रोनाल्डोको ह्याट्रिकसँगै बराबरी……….

असार २, २०७५  काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट फ्रिकिक गोलसहित आफ्नो ह्याट्रिक पूरा गरेपछि पोर्चुगल र स्पेनबीचको रोमाञ्चक खेल ३–३ को बराबरीमा सकिएको छ । खेलको निर्धारित समय सकिन दुई मिनेट अघि गोल गर्दै रोनाल्डोले खेल ३–३ को बराबरीमा ल्याएका हुन् । यसअघि स्पेनविरुद्ध एक पनि गोल गर्न नसकेका रोनाल्डोले योसँगै पोर्चुगलका लागि छैटौँ र आफ्नोको करियरको ५१ औँ ह्याट्रिक पनि पुरा गरे । उनी स्पेनविरुद्ध विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यसअघि खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो । रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै स्पेनविरुद्ध पोर्चुगलका लागि पहिलो गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा नाचोले रोनाल्डोलाई लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले खेलमा पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, डिएगो कोस्टाले पोर्चुगलविरुद्ध स्पेनका लागि बराबरी गोल फर्काएका थिए । सर्जियो बुस्केटको पासमा गोल गर्दै कोस्टाले खेलको २४ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफ सकिन लाग्दा पोर्चुगलले फेरि अग्रता बनाउन सफल भएको थियो । रोनाल्डोको प्रहारलाई स्पेनका गोलकिपर डेभिड डे गियाले रोक्दा गल्ती गरेपछि पोर्चुगलले पुनः अग्रता बनाएको थियो । खेलको दोस्रो हाफमा स्पेनका स्ट्राइकर डिएगो कोस्टा र नाचोले केही मिनेटको अन्तरालमा गोल गरेपछि स्पेनले खेलमा पहिलो पटक अग्रता लिएको थियो । कोस्टाले खेलको दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएसँगै नाचोले अर्को गोल थप्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यमा रोनाल्डोले बराबरी गोल फर्काउन सफल भएका हुन् । योसँगै चार विभिन्न विश्वकपमा गोल गर्ने रोनाल्डो पहिलो पोर्चुगिज खेलाडी बनेका छन् । त्यस्तै, लगातार आठ मुख्य प्रतियोगितामा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार