किन ढाक्यो बादलुले, आज अन्तुको डाँडा
किन भाग्छ आफ्नै छाँया, आफैदेखी टाढा.. ।(अन्तर्मनको तरङ्ग)
परदेशको साहित्यकाशबाट आफ्नो कोमल भावनाको माई जोगमाई बगाएर सिर्जनारुपी फूल फूलाउँदै यस्का सुगन्धले लाखौं श्रोता अनि पाठकहरूलाई मन्त्रमुग्ध बनाउने ईलामे चेली अर्थात बुवा खडग बहादुर आङ्बुहाङ अनि आमा रुक्मणीदेवी आङ्बुहाङकी सुपुत्री गीतकार निलम आङ्बुहाङ राईको जन्म ईलामको समालबुङ्मा भएको हो ! उनै प्रखर नारी हस्ताक्षर गीतकार निलम आङ्बुहाङ राईको सांगितिक कोसेली गीतिएल्बम जुनी जुनी, भाग २ अनि गीती सङ्ग्रह 'अन्तर्मनका तरङहरू' अहिले मेरो हातमा छ !
पुरानो हुँदैन माया जुनी जुनी लाए पनि
बिर्सिदैन मायाले माया चोटै चोट खाए पनि.. (जुनी जुनी, भाग १)
करिब ६, ७ बर्ष अगाडि कुमार सानु र संजीवनीको स्वरमा गुन्जिएको यो गीतले एउटा ईतिहास नै कायम त गर्यो नै गीतकार निलम आङ्बुहाङ राईलाई एक सशक्त नारी गीतकारको रुपमा नेपाली संगीतको पृष्ठभूमिमा पहिचान दिलायो ! जुन गीति एलबममा समेटिएका आठवटा गीतका एकल गीतकार निलम हुन भने संगीतकार पनि एकल रुपमा अहिलेका जल्दा बल्दा संगीतज्ञ सुरेश अधिकारी रहेका थिए ! यो गीतले मात्रै होईन जुनी जुनी भाग एकका हरेक गीतहरूले श्रोताका मन-मस्तिस्कमा एउटा अविस्मरणिय छाप छोड्न सफल भएको छ !
स्कुले जीवन देखी नै लेखन यात्रा शुरु गरेका निलमका रचनाहरू विभिन्न पत्र पत्रीका तिर फुटकर रुपमा आईरहेकै थियो ! यस्तैमा बि सं २०५५ सालतिर ईलामबाट प्रकाशित 'ईलामे चेलीका रचनाहरू' (संयुक्त कवितासङ्ग्रह) मा प्रकाशन तथा त्यही प्रकाशित त्रैमासिक साहित्यिक पत्रीका मेची किनारको ब्यवस्थापक, प्रकाशकको जिम्मेवारी पनि कुशलतापूर्वक वहन गरिन । यसपछि उनका जुनी जुनी भाग १, (गीति एल्बम, २०६२) अन्तर्मनका तरङ्गहरू गीति सङ्ग्रह (२०६८) र जुनी जुनी भाग २ (गीति एल्बम २०६८) मा नै सार्वजनिक भईसकेको छ । यस अर्थमा उनी एक साहित्यप्रति समर्पित स्रस्टा हुन् । विभिन्न स्रस्टा र कलाकारहरूको उदगमस्थल ईलामले जन्माएकी निलम आफ्नो जन्मभूमि प्रति सदा सदा आभारी रहेकी छिन् । जीवन भोगाईको क्रमिक यात्रामा उनी जहाँ रहेपनि जहाँ गएपनि ईलामलाई आत्मसात गरेकी छिन् । आफ्नो गाउँघर उनी कदापी भुल्दिनन्, उनको अन्तस्करणमा ईलामको मायामा गुन्जिरहन्छ भावनाका निश्छल लयहरू यसरी-
पानी मिठो मेरो हजुर ईलाम बजारको
माया मिठो मेरो हजुर यो मन भित्रको.. (जुनी जुनी भाग १)
नागबेली बाटो पनि मेरो बाटो हेर्दो हो
अन्तुडाँडा विरहमा सुस्केरा फेर्दो हो
पंक्षी बनी उडी जाउँ कि स्वर्ग जस्तै मेरो गाउँ
जहाँ गए पनि मलाई प्यारो छ मेरो गाउँ.. (अन्तर्मनको तरङ्ग)
कुनै पनि सर्जकको लयात्मक अभिब्यक्ति हो गीत, चाहे त्यो आन्तरिक लयबद्ध गरेर कोरिएको होस् या मात्रा र मिटरमा लेखिएको होस् सबैभन्दा पहिले भावपक्ष नै सबल हुनुपर्छ । जुन निलम आङ्बुहाङ राईका गीतहरूमा सघन रुपमा उपस्थित रहेका छन । सरल, सहज शब्दहरूलाई एक कुशल कारीगरले खुबै कला कौशलको साथमा अत्यन्तै मेहनतको साथमा उनेको मोतीका माला झैं उनिएका उनका गीतका हरफहरूले जो कोहिको मनलाई पुलकित बनाउँछ । यसरी भावप्रधान गीतहरू सिर्जना गर्न सक्ने क्षमता राख्ने अहिलेका एक सबल नारी हस्ताक्षर निलम आङ्बुहाङ राई आफ्नो गीतहरूमा स्वच्छन्द भएर भावनाको सागर उराल्छिन-
डाँडापाखा छहराले तिम्रै गीत गाउँछ
छातीभित्र मुटु पनि तिमीलाई बोलाउँछ
सताएर नजाउ टाढा ए माया
तिम्रै लागि म आएँ यो धर्तीमा.. (जुनी जुनी भाग १)
उनको गीत साथै अन्य सिर्जनाहरू पढ्दा जति कोमल लाग्छ, उनलाई व्यक्तिगत रुपमा भेटेर गफ गर्दा ठीक्क मात्रै बोल्ने अनि कसैलाई नबिझाउने अत्यन्तै कोमल हृदयी लाग्छिन । माया गर्नु र केही पाउन खोज्नु एउटा कुरो हो भने कसैले गरेको गल्तीलाई माफ गर्न सक्नु आफैमा झनै महान कार्य हो । यसरी मन भरी गुनासाहरू बोकेर पनि कसैलाई खुशीसाथ आत्मियता दिन सक्नु भलै निश्छल मनबाट जन्मिएको कल्पनाको सीमा भरी होस् एउटा चेतना हो, सन्देश हो जुन गीतकार निलम आङ्बुहाङ राई आफ्नो गीत भरी भरी पोख्छिन-
भैगो मैले बिर्सिदिएँ, तिमीले दिएका चोटहरू
माफ भयो तिमीलाई भूलिदिएँ पिडाहरू..(जुनी जुनी भाग २)
कुनै पनि सफल पुरुषको पछाडि एउटी सबल नारीको हात हुन्छ भने झैं यस्तै एउटी नारी हस्ताक्षर निलम आङ्बुहाङ राईको सफलताको श्रेय केही हदसम्म उनको जीवनसाथी अर्थात श्रीमान लेखराज राईमा पनि जान्छ । परदेशको बसाई, सेनामा कार्यरत हुनुले विभिन्न स्थानमा जानु र पुग्नु पर्ने कार्य ब्यस्तताको वावजुद पनि निलम राईको यि साहित्यिक यात्रामा लेखराज राई जिको पूर्ण समर्थन र सहयोग छ । उनी एक सफल स्रस्टा मात्रै नभएर एक प्रतिभावान सुपुत्री एक धर्मपत्नी अनि एक ममतामयी आमा पनि हुन । जुन कुरोहरूलाई निलमले अति कृतज्ञताको साथ हरेक सिर्जनाका लहरहरूमा समर्पित भएर प्रेम भावना जन्माउछिन् अनि जुनी जुनी साथ रहने प्रण गर्छिन्, आग्रह गर्छिन्-
जीवनसाथी तिमीलाई छ मेरो कसम
नछोडी देउ यि हातहरू जनम जनम जनम
तिमीलाई देखुँ तिमीलाई भेटुँ हर साँझ बिहानी
मरेछु भने शिरमा रहोस तिम्रो तिम्रो हात सिरानी
सगैँ बितुन दिनरातहरू जनम जनम जनम जनम..(जुनी जुनी भाग २)
हुनता मैले गीतकार निलम आङ्बुहाङ राई जस्ती एक सबल स्रस्टाको सिर्जनामा केन्द्रित रहेर केही लेख्नु खोज्नुमा मेरो रहर मात्र हुन जाला या म उनको लेखन कौशलतामा न्याय गर्न नसकुलाँ । यसमा म आफुलाई एक समिक्षक होइन आफुलाई उनका सिर्जनाहरूका प्रसंसकको रुपमा राखेर लेख्ने जमर्को गरेको हुँ । जे होस गीतकार निलम आङ्बुहाङ राईका आगामी दिनमा यो साहित्यिक यात्राले अझै सशक्त रुपमा निरन्तर प्रगतिको शिखर चढ्दै जा��"स । यही हार्दिक शुभकामना सहित मेरो कलम बन्द गर्नु भन्दा अघि उनकै गीतका यि हरफहरू राखेर बिदा हुन चाहेँ ।
उकालीमा बिसाउनु हुन्न
अघि बढी रहु शिखर छुन
संघर्षसँग नहार्नु तिमी
यही नै हाम्रो एउटै चाहना.. ।(जुनी जुनी भाग २) |