प्रहरीद्वारा ताप्लेजुङमा याक्थुङ (लिम्बू) समुदायका युवाहरू घेराउ

  सुकमाया तुम्रुक

८ साउन, काठमाडौ ।

ताप्लेजुङमा रहेको मुक्कुमलुङ्मा (पाथिभरा) क्षेत्रमा याक्थुङ (लिम्बू) समुदायका युवाहरूलाई जनपथ र सशस्त्र प्रहरीहरूले घेराउ गरेको भर्खरै ताप्लेजुङ सदरमुकामबाट सरू सिंघकले जानकारी दिएका छन् । सरकारको तर्फबाट यति होल्डीङ्स कम्पनीले मुक्कुमलुङ्मा क्षेत्रमा पाथिभरा गुरुयोजना तयार गर्न डिटेल प्रोजेक्ट रिपोर्ट बनाईरहेकोमा त्यहाँका स्थानीय आदिवासी लिम्बू समु्दायको सहमतिविना व्यापार व्यवसाय गर्न काम गरेको भन्दै प्रतिरोध गरेपछि अन्दाजी ५०, ६० जनाको संख्यामा रहेका याक्थुङ (लिम्बू) हरू घेराउमा परेका हुन् ।

मुक्कुमलुङ्मा याक्थुङ (लिम्बू) समुदायको कुल देवता भएको र सो क्षेत्रको नाम पाथिभरा नभई मुक्कुमलुङ्मा हुनुपर्ने र मुक्कुमलुङ्माको साँस्कृतिक, मुन्धुमी आधारमा संरक्षण र विकास हुनुपर्ने भन्दै मुक्कुमलुङ्मा वरिपरिका याक्थुङ थरगत संस्थाहरू र सरोकारवाला लिम्बुजन्य संस्थाहरू सम्मिलित मुक्कुमलुङमा संयुक्त संघर्ष समिति पनि निर्माण भएको छ । संघर्ष समिति गठन भएपश्चात् याक्थुङ समुदायको मागसहितको पत्र जिल्ला प्रशासन कार्यालय, नगरपालिका, गाउँपालिका, पाथिभरा विकास समितिलगायतका ठाउँहरूमा वुझाएको थियो । केही दिन अगाडि मात्र मुक्कुमलुङ क्षेत्रको कार्यस्थलमा पुगी मुक्कुमलुङ क्षेत्रमाथी अतिक्रमण नगर्न र तत्काल काम कारवाही रोक्न चेतावनि पत्र समेत दिएको थियो । काम रोक्छौ र काम अगाडि वढाउदैनौ भन्ने आश्वासन पाएपछि याक्थुङ युवाहरू फर्केका थिए । स्थानीय प्रशासनको वलजफ्ती प्रयासबाट पुनः काम सुरु गरेकोले आज संघर्ष समितिका युवाहरू यति होल्डीङ्सले काम गरिरहेको क्षेत्रमा पुगेर भनाभन भएपछि ठूलो संख्यामा रहेका जनपथ र सशस्त्र प्रहरीहरूले यो समाचार तयार गर्दासम्म घेरेर राखेका छन् ।
याक्थुङ कुल देवता मुक्कुमलुङमा युमामाथि भएको अतिक्रमणलाई रोक्न र सो को संरक्षणको लागि वनेको संघर्ष समितिमा मुक्कुमलुङ्मा क्षेत्र वरिपरिका याक्थुङ थरगतहरू ताप्मादेन, अन्छङ्वो, नुगो, लिङ्खीम, मादेन, येङदेन, तुम्वाहाङफे, पालुङवा फुरुम्वो, इजम, वोखिमलगायत र लिम्वुजन्य संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, याक्थुङ लेखक संघ, लिम्बू पत्रकार संघ, लिम्बू विद्यार्थी मञ्चको सहभागिता रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार