हामी दिदी वहिनी सहकारीको ११औं वाषिर्क साधारण सभा सम्पन्न

  सुकमाया तुम्रुक

काठमाडौं ।

हामी दिदी वहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं साधारण सभा विश्वभरिमा नै फैलिरहेको कोभिड-१९ महामारीको बावजुद पनि निजी कार्यालय शान्तीनगर नयाँ बानेश्वरमा मंसिर २४ गते उद्घाटन भई ३० गते समापन भएको छ । गोमादेवी आङदेम्बेको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल नारी चेतनशील संघका अध्यक्ष श्रीमती प्रभा ढुंगेल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि ढुंगेलले हामी दिदी बहिनी सहकारी संस्था लिमिटेड ११औं वर्ष प्रवेश गरेको अवसरमा सहकारी का सम्पूर्ण परिवारलाई शुभकामना दिदै सदस्यहरुको सहकार्य भन्नाले संगै मिलेर काम गर्नु भन्ने भएकोले नै समान उद्देश्य, समान पेशा अनि समान व्यवसाय र वर्गका मानिसहरु संगसंगै मिलेर आफ्नो आर्थिक तथा सामाजिक विकासका लागि गरिने कार्यलाई नै सहकारी भन्न थालिएको हुनुपर्दछ । र बचत तथा ऋणको कार्य गर्ने गरि खोलिएको संस्था भएको हुनाले प्रकृति अनुसारको कार्य गर्नु सहकारीको धर्म हो” भन्दै आगामी दिनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

साधारण सभामा संस्थाका अध्यक्ष गोमादेवी आङदेम्बेले सञ्चालक समितिको वाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मूल मर्मलाई आत्मसाथ गर्दै आर्थिक अवस्था कमजोर भएका समुदायका सदस्यहरुको आर्थिक उन्नति तथा जीवनस्तर उकास्न सेयर सदस्यहरुको आयस्तर वृद्धि कार्यक्रम सञ्चालन गर्ने, स्वरोजगारी सृजना गर्न सहुलियत ऋणहरु प्रदान गर्ने संस्थाको लक्ष्य रहेको, न्यून आय भएका विभिन्न वर्ग, लोपोन्मुख जनजाति तथा साना व्यवसायीहरुलाई सदस्य बन्न प्रोत्साहित गरी उनीहरुलाई सर्वसुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराई उद्यमशील बनाउने, सेयर सदस्यहरुको छोराछोरी मध्ये आर्थिक अवस्था कमजोर भएका मध्येबाट एकजनालाई छात्रवृत्ति दिने कार्यक्रम, वृद्धवृद्धाहरुको साथै अनाथ, अपाङ्ग र असहायहरुको सहयोगको खातिर सदस्यहरुलाई राहत प्याकेज कार्यक्रम, स्वास्थ्य नै धन हो भन्ने कुरालाई आत्मसात् गरी संस्थाका सदस्यहरुलाई लक्षित गरी सम्भव भएसम्म निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्ने, महिला दिदी बहिनीहरु, आर्थिक रुपमा सबल भएको खण्डमा मात्र स्वतन्त्र र सशक्त हुने कुरालाई आत्मसात् गर्दै ढाका बुनाई तथा सिलाई सम्बन्धि तालिम सञ्चालन गर्ने, संस्थाका सदस्यहरुलाई आइपर्ने आपत्विपद  (प्रकृतिक प्रकोप ) लाई मध्यनजर गर्दै दैविक प्रकोप राहत कोष कार्यक्रम, सदस्यहरुलाई बचत र ऋणको ब्याजदरमा सुविधा र सहुलियत प्रदान गर्ने, संस्थाबाट लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्यहरु राखेको जानकारी दिए ।

त्यसैगरी कोषाध्यक्ष कामना सेलिङ ले ”बचत गरौं स्वाबलम्बी बनौं” भन्ने नाराका साथ सदस्यहरुलाई उद्यमशिल बन्न प्रेरित गर्दै उनीहरुलाई आर्थिक रुपमा समृद्ध बनाउने परिकल्पनाका साथ २५ जना आदिवासी महिलाहरु मिली यस हामी दिदी वहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वि.सं. २०६६ साल चैत्र ६ गते तत्कालीन डिभिजन सहकारी कार्यलय हाल काठमाडौं महानगरपालिका सहकारी विभागमा विधिवत रुपमा संस्था दर्ता भई वि.सं. २०६७ साउन १ गतेबाट विधिवत रुपमा संस्थाको कारोबार भएको अवगत गराइएको थियो । देशमा खुलीरहेको विभिन्न प्रकारको वित्तीय संस्थाहरुको तीव्र प्रतिस्पर्धा अनि परिवर्तनशील आर्थिक नीतिहरुको साथ संस्थापक जम्मा २५ जना सदस्यहरुबाट चार महिनाको समय अवधिमा संकलित रकम रु.३,३८,३६६।- बाट संस्थाको कारोबार शुरु गरेर आजसम्मको निरन्तर प्रयासबाट हाल सहकारीको आ.व. ०७६/०७७ को अन्त्यसम्ममा सेयर पूजी २० प्रतिशतले वृद्धि भई जम्मा रु.६०,६३,०००।-, बचत तर्फ रु.४३,०९,७०६।- संकलन गर्न सफल भएको र, आ.व. ०७६/०७७ को अन्तमा यस संस्थाको जगेडाकोष तर्फ रु.१,०५,३१७ रहेको छ भने, आ.व.०७६/०७७ को अन्त्यमा बैंक मौज्दात र नगद मौज्दात गरी जम्मा रु.१,४७,०१८।- रहेको छ ।

यसरी संकलित रकम मध्ये विभिन्न प्रकारका व्यवसायीहरुलाई रु.१,००,४३,३१५।- लगानी गर्न सफल भएको यस संस्थामा गतवर्ष संस्थापक सदस्यहरु सहित महिला सदस्य १८२ र पुरुष सदस्य ६९ गरी जम्मा सदस्य संख्या २५१ जना भएकोमा सहकारी ऐन, २०७४ र नियमावली, २०७५ ले जारी गरेको एक व्यक्ति एक सदस्यताको नीतिको बावजुद पनि नियमानुसार सदस्य संख्यामा वृद्धि भई आ.व. २०७६/०७७ को अन्तमा महिला सदस्य संख्या २४० र पुरुष सदस्य संख्या ७५ जना गरी जम्मा ३१५ जना पुगेका जानकारी गराइएको थियो । यस संस्थाले सदस्यहरुकै व्यवसायिक अभिवृद्धिका लागि साथै संस्थाका सदस्यहरु माझ हुने विभिन्न किसिमका सामाजिक क्रियाकलापमा अग्रसर भई काम गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा लगानी गरेका छौं । साना साना व्यापार तथा व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने कार्यमा लगानी गरेका छौं । संस्थाको हितको लागि सहकारीको मूल मर्मलाई आत्मसात् गर्दै, आर्थिक विकासको लागि निरन्तर कोशिस गरिरहेका छौं ।

गत आ.व.का कार्यक्रमहरुलाई निरन्तरता दिदै संस्थाको दैनिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउने सदस्यहरु मध्येबाट उत्कृष्ट सदस्यहरुको छनोट गरी प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । आ.व.०७६/०७७ मा पुरस्कृत हुनेमा उत्कृष्ट नारी बचत तर्फ भावना निरौला, आवधिक बचत तर्फ प्रकृष श्रेष्ठ, सेयर सदस्य विकास लावती, साधारण बचत तर्फ आइत बहादुर लिम्बू, खुत्रुके बचत तर्फ उत्कृष्ट हुने अलाङ राईलाई प्रदान गरिएको थियो । साधारण सभामा लेखा सुपरिवेक्षण समितिका सदस्य नन्दमाया आङदेम्बेले प्रस्तुत गर्नु भएको थियो । अतिथि महिला नवजागरण अभियान नेपालकी अध्यक्ष यशोदा खनाल, सल्लाहकार संयोजक शंकर लिम्बू र सल्लाहकार सदस्य प्रेम खजुमले यस संस्था ११ औं वर्षमा प्रवेश गरेको अवसरमा सहकारीका सम्पूर्ण परिवारलाई प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए भने स्वागत मन्तब्य तुलसा तुम्बाहाङफेले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार