Send us your Literature
no data

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 14, 2014 | Author : मगेन्द्र राई 'भोजपुरे'
Category : Memoir / संस्मरण | Views : 2090 | Rating :

  
मगेन्द्र राई 'भोजपुरे'

केही दिन अगाडिको प्रभातकालीन समयमा घामको उज्यालो रोशनी झ्यालको बाटो भएर मेरोछ्यानमा पल्टिरहेको ममाथि अबतरण हुनु अगावै कवयत्री कविता राईले जीवनप्रतिको आफ्नो दृष्टिकोण अधुरो महसुस गर्दै जीवनको परिभाषालाई  पध्यात्मक शैलीको कविता बनाएर प्रतिक्रियाकोरुपमा उचित जवाफको अपेक्षासहित आफ्नो फेसबुकको भीत्तामा यसरी पोखाइन् ।

 

"Life is a mirage,

And never quenching the thirst.

The quest of life

Remains unanswered.

 

Life is an illusion,

Running after one another

Can't get enough of it

Leaves you delusion

 

What is life?

Have you ever been thoughtful ?

Can anybody answer ?

I would be very thankful."

 

यानेकी,

जीवन एउटा मृगतृष्णा हो

कहिल्यै नमेटिने प्यास हो

जीवनप्रतिको जिज्ञासा

अनुत्तरित प्रश्न हो,

 

जीवन एउटा भ्रम हो

भाग्छन् बुर्कुसी मार्दै एकपछि अर्को

त्यतिले पनि पर्याप्त नभएपछि

अझै भ्रान्ती बनाइदिन्छन् तिमीलाई,

 

जीवन के हो ?

कहिल्यै बिचारशील भएको छौ तिमी ?

कस्ले दिन सक्छ यसको समाधान ?

जसको निम्ति म कृतज्ञ हुनेछु ।

   जवाफमा जुनकिरीको उपनामले साहित्यको रोशनी छरिरहने "नेत्र जुनकिरी"ले आफ्नो भेद आफैं खोल्दै घुमाउरो भाषामा यसरी प्रतिक्रिया लेखे- "जीवन त्रासदीले भरिएको तर आनन्दमयी मखमली (वहाँको जीवनसंगीनी)को हात रे" । मलाई चाहिं उत्तर नफुरेपछि Dr. Theodor Seuss Geisel को बिचारलाई साभार गरिदिएँ- "Don't cry because it's over, smile because it happened.” अनि, भिक्टर ह्यूगोले जीवनलाई फूलसँग दाँजी दिएपछि मलाई चाहिं जीवनलाई घटनाक्रमहरुको महाभारतको रुपमा दाँज्न मन लागेको छ । बिशेषत: हङकङ छिरेपछिका घटनाक्रमहरु । कति छिटो बित्न लागेछ १६ बर्ष यो भव्य शहरमा । चिप्लिएर/बगेर गए छन् समयहरु पिखुवा,ईखुवा, चिर्खुवा, यांगुवा र खकुवा, रावा अनि खोलाका असला, कत्ले र बुदुना माछाहरु जस्तै । साँच्चैसम्झेर ल्याउँदा  यो १६ बर्षको अन्तरालमा मीठाभन्दा तितै घटनाहरु ज्यादा घटे छन् ।

४१२ मिटर अग्लो ८८ तल्ले IFC 2 बिल्डिंगमा शीशा हाल्दा शीशासँग भूईंमा खसेर झण्डै फर्सी फुटाई भएको । ४८४ मिटर अग्लो ११८ तले ICC बिल्डींगमा कंक्रिट गर्दा भूईंमा रहेको रिगर साथीको सुचनाको आधारमा क्रेन अपरेटर चाईनिज सिफूले त्यत्रो कंक्रिटले भरिएको स्किप भाँडा मेरो टाउकोमा ल्याण्ड गराउँदा हेलमेटको कारण बालबाल बचेको । १५९६ मिटर लामो स्टोनकटर पुलको नट-वोल्ट कस्दा खुस्किएर झण्डै समुन्द्रमा खस्दा सामुद्रिक जीवजन्तुको आहारा बनेको । ताईफुनको समयमा मालिकलाई बिमानस्थलबाट पिकअप गर्दा तुफानले आफैंले हाँकिरहेको सवारी साधन अनियन्त्रित हुँदा चिंमा ब्रीजबाट खसेर  झण्डै एकै चिहान भएको । चालीस डिग्रीको चर्को घाममा  बार बेण्डिङ गर्दा हिट स्ट्रोक भएर मेसीनले हात खुट्टै झण्डै खाई  दिएको । काठकर्मी गर्दा इलेक्ट्रिकसले झण्डै हातै दुईटुक्रा बनाई दिएको । ग्रण्डिङ  मेसीनको डिस्क खुस्किदा झण्डै किलकिले छिनाई दिएको । वेल्डींग र ग्याँस कटिङ गर्दा सिलिण्डर पड्केर झण्डै चोक्टालाम्टा भएको । सयौं मिटर तल सुरुङ खन्दा बिशाल द ढुङ्गा खस्दा किचिएर घट्नास्थलमा सँगैको साथीले आफ्नै अगाडि देहत्याग गरेको । रिंगरको काम गर्दा फलामको चेन मध्याकासमा चुँडिएपछी भाग्दाभाग्दै ३ सिफूहरु ऐया भन्न नपाई यमलोकतिर बाटो तताएका । मालिक आर्मर गाडीमा घर फर्कंदा डठफट देखाउन हतारिएर जोडले फलामे मुलढोका खोल्दा ढोकै उप्किएर पल्टिंदा झण्डै अचार भएको ।

कथाहरु त कति हो कति!हाम्रो बाउबाजेले बर्मा र मलेशियाको जंगलमा लडेको लडाईंभन्दा मैले यी १६ बर्षमा मोलेको खतरालाई कम जोखिम मान्न सकिन्न । हुन त यसै बीचमा नेपालमा पनि मेरै गाउको माथ्लो घरे मुखिया बालाई पार्टीको कार्यकर्ताहरुले कंचटमा पेस्तोल तेर्साएर घर खाली गरि  गाउँ छाड्न बाह्रघन्टे अल्टिमेटम दिदै आफ्नै आँगनको बीच भागमा पार्टीको झण्डा गाडेको देख्दा आफ्नै मुटुमा कीला ठोकिएकाे भान हुँदा मुर्छा खाई दुईघन्टा होस फिर्न लागेको थियो रे । अनि त्यही रातको अँधेरी सुनासानमा पींडा सहन नसकेर सपरिवार झण्डै लेगुवाको झोलुंगे पुलबाट अरुण नदीमा हाम फालेको रे । आखिर दु:ख र सास्ती त जाहीताही  रहेछ हाम्रो लागि । तरपनि बाँचीबर्ती गईयो भने बुढेसकालमा नाती-नतिनीहरुलाई यही कथाहरु हाल्ने योजना छ, जसरी मैले मेरो छोराहरुलाई जन्मेको ६ महिना नपुग्दै नेपाल धपाईदिएर बाजे बजुको साथमा हुर्किरहेका छन् । निन्द्रादेबीको काखमा पुग्नु अगाडि मेरा बाले तिनीहरुलाई त्यस्तै एकादेशको कथा सुनाउँदो हो नानीहरुलाई । हामीलाई सपनामा देख्दो हो । अनि चिच्याउँदो हो । हामीलाई खोज्दो हो-बाबा, मम्मी भन्दै । तिनीहरु  पनि पछि हुर्की/ बढि घरबार गर्लान अनि हाम्रै परम्परा अनुसरण गर्दै जन्मेको ३ महिना नपुग्दै हामी काहाँ पठाई देलान् नेपालमा । यसमा अचम्म मान्न पर्ने के नै छ र ? तर दुले रेष्टुराहरुमा सँगै तोङ्बा तानेर छुट्टिएको साथीलाई हर्टस्ट्रोकले फनेरल हाउसमा पठाई दिएपछि अलबिदा गर्नुपर्दाका क्षणहरुले भने मनमा एक किसिमको बिरक्ती पैदा गरी दिन्छ । एकजना भाईले मेरो बुढ्यौलीले गल्दै गरेको ज्यानलाई देखेर व्यङ्ग कस्छन "आँच दाई तपाई त उमेरमा क्या लेंगचाई (हेन्सी) हुनुहुन्थ्यो होला ?" मन कटक्कै खान्छ, मन त जवानी भैरहन मन गर्दो रहेछ । अहो ! आफुले आफैंलाई हेर्न फुर्सत छैन यो ब्यस्त  शहर हङकङमा । कस्तो चटारो ! कस्तो हतारो ! अनि म एकदिन आफैंलाई ऐना अगाडि उभ्याउँछु । अहो ! धमिराले जस्तै खाई दिएछ मेरो जवानीलाई हङकङले ! १६ बर्ष अगाडि हङकङ छिर्दा धपधप बलेको कान्तिमय चमकदार मेरो चेहरा अहिले हावा फूस्केको भकुण्डो जस्तै मुजैमुजा परेर चाउरीए छ अनुहार त ! हजारौं रहरहरु फुलाउने/फलाउने र भाषा बोल्न सक्ने ती आँखाहरु कलेटी परेर झोलिए छन् । चिवेको जस्तो निख्खर चिल्लो-कालो कपाल त शिशीर यामको जाडोमा ट्याम्के र मैयुँले हिउँको बर्को ओढेर सेताम्मे भए जस्तै भैसके छन् मेरो टाउको पनि । खनिऊ र नेभाराको जरा जस्तै हात खुट्टा भरि फैलिए छन् शिरा-केसीकाहरु । निचोरिएको निबुवा जस्तो रसहीन कान्तिहिन ! खोई मेरो १६ बर्ष अगाडिको खाईलाग्दो जवानी र लोभलाग्दो ज्यान ? सायद डढाई पठाईएछ क्यार समय र जवानीलाई मंकीहिल र ताबिबीक्यूहरुसँगै! तनतनी पिईएछ क्यार जीवनलाई बियर र हुस्किका घुट्कीहरुसँगै ! फेरी देख्छु मस्तिष्कको ऐनामा स्पष्ट प्रतिबिम्ब आफ्ना बृद्दा बाउआमाको । एक्लो छोराको आगमनको बाटो हेर्दा हेर्दा थकित बनेर निभाई सके होलान आशाको दीयो अब त ? कस्ले पियाउँ छन् होला तातो पानी ? कसले गरी देलान् दबाई मुलो ? कस्ले ढाकि देला न्यानोले आंग मेरो बृद्ध बाउआमाको ? छोरो हुनुको कर्तब्य पुरा गर्न नसक्दा चिरीन्छ छाती पटक पटक । हिनताबोधले गलाई दिन्छ फाताकफुतुक अलिकति बचेखुचेका जोशहरुलाई । बाह्र बर्षमा त खोला पनि फर्कन्छ भन्छन । तर म त जब्बरे रहेछु । १६ बर्ष बितीसक्दा पनि कुनै छाँटकाँट देखिएको छैन । टस न मस गजधम्म छ जीन्दगी । १२ बर्ष ढुंग्रोमा लगाउँदा पनि नसोझिने कुकुरको पुच्छर जस्तै भएको छ जीन्दगी । उही चकाधौ, उही जीवनशैली । उही असन्तुष्टी । उही दु:ख उही सास्ती ।

प्रसंग १२ बर्षको कोट्टीएपछि अब म तपाईहरुलाई बाह्र बर्ष अगाडि घटेको एक भयभीत घटनाको रोमाञ्चकारी कथा हाल्न चाहान्छु जुन बाह्र बर्ष पश्चात पनि त्यो घटनाले अझै लखेटी रहन्छ मेरो मनलाई मस्तिष्कलाई ।

हङकङको नून खाएर सधैं नेपालको मात्रै सम्झनामा पागल भै रहने हाम्रो "हराम" सोचले हामी आफैंले आफैंलाई हङकङमा "भतुवा" स्थिति पुर्याएका छौं । बास्तबमा हङकङ अद्वितीय शहर हो । ११०४ वर्ग किलोमिटर (1104  sq.km.)  मा फैलिएर आर्थिक, भौतिक र विज्ञानिक रुपमा बैभव हासील गरेको करिब सभा सत्तरी लाख मानिसहरुको सुरक्षित घर पनि हो । इतिहास, कला, संस्कृतिको उदगम स्थल हो । हङकङको भूमिमा फेला परेका मध्य पाषण युग (4500-2500 BC) का ढुङ्गे ��"जारहरु, हान डाईनष्टी (206 BC-AD 220) देखि क्वींग डाईनष्टी (AD 1644-1911) का पुरातात्विक वस्तुहरुको प्रत्यक्ष दृष्यावलोकन गर्न पाईनाले  इतिहास, कला, संस्कृतिमा चासो राख्नेहरुलाई यो ठाउँ मक्का/मदिना हो भन्दा अत्युक्ती नहोला । शान्त समुन्द्र, त्यसको किनारमा उभिएको आकाश छेड्ला झैं भान हुने गगनचुम्बी भवनहरु । चारैदिशा रखवारी गरे झैं प्रतीत हुने हरियाली सुन्दर पहाडहरु चित्ताकार्षक छन् । उपत्यका झैं देखिने एकतिहाई भाग ज्वालामुखी चट्टानबाट बनेको तलाउमा उम्रिएको कमल झैं करिब २६० भन्दा बढि स-साना टापुहरु कम लोभलाग्दा छैनन । यीनै टापुहरु मध्ये हङकङको सुदुर पुर्बतिर अवस्थित Robinson Island (आँप चाउ), Crooked Island र पिंग चाउ टापुहरुतिर केही क्षण सयर गराउन चाहन्छु । केही क्षण फर्कौ 8 Dec. 2002 तिर ।

आउँदो आईतबार ३ वटा टापुहरुको भ्रमण कार्यक्रम छ, जाने हैन त ? तात्कालिन समयमा "त्यान्द्रो" उपन्यास निकालेर तहल्का मच्चाई रहेका उपन्यासकार दिल पालुंवा 'नेपाल कुस्सा'ले बालुवा फाल्दै गरेको बेल्चालाई जमीनतिर टेकाउँदै धारमाथि  दाहिने खुट्टा चढाएर क्षणिक विश्राम लिदै प्रस्तावको झटारो फ्याँके मतिर । यौटै कम्पनीमा काम गरेर मात्र बाँधिएको मीत्रता थिएन हाम्रो । परन्तु कलेज पढ़्दादेखिको मीत्रताको निरन्तरताको कारण वहाँले हरेक जसो कार्यक्रमहरुमा सम्झनु हुन्थ्याे मलाई । म प्रकृतिप्रेमी र भ्रमणको शौखीन "के खाेज्छस कानो, आँखो" भने झैं वहाँको भनाई सकिन नपाउँदै उत्सुकता प्रकट गरि हालें मैले । बेलिबिस्तार लगाउदै जाँदा आयोजक "हङकङ पत्रकार संघ" परेकोले नेपालीहरुको निम्ति सीमीत कोटा छुट्टाईएको रहेछ । त्यो पनि कलम दौडाउन सक्नेहरुका लागि मात्रै । अनि को को हुनुहुन्छ त नेपाली टोली भन्ने मेरो जिज्ञासा मेटाउँदै उहाँले भन्नु भो- क्रान्ति सुब्बा (अविरामको सम्पादक), देश सुब्बा (अपमानका लेखक), तात्कालिन कविता, गीत लेखेर चर्चामा चुलिएका सुरेन्द्र लिम्बु, कवि दिप निरीह, कवयित्री सानु ईजम, लेखक नन्द राई (प्रकाश कृष्ण बाक्सिला), यी नामहरु सुनि सकेपछि भने मैले निराशा प्रकट गरें । ममा त्यो मापदण्ड नभएकोमा,हाँसको बथानमा बकुल्ला हुन उचित नलागेर मैले दिक्दारी जनाएँ दिलजीलाई, तर त्यो भ्रमण औपचारिक नभएकोले कुनै अप्ठ्यारो नहुने बताउनु भएपछि भने मेरो अनुहारमा पुनः आशाको संचार गराई दिनु भो । बिभिन्न राष्ट्रका लेपत्रकारहरुसँग साक्षात्कार गर्न पाउने अवसरले पनि मनलाई लोभ्याई दियो । अन्ततः जाने निधो गरे शनिवार बेलुकी ।

भ्रमण तालिका आईतबार ८:१५ - ५:३० थियो । जम्मा हुने ठाउँ युनिभर्सिटी स्टेशनको बाहिरपट्टी । हामी भने बिहान ७:१५ जोर्डन एमटीआरमा भेट्ने योजना मुताबिक नन्द दाई र म तोकिएको समयमै देखा पर्यौं । केही छिनपछि दिलजी मुस्कुराउँदै टुप्लुक्क  आईपुग्नु भयो । क्रान्तिजी र वहाँको जीवनसंगीनीलाई केहीबेर कुरे पश्चात सुरेन भाईलाई रेलभित्रै भेट्ने मनसायले हामी रेल भित्र छिर्यौं । निर्धारित स्थान समयमा हामी त्यहाँ पुग्दा देश सुब्बा तथा वहाँकी अर्धांगीनी, दिप निरीह,सानु ईजमले उपस्थिति जमाई सक्नु भएको रहेछ । अभिवादन साटासाट, सन्चो बिसन्चोको शोधाशोध गर्यौं । घडीले ८:४० हिर्काई सक्दा पनि भेला भै नसक्दा चिनियाँहरु पनि हामी आम नेपालीहरु जस्तै समयको पर्वाह नगर्नेरहेछन् भन्दै म मनमनै मुरमुरिएँ । अन्ततः तोकिएको समयभन्दा आधा घण्टा अवेर गरेर चिनियाँ,अष्ट्रेलियाली,जापानी,कोरियन, तथा अन्य देशका लेखक तथा पत्रकारहरुको सहित करिब ५०-६० जनाको हुल HKJA  को झण्डा पछ्याउँदै Tolo Harbour  तिर पैदल रमाना भयौं । जहाँ यता पानीजहाज हाम्रो स्वागतार्थ प्रतिक्षारत थियौं । हामी रोमाञ्चित हुँदै Boat भित्र प्रवेश गर्यौं । यतिबेला घडीको काँटाले ८:५५ देखाई सकेको थियो ।

हिजोसम्म पारिलो घाम पोखिएको आज भने पानी पोखिनु पर्ने । सराप्नु सरापे क्रोधित मनल, मनमनै वेवकुफ मौसमलाई । डिसेम्बरको जाडो महिना । सिमसिम पानी त्यसमाथि समन्द्रको मुटु चिल्ने चिसो सिरेटो । छतमा बस्न सकिएन । जहाँबाट आँखाभरि धित मर्ने सुन्दर दृश्यपान गर्न सकिन्थ्यो । तथापि क्रान्तिजी क्यामेराको लेन्स तेर्स्याउँदै Boat को अगाडि भागतिर फड्को मार्नु भो । मैले पनि वहाँको पिछा गरें । एक चिनियाँ महिला पत्रकारले हामीलाई तत् स्थानहरुको जानकारी गराउँदै थिईन । हामीले ध्यानपुर्वक सुनिरहेका थियौं । केहीछिनमै दिलजी पनि आफ्नो लेटेस्ट मुभि क्यामेरा नचाउँदै आईपुग्नुभो । तत्पश्चात देशजी र दिपजी पनि हाम्रो हुलमा मिसीनु भो । हामीले सामुहिक तस्बीर खिचायौं ।  

नागबेली परेर लमतन्न सुतेको Tolo Harbour, छेउछाउमा देखिने मनोरम स-साना थुम्काहरु दिन त्यति हँसिलो नभए पनि मनमोहक देखिन्थे । सिरेटो सहन नसकेपछि हामी मुख्य भागमा छिर्यौं । भित्रपट्टी सानु, शुशीला,बालकुमारी बैनीहरु न्यानो हिटर ताप्दै माईकिंगमा कुरा सुन्दै मख्ख हुनुहुन्थ्यो । हामीले पनि बस्नको निम्ति यत्रतत्र आँखा नँचायौं । तर खाली सीट फेला परेन । अन्य केही जुक्ती नफुरेपछि जाडो पनि सहने, आँखाभरि भारी रमिता पनि हेर्ने भन्दै जाडोले लगलग काँप्दै पछाडिपट्टीको खाली भागमा भारी ज्यानलाई बिश्राम गरायौं ।

Boat अथाह समुद्रको छाती चिर्दै Robinson Island को निम्ति अगाडि बढि रहेको थियो । हामी रमाईलो कुराहरुसाथमा ठट्टाहरु गर्दै गन्तब्यको निम्ति प्रतिक्षारत थियौं । सबैजना गफ सुन्न सुनाउन फुर्सद नभएपछि म भने पछाडि फर्केर Boat ले उफारेको छाल निहार्नमा ब्यस्त भएँ । छालहरुको चर्तिकला खुबै मन पर्छ मलाई । अझ बीचबीचमा उर्लिएका ठुल्ठुला छालहरु मेरा भारी रमिताहरु हुन । लुकामारी खेल्न मन लाग्छ । ��"धि लहसिन मन लाग्छ । भिजाईदिन मन लाग्छ यी सुख्खा मनहरुलाई छालसँगै । क्षितिज कटाई दिन मन लाग्छ मनका आवेगहरुलाई छालहरुसँगै । बाध्यताका फलामे जन्जीर तोडेर हेलिन मन लाग्छ अनन्तसम्म छालहरुसँगै ।

घडीले १० बजेको संकेत गर्दा यात्रा जारी थियो । मभने छालहरुसँगै कल्पनाको संसारमा हराई रहेको थिएँ । बिस्तारै आँधीले छालहरुलाई धक्का मार्न थाल्यो । अथाह समुद्र उफ्रन थाले ।  हेर्दाहेर्दै सो छालहरुले हाम्रो Boat लाई एकैगाँसमा सिध्याई दिउँला झैं झम्टियो । अनि हामी बसेको ठाउँमा ह्वात्तै पानी पस्यो । अब भने हाम्रो कोकोहोलो मच्चियों । अनि हामी भिषण बिपत्तीमा फसेको अनुमान गर्यौं । भित्रपट्टीका रमाईलो कुराको माईकिंग गरि रहेको चिनियाँ महिला पनि माईक फालेर काऊमेंग(मलाई बचाउ!) को स्थितिमा पुगिन । पहाड जस्तै अग्लो बनेर उर्लिएको छालले पटक पटक छोप्न खोज्दा सपना झैं भान हुन्थ्यो । Daniel Defoe को Robinson Crusoe को खुबै याद आयो । उनीहरु त केवल काल्पनिक नायक थिए । हामी भने बिष्मयकारी घटनाको भागीदारी थियौं । पानीमा पस्नसाथ शीशा जस्तो सर्लक्कै पींधमा डुब्ने हामीलाई त्यत्रो अथाह समुद्रमा पौडिने कल्पना गर्नु "हत्केलाले घाम छोप्नु"सरह थियाे । अनि आफूमा पौडीने कला नभएको,पौडी  निस्केकोमा भिषण पश्चाताप लाग्यो । अनि अतितमा आफ्नै छिमलका १६बर्षे ४ ठिटाहरु मलामी जाँदा पौडीने कला नभएकै कारण अरुण नदीलाई आफ्नो भौतिक शरीर सदाका निम्ति चढाएको सम्झना तिख्खर बनेर आयो । सारा परिवारजन, नातागोता, साथीभाईहरु, देबी,देउराली,बनपाखाहरुको खुबै याद आउँदो रहेछ आपतको बखत । बिशेषत: श्रीमति र एकबर्षे नाबालक छोराको । नेपालमा भएको एक्लो आमाबाउको । समुद्रले Boat सहित हामी सबैलाई एकै गाँसमा निल्न खोजेपछि हाम्रो केही जोर चल्नेवाला थिएन । अलिकति कच्चा धैर्यता बटुलेर निरीह आँखा परिपरी डुलाएँ । क्षितिजमा यौटा मालबाहक जहाज सिवाय केही देखा परेन । Titanic Worldwide Blockbuster को ह्यांग��"भर शेष रहेको अवस्थामा त्यस्को पनि सम्झना ताजा गरायो । Titanic को याद चाहिं मैलेभन्दा क्रान्तिजीले गर्नु भो मुखै खोलेर ।

अब ईश्वरको भरोसाबाहेक कसैको भरोसा नलाग्ने भो । ईश्वरभक्ती चाहिं यस्तो बेला खुबै देखाइदों रहेछ,हुँदोरहेछ । आँधीले Boat लाई घरी ५० फिटमामाथि उफार्दा घरी ५० फिट तल भसाउन खोज्दा प्राण फुत्केला झैं हुन्थ्यो । छेवैमा दिलजीलाई पढें । उहाँको अनुहारमा अधैर्य पींडा एवं बेदनाको स्पष्ट भाव झल्कन्थ्यो । उता नन्द दाई त्योभन्दा सोचनीय, देशजी वाक्यहीन,क्रान्तिजी कान्तिहीन भने सुरेन भाईको कुरा नगरौं । भित्रपट्टीको खैलाबैला त्यस्तै । तथापि क्याप्टेनले साहस र धैर्यताकासाथ उर्लदों छालहरुसँग पौंठेजोरी खेल्दै गन्तब्यतर्फ अगाडि बढाई रहे Boat लाई ।  करिब २५ मिनटको कोकोहोलोपछि भने तुफानको गति मथ्थर हुँदै गयो । समुद्रले साँच्चिकै आफ्नो शान्तिपन देखायो । स-साना टापुहरु देखा पर्न थाले । यौटा त ठ्याक्कै शिवलिंग जस्तो देखिने अद्भुत टापु देखा पर्यो । बिस्तारै सबैको मुहारमा प्रसन्नता र मुस्कान छाए । सायद सबैले पुनर्जीवनको महसुस गरे होलान ।

यसरी हामीलाई बोकेको Boat करिब १०:४५ मा Robinson Island मा पुगेर किनारा लाग्यो । हामी ��"र्लिएर केही क्षण पैदल हिड्यौं । सो टापुलाई चिनियाँ भाषामा "आप चाउ" भनिदों रहेछ । जसको अर्थ पानीमाथि बसेको हाँस । हामीलाई पनि आकृति ठ्याक्कै त्यस्तै लाग्यो । ठीक पारीपट्टी केही अग्ला अग्ला घरहरु देखिए । सो सेन्जेन प्रान्तको "सा थाउ कोक"भएको चिनियाँ महिलाले बताईन । अनि हङकङका नं १ धनाढ़्य "लि का सीं" ले बिकसित तुल्याएको पनि थपिन । त्यहाँ आधा घन्टा चक्कर काट्दै सामुहिक फोटो खिचाएपछि १२ बजे Crooked Island मा Sea Food Lunch को लागि रेष्टुराँमा छिर्यौं । हात वा चम्चाको साहराले खाने बानी परेको " चप स्टीक" को राम्रो प्रयोग गर्न नआएकोमा हुनसम्मै समस्या र हाँसो भएको थियो । Lunch पश्चात फेरी घुम्ने र फोटो खिचाउने काम भयो । सो ठाउँमा यौटा Marine Police Office र यौटा जीर्ण मन्दिर बाहेक पुराना भग्नावशेषमा परिणत भएको खण्डहर घरहरु थिए । ठट्टा गर्नमा माहिर नन्द दाई र म बीचमा सो उजाड वस्तिको बिषयमा PhD गर्ने ठट्उली गर्न पनि पछि परेनौं । तत्पश्चात निर्धारित कार्यक्रम अनुरुप अपरान्ह १:१५बजे "पिंग चाउ" टापुको निम्ति तयारी भयौं ।

अब फेरी हामी चढेको Boat समुद्रमा पौडी खेल्न थाल्यो- पिंगचाउ आईल्याण्डको लागि । मौसममा त्यति सुधार नभएकोले हामीलाई पुनः पूर्व घट्नाले गाँज्न थाल्यो । मनमनै फेरी ईश्वरलाई पुकार्यौं । सायद पुकारको सुनुवाई भएछ क्यार ! करिब १५ मिनट पाश्चात ख़राब मौसमको कारण त्यहाँ जान नसकिने क्याप्टेनले घोषणा गरे । अनि Boat पश्चिम मोडिएर Grass Island तिर हानियो । हामीले शान्तिको शास फेर्यौं । एक चिनियाँ मीत्रले त्यहाँ बुद्दको स्तूप र गुफ़ा भएको जानकारी गराए तर त्यस्को अवलोकनको निम्ति कम्तिमा आधा घण्टा पैदल हिड्ने हिम्मत गर्नु पर्ने बताएपछि प्रतिकूल मौसमको कारण कसैले जाँगर देखाएनन् । त्यतिबेला घडीको सुईले २:५५ इंगित गरिरहेको थियो । हाम्रो Boat ३:५५ बजे Tolo Harbour फर्किने जानकारी आयो । अब त्यो जाडोमा बाँकी एकघण्टा कसरी बिताउने भन्ने पिरलो भो । हामी जतिसक्दो चाँडो सुरक्षित अवस्थामा कोठामा फर्कन चाहन्थ्यौं । हाम्रो आशय बुझेपछि आफ्नै भाडा तिरेर Public Ferry बाट साईकुंग हुँदै जान सकिने आयोजकले बतायो । केही क्षणको छलफल पश्चात त्यो बिहान आएको रुट नपर्ने सुरक्षित बाटो भएको निष्कर्षमा पुगियो । एकै स्वरमा सहि थाप्यौं Public Ferry मा जानका निम्ति । कस्तो खातिर लाग्दो रहेछ यो दुईदिने घामछाँया जस्तो जीन्दगीको?त्यतिबेला समय ३ बजेबाट उक्लि सकेको थियो । जाडो भगाउन हतार हतार कफी पियौं । अनि हर्षले पुलकित हुँदै Ferry चढयौं । लाग्थ्यो हामीले महान युद्ध जितेका थियौं ।

जीवन त यस्तो पनि त रहेछ । तब भन्न मन लाग्छ । सम्झँन मन लाग्छ-शिंग सियोंगलाई "In the end, it's not going to matter how many breaths you took, but how many moments took your breath away".




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
622797
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com