केटो आउँछ कुद्दैकुद्दै ।

    उसले समाउन खोजेको चङ्गा मेरै अगाडिको रगतको दलदलमा खस्छ स्वाट्ट । चङ्गा लिएर रगते भासबाट बाहिरिएपछि खिन्न हुन्छ ऊ । एकातिर चङ्गा हात परेको विजयी मुस्कान त छ नै । फेरि रगतले लत्पतिएको चङ्गा उडाउन खोज्दा नउडेपछि-भएको खिन्नताले उसलाई विरक्त तुल्याउँछ । ऊ घरीघरी टकटकाउँछ रगतलाई । कागजमा टाँसिएको रगत पनि गरुँङै हुँदोरहेछ हावाका लागि । लत्पतिएको चङ्गा क्यै गरी उड्दो रहेनछ ।  

    'बेइमान रगत ....!'

    चङ्गा नउडेपछि सराप पायो रगतले, किशोरबाट ।

    कान, आँखा, नाक र मन गतिमान् छन् मेरा यतिखेर ।

    नजिकै कुखुरा, बोका पोलेको चर्को गन्ध मेरा आँखाको बाटो भएर पुग्छन् नाकसम्म । त्यसपर अर्को शक्तिशाली इन्दि्रयले यी सबै दृश्यलाई रेखा दिएर, आकार दिएर र रङ दिएर लेखिरहेको छ फटाफट । अनि पो मलाई उतार्न सजिलो भएको छ यतिखेर ।

    बढिरहेको छ घाम ।

    दिनसँगै बढिरहेको छ रगतको आहाल । त्यो हुनुको अर्थ हो-मानिसहरू थपिए यहाँ । चहलपहल बढ्यो । अरु हानिए तरबार । खुकुरी, चुलेसी र खुँडाहरू अरु चले । निकै धारिला हतियारको प्रयोग छिटोछिटो भएको हुनुपर्छ ।

    बाक्लिएको छ रगते दलदल । कम भएको भने होइन । तरल सुक्दा बाक्लो हुन्छ नि, थोरै भएको भन्ने कसरी ?

    'मलाई मेरो मने चाहिन्छ !'

    एउटी सानी केटी भक्कानिएर रुँदै बोली ।

    मने अलिक अघि उसको बाबुले छिनालिसकेथ्यो । सानाको खुशीभन्दा ठूलाको सन्तुष्टिले जित्ने ठाउँमा त्यो 'मने' को अर्थ थिएन ।

    हो, छेवैको रगते आहालमा थपिएथ्यो एक तह । म हेर्छु -नजिकै परेवाका साना बच्चाहरू रगतमा लत्पतिएर कुनाकाप्चामा गरिरहेछन् चिउँचिउँ । प्वाँख उम्रेका परेवा नि रगतमा टाँस्सिएका चामल, तिल र जौका गेडा सक्तैनन् टिप्न । हेर्छन् मात्र । तिनलाई लाग्दो हो-यी दानामा जीवन छैन, बरु छ मृत्यु ।

    शरीरका पहेँला भुत्लामा उडानको वेग भरिनु त कहाँ हो कहाँ ! रगतको लतपतले ती कलिला परेवा थच्चिएका छन् बरु ।

    ऐनाजस्ता टलक्क टल्केका खुँडा घरीघरी धोइन्छन् रगतका सिर्काले । चारै कोणमा उठेका छन्- खुकुरी र खुँडा । साना, लामा, छोटा वा मझौला अनेक आकारका छन् ती हतियार । तर सबैले बोलेको भाषा उही छ, सबैको उपस्थिति उस्तै छ र हरेकको मूल्य एकै छ ।

    रगतको थलथल !

    मैले यतिखेर उपत्यका भित्रका मैतीदेवी, म्हेपी, नरदेवी, नक्साल, वसन्तपुर, भद्रकाली सम्झेँ । जहाँ यही दृश्य र चरित्रका उस्तै चहकिला तस्वीर देख्न पाइन्छ ।

    ओहो, कति छिटो आउँदो रहेछ मृत्युको चाल !

    अलिक अघि मात्र बासिरहेको रातो भाले दुईतिर छुट्टीईसकेछ कति चाँडै । भर्खरै भित्तामा सिँगौरी खेलिरहेको जखमले बोको दुईतिर बाँडिइसकेछ कति छिट्टै । केही अघिसम्म पात ठुँगिरहेको कलेजी रङको हाँस दुईतिर बाँडिइसकेछ कति हतारमा ।

    रगतका आहालमा टेकेर वल्लो र पल्लो छेउ गरिरहेका आइमाई र केटाकेटीको भीड छ चौपट्टै ।

    आहालमै उभिएर मन्त्रोच्चारण गर्नेका अनुहार पढिरहेछु म । आहालमै टेकेर फूल छर्कनेका आवाज सुन्छु म । आहालमै फड्को मारेर बत्ती बाल्नेका ओठमा छरिएका खुशी र सन्तोष पढ्छु म । 

    रगतले घेरिएको सानो पटाङ्गिनीमा युवतीका गोरा पैतालामा टाँसिन्छ डरलाग्दो आलो रगत । तिनका आँखामा कति प्रतिशत अँध्यारो र कति प्रतिशत उज्यालो ��"र्लियो यतिबेला ?

    रगतले अर्थ्यएको भाषा हुँदोरहेछ एउटै ।

    एउटी अधबैँसेले मूर्तिलाई चढाएको स्याउ गुडेर खस्यो रगतकै लतपते दलदलमा । त्यसलाई नाकनिक गर्दै टिपी उसले । अनि निकै पटक पुछी सप्कोले । फेरि धोई तलको खोलामा गएर । मास्तिरकै रगत बगेथ्यो खोलामा पनि त । निकै पुछपाछ गरी उसले । खोई, उसको मनले मानेन । कर्याम्म टोक्न ओठसम्म ल्याएकी त्यो स्याउ तलै राखी । त्यत्तिक्कै रह्यो त्यो । रगते आहालबाट उडेर आएका झिँगाले घेरिएको छ त्यो स्याउ, अब त !

    म धेरै बेरदेखि हेरिरहेको छु-रगतको उकालीओराली । मान्छेको चाप थपिएको छ झन् । भीड कति धेरै ! भीडभाड बढेको यो पनि हो-अब खुँडा र तरबार चलेका अनि बोका ढलेका खुब देख्न पाइन्छ ।

    अलिक अघिसम्म एकै हातले मार हानिरहेको त्यो जुल्फे पनि थाकेर अहिले त दुई हातले छप्काइरहेछ बोका । थकाइबाट जानिन्छ बगेको रगते नालीबेली ।

    उसले गरेको गफ सुन्छु-'म एकै हातले छप्काउँथे पैला । बिहानभरि त एकै हातले छिनालेकै हो नि !'

    जे होस्, रगतको आहालमा थपिएको छ केही अरु ।

    एउटी सानी केटी निकै अघिदेखि पर-पर सिँढीतिर केही खोजखाज गरिरहेकी देखिन्थी । उसका टाउकामा थियो सानो मजेत्रो । उसले निहुरेर टाकनटुकन पैसा खोजेकी लागिहेथ्यो मलाई ।

    कुनबेला-कुनबेला ऊ उभिएकी रहिछ मेरा छेउमा ।

    उसले दसतिर आँखा घुमाएर पैसाका कन्चाकन्ची भेला पारिरहेकी प्रष्ट भो । 

    'दाइ, पैसा दिनु न !'

    ऊ उभिइरही मेरा अघिल्तिर ।

    मेरा छेवैमा थिए धोती फेरिरहेका वृद्घ ब्राह्मण । उनले आफ्नोकमीजबाट झिके एक रुपियाँको डबल । डबल केटीको हात परेन । गुड्दै गएर लत्पतियो रगतमा ।

    ऊ अँध्यारिएर दगुरी डबल लिन ।

    रगतमा चोबलियो डबलको एक भाग । ऊ सिन्काले तानिरहिछ पैसा । तर डबल त झन्झन् गाढिन्छ रगते दलदलमा । ऊ त्यो डबल झिक्न चारैदिशा घुमिसकी ।  

    औंलाले पैसा छुन डराइरहेकी त्यो केटीका पिँडुलाभरि रगतका छिटा र दलदलले छोइसकेको छ । तर उसले झिक्न सकेकी छैन डबल । उसको कन्चट र नाकेडाँडीमा चिट्चिट् छ पसिनाको । आक्रोश, आकुलता र आशाले घेरा हालेको छ उसको अनुहारमा ।

    मैले पूर्वपट्ट देखेँ, बलियो बाबु आफ्नो किशोर छोरालाई सिकाइरहेछ कुखुराको भाले रेट्न । भालेले पहिला त केटालाई ठुँगेर बच्न खोज्यो । तर हतियारका सामु रगत नबग्ने कुरै भएन ! खुट्टा समाई अँठ्याइदियो बाबुले । छोराले टाउको राख्यो खुकुरीमा अनि गर्धन दबायो ढुङ्गाले । मूल हड्डी भाँच्चिएपछि छोराले छिनाल्यो भाले । उसले रिसले भालेको रगतले छेउछाउका सबै मूर्ति पखाल्यो ।

    मरेको भाले झुण्ड्याएर र्फकंदा किशोर बोलिरहेको थियो-'साला, तेरो सारा फुर्ति यो रगतै त हो नि !'

    रगत खाएर अघाइसकेका थिए सबै मूर्तिहरू । रगत पिएर सबै मूर्तिहरू तृप्त भइसकेका थिए ।

    बिहानको दस-एघार बजेको हुनुपर्छ अहिले । जुन वेग, जुन तीव्रता र जुन आँधीसाथ रगतको भेलबाढी आएको छ-यो ठाउँ मात्र होइन सारा देशकै मूर्तिहरू परिपूर्ण भइसकेको हुनुपर्छ ।

    'ढाडिएर बसेका होलान् !'

    मूर्तिहरू हेर्दै मनको उत्तर फर्काउँछु म ।

    जुँगाको रेखी बसेको एउटा तन्नेरीले बोकालाई छप्काउन खोज्यो । खुकुरी गर्धनमा परेन, पर्यो खुट्टामा । बेस्सरी करायो बोका ।  

    'ए खानका काल, देवीले बोकाको खुट्टाको रगत खाँदिनन् । गर्धनकै रगत चाहिन्छ !'

    झ्वाँक्कियो कन्पारा फुलेको छेवैको मान्छे ।

    ऊ अब भगवान्लाई चढाउने गर्धन छिनाल्न लागिपर्छ । एक पटक, दुई पटक, तीन पटक । उफ् ......बल्ल चार पटकमा छिनालिन्छ बोका । यस बीचमा बोका कराएको र हल्लीखल्ली मच्चिँदा वातावरणमा उत्तेजना फैलिन्छ बेस्सरी । हारजितको प्रतिक्रिया हरेकको ओठमा झुन्डिएको देख्छु ।

    एकै छप्काइमा बोका नछिनेको वेदनामा तन्नेरीको अनुहारमा आएको प्रहारको तुफान देखेर धेरै वृद्घका छातीमा कम्प छुटेको हुनु पर्छ । म त हिंसाको ठूलो हुण्डरी आएको अनुभूतिमा परें त्यस घडी । छ्याक्छ्याक् भएको गर्धनबाट रगतको मुस्लो पनि बग्यो छरिएर । मूल फुटेको बगरजस्तो ।

    गन्जागोल थपिएको छ पटाङ्गिनीमा ।

    रगत सुक्ने र थप्ने क्रम निरन्तर छ । पटक पटक रगतका छिर्का थपिन्छन् । स-साना खोल्सी भएर आफ्नोनयाँ रुप बनाएको देखिरहेको छु म यहाँ । नदी बन्छन्, सुक्छन् र फेरि अनौठो रुपमा यो दलदलले आकाश निर्माण गर्छ ।

    सानो कालो पाठीलाई पछाडि दुई खुट्टा समाएर बसेको वृद्घले भन्यो-'ए केटा, पाठीलाई पर्सी-पर्सी !'

    खुकुरी समाएकै केटाले कचौराको पानीले पाठीलाई छर्कियो । पाठी त मौन । कहिले कहिलेदेखि होस गुमाइसकेको छ उसले । गर्धन तन्काएर बसिरहृयो ।

    'ए केटा, पाठी चल्मलाइन त । मार नहान् । भगवान्ले नै नमानेजस्तो छ !'

    उनीहरू खुकुरी दापमा राखेर चुरोट खान थाले ।

    मसँग आज रगतको हिसाबकिताब मात्र पो भो' ! आधादिन चैँ रगते आहालको किनारले दिएको तस्बीरले मेरो मन भरियो टम्म । कान त्यसैले भरियो । आँखा त्यसैले छोपियो । मनभरि यी रगतका गीत, सङगीत र स्वरमा थल्लिएँ म ।

    मेरो छेउमा एउटा जखमले गनाउने बोको ठीक पारिएको रहेछ छिनाल्न । म पर-परका हाँस, कुखुरा, पाडामा आँखा फालिरहेथेँ । छेवैको रगत लीलामा बेखबर रहेछु म त ।  

   'लौ बाबु, बोका पर्सी-पर्सी !'

   सानो केटाले पानीले छ्याप्यो । बोकाले आङ हल्लाएर पानी फाल्यो, गर्धन हल्लाएर जीउ चलायो र कान हल्लाएर पट्पट् पार्यो ।

    'लौ, भगवान् माने । अब खुकुरी चला !'

    चलि त गो खुँडा, बोकाका गर्धनमा ।

   मैले हेरिरहेँ, रगतका अरु धेरै थोपा खसे । थोपा-थोपामा जीवन थियो । संसारले बोकेको जीवन थियो । यो संसारमा सबै खालका चरित्र थिए । तर अब थोपा भएर सुक्छ कट्कटिँदो, कक्रिँदो र रातो टाटो !

    गर्धन तन्काएर बसेका बोकाका लाम छन् । उठेका छन् खुँडा । तरबार हावामा टल्केर भुइँतिर बज्रिन तम्तयार छन् ।

   घ्वाप्प ! छ्वाक्क !! यत्ति दुई आवाजमा बोका, पाडा वा कुखुराका गर्धन छिनालिन्छन् ।

    रगत बग्दा त आवाज नहुने-बगिसकेपछि पो होहल्ला । संसार यही प्रतिक्रिया दिन बसेको छ । गर्धनमा तरबार पुगिसकेर आउने आवाजपछि नै बोल्दो रहेछ संसार ।

    धेरै बेरदेखि तरबार छेउमै रहेँ म ।

    खुाडा र चुलेँसीका धार हेरीहेरी बसेँ । खुकुरीका सेता चम्चमाइ र रगतले लत्पतिएका धार छेउमा रहेँ । संख्या गन्न थालेपछि गुण बिर्सिंदो रहेछ । रगते आहालमै थिएँ । हेर्न र तरङ्गित भई-भई कतिन्जेल समय फर्काउन सकिन्छ र ?

    भगवानलाई बलि चढाइएको थियो । पशुलाई मार हानिएको थियो । देउतालाई भोग दिइएको थियो ।

    यी सबै प्रमाण मेरै अघि भएथ्यो ।

    साक्षी थियो रगते आहाल !

    मैले आँखा खोल्दै, बन्द गर्दै सबै कुरा हेरिरहेँ । हरेक तरबार चलाइ हेरेँ । खुँडा उठाइ हेरें । खुकुरी हनाइ हेरें ।

    निकै अघिदेखि अनेक कौतुक अनुहारमा एउटा खैरो रङको विदेशी जताततै तस्बीर खिचिरहेको देखिरा'छु म । ऊ हतास छ, व्यग्र छ । कता-कताबाट आइपुग्यो मेरो छेउमा ।

    रगतको ठूलो खोलो यहीँ भएकैले यता तानिएको हुनुपर्छ ऊ । फटाफट क्यामेरा चलाएर एकछिन मौन बस्यो ।

    तीनचार पातमा रगतका थोपा चढाइरहेको एउटा बूढोतिर फर्केर विदेशीले सोध्यो- 'यो के गरेको ?'

    बोकाको रगते छिटाले मुख पोतिएको युवकले मुख खोल्यो ।

    'धर्म गरेको !'    

    'पाप चैं के त ?' विदेशीले क्यामेरा तेस्र्याएर सोध्यो ।

    सोध्नेले सोधेका कुरा सुन्ने मान्छे फेरि अर्को बोकालाई छिनाल्न उठाइरहेथ्यो खुँडा । म गुनिरहेथेँ उसका कुरा । प्रश्न गर्ने बाटो लागिसकेथ्यो ।

    मन्दिरछेउ थामिएनन् खुकुरी !




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Essay / निबन्ध category

चिन्ता गर्नुपर्छ
मृत्यु फरवार्ड
भोग
चाल्दै-चाल्दै जीवन धूलो !
भुँवरीमा भिखम
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
रातो राम्रो गुलियो मीठो
बाटो म्याद !
आँसु चुहेको कार्यक्रम
झिम्केको झोला
गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
नियात्रा इराकका रातहरू

    Links
Column / स्तम्भ

    Random Pick
हो,
मृत्युलाई बिर्सेर कायापलट फेर्न खोज्ने हामी मान्छे
दनदनी आगोले नजल्ने बिचार पनि-
एक दिन अवश्य मर्छ
हिटलर मरे
माक्स मरे

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622801
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com