Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 22, 2014 | Author : अतित मुखिया
Category : Review / समिक्षा | Views : 1433 | Unrated

  
अतित मुखिया

ओल्लो किरात, ओखलढुङ्गा

गजलरुपी बज्र हत्केलाको आगो ताप्नु अगाडि गजल शब्दको आयतन नाप्नु उचित होला झैं लाग्यो । बिदेशी पराई समालोचकहरुले गजल शब्दलाई जे जस्तो अर्थ लगाए पनि स्वदेशी आफन्तहरुले लगाएको अर्थ नियाल्न अझै उचित झैं नै लाग्यो । बरिष्ट साहित्यकार एवं गजलकार मनु ब्रजाकिका अनुसार गजल शब्द अरवी भाषाको गजाल (एक प्रकारको मृग) गजाला (मृगका पाठा-पाठी) अथवा मद्यपी र सौर्न्दर्यप्रेमीको अर्थमा गजल नामाकरण भएको भन्ने पाइयो । (भावभुमि, गजल संग्रह अभिशप्त आशीष, अतीत मुखिया) । यसरी नै गजल बिधाका अनुसन्धानकर्ता डा. हरीभक्त नेउपानेका हेक्कामा गजल शब्द उर्दू भाषाको उपज 'गज'को मूलआशय सिद्धयोगी सन्तहरुको गेय चरित्रको पद वा उनीहरुद्वारा प्रस्फुटित दोहाहरु हुन भन्ने बुझाउछ । 'गज' शब्दभित्र लीन वा समाहित प्रसंगलाई गजल शब्दले खुलाउन सक्दछ भन्ने पाइयो--मनोमोदक कविता तथा गजल संग्रह, गजल खण्ड पृ.)। बरिष्ट गजलकार एवं साहित्यकार बुँद रानाको बिचारमा "गजल" हिजो यो नाम जसले जुराएको भए पनि आज यो आम अर्थात् ब्यापक हुन गएको छ । गजल अब कुनै खास जाति, सम्प्रदाय, भूगोलको सीमाभित्र सिमित रहेको छैन ।(भावभूमि, गजल संग्रह हत्केलामा आगो, बज्रकुमार राई)

गजल अनुसन्धानकर्ता डा. हरीभक्त नेउपानेले नेपाली माटोको परिप्रेक्षमा गजल बिधाको प्रबेशलाई कालक्रमका हिसाबमा तीन खण्डमा बिभाजन गरेका छन ।

. प्राथमिक अभ्युत्थानकाल बि.सं. १९४०-१९९२

. माध्यमिक बिस्तारकाल बि.सं. १९९३-२०३५

. आधुनिक बिस्तारकाल बि.सं. २०३६ देखि हाल सम्म

डा. हरीभक्तको यो काल बिभाजनसंग मेरो असमहति हैन । मेरो असहमति एवं आपत्ति भनेको उनले उल्लेख गरेको प्राथमिक अभ्युत्थानकालसंग हो । मोतीराम भट्टले रचना गर्नुभएको हिन्दी उर्दु र नेपाली भक्तिरसका गजल नै अभित्युथानकालका पहिलो पंतिका गजल हुन भनेर उल्लेख गर्नु भएको छ यो नै मेरो आपत्ति एवं असहमतिको बिषय हो ।

कृष्ण प्यारा तनसे मेरा देवकीनन्दन जो है

कंसके बधकेलिए मथुरासे गोकुल भेजा है

घोर सागरमे पडा है भक्त मोती आपका

उसकि सुध अब लिजिए जो आपबिन बेज्ञान है ।।१।।

 

सबै संसारले भन्छन् र मोतीराम प्यारा छन

जता हेरौं उतै मेरा नजरमा राम प्यारा छन ।।२।।

बि.सं.१९४० ताका मोतीराम भट्टद्वारा रचित उपरोक्त गजलहरु भन्दा हजारौं बर्षअगाडी देखि नै नेपालका बिभिन्न आदिवासि भाषामा अज्ञात पुर्खाहरुले रचना गरेका भक्तिरस तथा प्राकृत सौर्न्दर्यरसका अब्बल रचनाहरु रहेभएको पाइन्छ । केवल यो गजल शब्द मात्र नौलो हो तर यो बिधा हामी नेपालीका लागि नौलो होइन । यदि फारसी गजल शब्द अरबी कसिदा वा तस्बिब कै पछिल्लो रुप हो भने अरबी कसिदा र तस्बिब निर्माण हुनुभन्दा हजारौं बर्षपहिले नै नेपालको किरात भूमिमा साम्लो, सोलाङ/स्वलोङ, सलाक प्रचलनमा आइसकेको पाइन्छ ।

मुदि बोमे कोँ तेम बोमे कोँ

हिमदो-दोरदोपा पोम बोमे कोँ

जोलो पुँखि ल्ये मुपाखिकापा

साया ताया सोम बोमे कोँ ..... -कोइँच सलाक ��"ल्लो किरात

 

साम्पुक थाम्पुक चाक्नि पाइसुम्ने

किरावा यङदा छापाला लोइसुम्ने

चिकुवा चियुङकावा रोकथोक तातिन्ने

तायाङओ दोङदाङका ङे यङ पोइसुम्ने ।।  -किरावा साकेन्वा लाक्छाम, माझ किरात

 

मोप्मारो साङ सोलो साङ सोलो

निङवाफुमा  माङ छाङ छोलो

केमिङ्  सेसे  पोङ्  निमोओ

के मिङ साङ साङ साङ पोःङ्लःरो ।।   -याक्थुङ साम्लो, पल्लो किरात

 

यी सलाक, स्वलाङ लाक्छाम र साम्लोहरुको संरचनालाई नियाल्ने हो भने मोतीराम भट्टले हिन्दिमा रच्नुभएको गजल भन्दा कम छैनन् । माथी कोइँच ससि मुक्दुमको सलाकमा पहिलो सेरको अनुप्रासमा तेम र पोम अनुप्रास छन भने दोश्रो सेरको तुकान्ती अनुप्रासका रुपमा सोम देखिन्छ र सबै सेरहरुको अन्त्यानुप्रासमा बोमे को रहेको पाइन्छ अर्थात् तेम, पोम र सोम अनुप्रासमा बोमे को अन्त्यानुप्रास शब्दहरुले अलङ्कृत देखिन्छ । यो सलाक ब्रह्माण्डको सृष्टिको वर्णन गर्दै गाइने सलाक हो । यसरी नै किरावा साकेन्वा लाक्छाम स्वलाङमा पनि पाइसुम्ने, लोइसुम्ने र पोइसुम्ने अनुप्रासले सिङ्गारिएको पाइन्छ जो प्रकृति पुजामा गाइने लक्छाम स्वलाङ हो । पल्लो किरातमा चर्चित साम्लो पनि भक्तिरसले भरपुर साङ सोलो, छाङ छोलो र पोःङ्लःरो अनुप्रासमा सजिएको पाइन्छ । यसरी नेपाली किरातहरुले आफ्ना प्रकृति तथा पितृ पुजाहरुमा मुक्दुमि/मुन्दुमि/मुन्धुमि गेयबिधाका रुपमा यस्ता धेरै साम्लो/स्वलाङ र सलाकहरु हजारौ बर्षअगाडिदेखि स्रुति-स्मृतिका भरमा गाउदै आएको पाइन्छ । किरातहरु जस्तै अन्य आदिवासिहरुमा पनि यो बिधा रहेभएको सम्भावनालाई पनि नकार्न सकिन्न । यसैले विषय वा प्रसंगले आर्को अर्थ नलागेमा मेरो दाबि भनेको गजल शब्द मात्र नौलो रुपमा भित्राइएको शब्द हो बिधा भित्राइएको हैन । यो बिधा त हाम्रै माटोमा उर्भर रुपमा झाँगिएको बिधा हो । जसलाई हामी भाङ्राको लगौंटी ठानेर हेला गर्दै पराई जडाउरीका रुपमा ��"ढेको थोत्रो रेसमको कोटमा गर्व गर्दैछौं ।

अब म बज्र हत्केलामा बलेको गजलरुपी आगो ताप्न पट्टी लाग्छु । गजलकार अर्थात् मैले अर्थाउने भाषामा स्वलाङकार बज्रकुमार थुलुङ राईको गजल (स्वलाङ)हरु छन्दमुक्त देखिन्छन, कागतालीले कुनै बहरसंग मिल्न गए त्यो संयोग नै हुने ठानेको छु । कुनै पनि साहित्यमा पहिले त बिसुद्ध रचना जन्मन्छ र त्यो रचनाको वर्गिकरण गर्नेक्रममा बौधिक बिलासिहरुले जोड, घटाउ, गुणा र भागाका ब्याकरण मिसाउदै छन्द बर्ग जस्ता कुराहरुको निर्धारण गर्ने गर्दछन् । बज्रकुमार छन्दको बन्दले गजलको सुगन्ध घटाउन नचाहाने गजलकारको किस्तामा पर्ने र्सजक देखिन्छन् । मलाई पनि छन्दयुक्त सोत्तरहरु भन्दा छन्दमुक्त चुहाको फूल नै राम्रो लाग्छ चाहे त्यो अष्टबक्र हाँगाहरुमै किन फुलेको नहोस । क्रमबद्ध मेसो मिलाएर पलाउने सोत्तर भन्दा अष्टबक्र हाँगैमा भए पनि सुवास छरेर फुल्ने चुहाको फूल वरिपरि नै पुतली र भवराहरु झुम्ने गरेको मैले देखेको छु ।

यो संग्रह भित्र बज्रका अधिकांस सृजनाहरु बहुलबादि छन यस अर्थमा उनका रचनाहरु बिनिर्माणबाद तर्फआकर्षित पाइन्छन । बिनिर्माणको अर्थमा पनि स्रष्टा बज्रको मान्यता केवल बिनिर्माणकै लागि मात्र बिनिर्माण नभएर निर्माणका लागि बिनिर्माण हुनु पर्छ भन्ने मान्यतालाई उनका रचनाहरुले इङ्गित गरेको पाइन्छ । हुनपनि हो, गोठालाहरुले गोठ सार्नु मात्र बस्तुभाउको समस्याको समाधान होइन । बस्तुभाउले भरपेट चरन चर्नपाउनु पो समस्याको समाधान हो । ठिक यस्तै नेपालको सर्न्दर्भमा पनि संबिधान गठन, बिगठन र पुनरगठन हामी नेपालीको समस्या समाधान हैन । संबिधान निर्माण पो हाम्रो समस्याको समाधान हो । तर संबिधान बनाउन पठाएका सभासदहरु नै संबिधान बिमुख भएको देख्दा बज्र यसरी बज्र प्रहार गर्छनः-

नयाँ नेपालको दल पनि बिक्रिमा छ

बलिदानको प्रतिफल पनि बिक्रिमा छ

सभासदको बिल्लामा लेख्नै पर्ने भयो

समस्याको त्यो हल पनि बिक्रिमा छ ... (गजल १०७)

यसरी गजलमा प्रयोग भएका ब्यङ्ग्य हेर्दा बिरहका स्थुति र प्रसंसाका प्रसस्तीका छेकबार नागेर समाज सचेतनको ब्यङ्ग्यवाँण प्रहार गर्ने उनको निपर्णतालाई सह्राना गर्नै पर्दछ । केवल राजनितलाई मात्र ब्यङ्ग्य नगरेर जातिय बिभेद, लैङ्गिक बिभेद, धार्मिक बिभेद, नाताबाद कृपाबाद तथा अन्य सामाजिक बिभेद जस्ता थुप्रै बिसंगतिहरुको तीखो आलोचना गरेका छन उनले ।

यता नछो पर जा भन्थिन बजैले

यहाँ नआ घर जा भन्थिन बजैले ...(गजल ४३ जाति बिभेद माथीको प्रहार)

 

गाउँबाट सहर पस्ने लहर भोको भेटे

बिवसताको दीर्घरोगी सहर भोको भेटे ... (गजल ६१ भौगोलिक बिभेद माथीको प्रहार)

 

मेरो देशमा दिनभन्दा रात बढी भयो क्यार

देशीको भन्दा बिदेशीको हात बढी भयो क्यार ... (गजल ६५ बैदेशीक हस्तक्षेप माथीको प्रहार)

 

यहाँका देव देवालय पण्डितको कब्जामा छ

मेरो देउता थुन्ने मन्दिर फिर्ता लैजाउ ईश्वर .. (गजल ३३ धार्मिक बिभेद माथीको प्रहार)

 

बैदेशिक रोजगारीको खोट, सीमा काटेर बिदेशीनुको चोट थाहा हुँदाहुँदै पनि बिदेसिनेहरुको होडका कारण नेपाली माटो युवा बिहिन बन्नपुगेको रोष ब्यक्त गर्दै बज्र लेख्छनः-

युवाशक्ति बिदेशिने लामो लाममा भेटेँ

नेपालीको परिश्रम सस्तो दाममा भेटेँ

के गर्नु बेचिनुको मुल्य चुकाउनु पर्दा

धेरैलाई सडकको चर्को घाममा भेटेँ ... (गजल १००)  

 

स्रष्टा आफै पनि बिदेशिनुको पीडामा गुम्सिएका रहेछन । बिदेश हङकङका टापुहरुमा परिश्रमका केही समय उबारेर स्वदेशका समस्याहरु माथी कलम चलाई रहने नाताले उनको रोजगारीबाट उब्रेको समय स्वदेशकै निम्ति सदुपयोग भएको मान्नु पर्दछ । गजलका शास्त्रीय ढाँचा माया, प्रेमाकर्षा, यौन, सौर्न्दर्य, स्थुति एवं प्रसस्तीका पाटोलाई कमै महत्व दिएर राजनिति, सामाजिक, बर्गिय, जातिय, राष्ट्रियता जस्ता विषयबस्तु माथी बिशेष महत्व दिइएको पाइन्छ उनले यो हत्केलामा आगो गजल संग्रहमा । थुलुङ मातृभाषी बज्रकुमार, पछी सिकेको नेपाली खस भाषामा पनि उन्मुक्त प्रस्तुति दिन सफल देखिन्छन् । खाँटि गाउले शव्द, बिम्व एवं प्रतिकहरु खिपेर गजलका सेरहरुलाई तार्किक प्रस्तुतिका हारमा उभ्याउन सक्षम देखिन्छन ।

संरचनाका दृष्टिमा सवल पक्षः-

- उनका गजलहरुमा अनुप्रास, अन्त्यानुप्रस (काफिया)हरु अधिकांस पूर्ण अनुप्रासयुक्त छन ।

   एकाक्षरी अनुप्रासहरुको कमै प्रयोग गरेको पाइन्छ ।

- अन्त्यानुप्रासका रुपमा प्रयोग हुने तुकान्ति शव्द (रदिफ) छोटो छरितो सुहाउदो छन ।

- आदिका (मतला) देखि अन्तिका (मक्ता) सम्मकै सेरहरु समभावमा गाँसिएका छन ।

 

संरचनाका दृष्टिमा निम्छरा पक्षः-

- अनुप्रासीक बनाउने क्रममा कतै कतै जवरजस्ति शब्दसमायोजन गर्नु

- एकै गजलका सेरहरुमा लयको उचनिच हुनु

- केही अन्तिका (मक्ता) सुरु भावका अनुपातमा कम्जोर देखिनु

जस्तै सिद्धहस्त साहित्यकारको साहित्यमा पनि केहिनकेही तलमाथी त परेकै हुन्छ । तर यो हत्केलामा आगो गजल सङ्ग्रहमा असल पक्षका अगाडि कम्जोर पक्ष गौंढ देखिन्छ । यो बज्रकुमारको पहिलो पुस्तक भएरै पनि सवल छ । यसले "हुने बिरुवाको चिल्लो पात" भन्ने नेपाली उखानलाई सार्थक बनाएको देख्छु म । यसरी नै हत्केलामा आगो राखेर मुठी कस्ने तागत पलाई नै रहोस उनमा । अन्तमा बरिष्ट गजलकार एवं साहित्यकार दाजु बुँद राना कै शब्द सापटी गर्दै

अलि बेग्लै अलि भिन्दै छाँटलाई जिन्दाबाद

हत्केलामा आगो बोक्ने आँटलाई धन्यबाद ।।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
मैले हङकङमा नेपाली साहित्यका यात्राहरू निक्कै नै फस्टाई रहेको महशुस गरि रहेको छु । यहाँ साहित्य सर्जकहरूको जमात पनि निकै बाक्लिरहेको छ । यो हङकङको नेपाली समाजमा, नेपाली साहित्य अनुरागिहरूको आकाश निकै उज्वल हुनेछ भन्ने बिश्वास पनि लिएको छु । म पनि यो जमातको सागरमा हेलिने चाहना एवम कोशिस गर्दा गर्दै ब्यस्त रोजिरोटिको दगुराईले साहित्य सृजनाबाट किनार तिर धकिलिएको छु । यस हङकङमा रोजिरोटिले जे चाहना लिन्छ हामिहरूले त्यसैको पछाडि लत्रक्क लुत्रक्क हुँदै पछ्याउनु पर्ने रहेछ । मलाई पनि यस पिडाले लेख-पढमा निकै नै आक्रान्त पारिरहेकोछ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
673271
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com