२७ फागुन २०७४, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको महाअभियानमा प्रतिपक्षीको सहयोगी भुमिकाको अपेक्षा गरेका छन्। आइतबार संसद बैठकमा विश्वास मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले प्रतिपक्षीलाई प्रतिपक्षी हुँ भनेर अल्मलिने सुविधा नभएको भन्दै सहमति र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। हामी अहिले सामान्य अवस्थामा छैनौं, पक्ष र प्रतिपक्ष भएर सरकारलाई दम्भ देखाउने ठाउँ छैन। प्रतिपक्षीलाई पनि प्रतिपक्षी हुँ भनेर अल्मलिने सुविधा छैन्’, ओलीले भने– ‘प्रतिपक्षी सहयोगी हुनुपर्छ। अत्यन्त मेलमिलाप र शान्तिपूर्ण बाटोमा, समृद्धिको बाटोमा अघि बढ्नुपर्छ।’ सरकारले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा जोड दिएको जानकारी गराउँदै उनले सद्भावका साथ अघि बढ्नुको विकल्प नभएको बताए। शान्ति, स्थिरता र स्थायी भएमात्रै विकास गर्न सक्छौं भन्दै उनले भने– ‘समृद्धिको महाअभियान सरकारको मात्रै होइन, हामी सबैको साझा यात्रा हो। सबै यस भावनाका साथ अघि बढौं।’