९९ औं साहित्य श्रृंखलामा “रुदिना” र “म को हुँ” पुस्तक सार्वजनिक

  टोपबहादुर याक्खा

२५ अक्टोबर, हङकङ– साहित्यकार शिव प्रधानको “रुदिना” र लिलाराज खतिवडाको “म को हुँ” उपन्यास सार्वजनिक संगै, रचना वाचन तथा समीक्षा गर्दै ९९ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डनस्थित नयाँ पेजको कार्यालयमा आयोजित पहिलो चरणको कार्यक्रममा हङकङबासी साहित्यकार शिव प्रधानको उपन्यास “रुदिना” र नेपालका साहित्यकार, पत्रकार एवं चित्रकार युवराज खतिवडाको उपन्यास “म को हुँ” सार्वजनिक गरिएको थियो । हङकङ भित्रकै कथाब्यथाहरु समेटिएको शिव प्रधानको उपन्यास “रुदिना” माथी साहित्यकार दाजु गुरुङले टिप्पणी गरेका थिए भने लिलाराज खतिवडाको “म को हुँ” उपन्यास बारे साहित्यकार तथा चित्रकार रमण गुरुङले आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा साहित्यकारहरु दाजु गुरुङ, गीता अधिकारी, चन्द्र मादेन, रोशन याक्सो, पूर्णिमा शाह, नारायण भण्डारी, रमण गुरुङ, लाल बहादुर गुरुङ, आयुषी क्षेत्री, विष्णु इङ्नाम, दिपेन्द्र राई लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए ।
श्रृंखलाका सह–संयोजक दिपेन्द्र राईद्धारा संचालित कार्यक्रमको अन्त्यमा संयोजक सुनिता गिरीद्धारा सृजना वाचनसंगै उपस्थित सम्पूर्ण साहित्यिक मनहरु प्रति धन्यवाद दिदै आगामी नोभेम्बरको १०० औं श्रृंखलालाई विशेष बनाउँन हङकङबासी साहित्यकार, बुद्धिजिवी, समाजसेवी तथा पत्रकारहरुलाई उपस्थितिसंगै सहयोगका लागि अपिल गरेकी थिइन ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि श्रृंखलाले विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा साहित्यिक स्रष्टाहरुलाई पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार