टोकियो — जमैकाकी एलेन थम्पसन–हेराले शनिबार महिला १०० मिटर दौड जितेर आफ्नो ओलम्पिक उपाधि रक्षा गरेकी छन् । उनले अहिलेसम्मकै दोस्रो उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक हात पारेकी थिइन् । टोकियो ओलम्पिक रंगशालामा थम्पसन–हेराले दुरी पार गर्न १०.६१ सेकेन्ड लगाइन् । सेली–एन फ्रेजर–प्राइसले १०.७४ र सेरिका ज्याकसनले १०.७६ सेकेन्डबाट रजत र कांस्य जितेपछि जमैकाले यो इभेन्टमा ‘क्लिन स्विप’ नै गर्यो । थपम्सन–हेराको समय इतिहासकै दोस्रो उत्कृष्ट समय हो । स्वर्गीय फ्लोरेन्स ग्रिफिथ–जोयनरले सन् १९८८ को सोल ओलम्पिकमा १०.४९ सेकेन्डको समय निकालेकी थिइन्, जुन अहिलेसम्मको विश्व कीर्तिमान पनि हो । ‘आफ्नो उपाधि रक्षा गर्न सकेकोमा म निकै उत्साही छु । मेरो छाती दुखेको छ तर म निकै खुसी छु,’ थपम्सन–हेराले भनिन् । यसै वर्षको सुरुआतमा उनले ओलम्पिक उपाधिका लागि आफ्नो लक्ष्य नरहेको बताएकी थिइन् । त्यसकारण उनले पिडौंलाको चोटमा राम्रोसँग उन्मुक्ति पाउन सकेकी थिइनन् । ‘दुई महिनाअगाडिको स्थिति हेर्ने हो भने म आज यहाँ हुन्छु भनेर सोचेकी थिइनँ,’ स्वर्णधारी थम्पसन भनिन् । जुनमा भएको ओलम्पिक छनोटमा फ्रेजर–प्राइस पछाडि रहेर तेस्रो हुँदै उनले दौड टुंग्याएकी थिइन् । मैले धैर्य गरेको थिएँ, आफैलाई विश्वास गरेको थिएँ, भगवानप्रति विश्वास गरेको थिएँ, मेरो वरिपरि रहेको टिम धेरै बलियो थियो, मैले यति छिटो दौडुँला भन्ने सोचेकी थिइनँ,’ थम्सनले भनिन्, ‘१०.६१ सेकेन्डसम्म पुग्नुका पछाडि धेरै कथा छन् । २०१६ मा यस्तै दौडिन्छु जस्तो लागेको थियो, मैले अलिक चाँडो खुसी मनाएजस्तो लाग्छ । तर यो दिन आउँछ भन्नेमा म थिएँ । म अझै योभन्दा छिटो दौडिन सक्छु । श्राेत: इका












