काठमाडौं, चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन आज असार ३१ गते सरकारले वर्षभरिकै उच्च भुक्तानी गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष सकिनै लाग्दा आज एकै दिन अधिकतम २९ अर्ब ६९ करोड माथिको भुक्तानी दिएको हो । यस्तो भुक्तानी आज नियमित अर्थात् चालु खर्च तर्फ ६ अर्ब ४२ करोड ५ लाख रुपैयाँ र पुँजीगत खर्च तर्फ अधिकतम १५ अर्ब ९७ करोड ७७ लाख भएको छ भने बाँकी ७ अर्ब २९ करोड ५५ लाख सरकारले वित्तीय व्यवस्थामा भुक्तानी दिएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । महालेखा नियन्त्रकका अनुसार चालु आर्थिक वर्षको अन्तिम दिन आज चालु खर्च तर्फ कुल ८ खर्ब ५१ अर्ब ४५ करोड ७९ लाख अर्थात् विनियोजित बजेटको अधिकतम ८९.७३ प्रतिशत खर्च भएको छ भने, पुँजीगत खर्च तर्फ जम्मा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख अर्थात् विनियोजित बजेटको ६४.५३ प्रतिशत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्चका लागि कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यता आर्थिक वर्ष भरीको बजेट खर्चमा भने, सरकारले असार ३१ गतेसम्ममा कुल विनियोजित खर्चको ८०.०३ प्रतिशत अर्थात् ११ खर्ब ८० अर्ब १७ करोड ४ मात्र खर्च गर्न सकेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । जबकि चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट विनियोजन गरेको थियो । यता वित्तीय व्यवस्था तर्फ भने, कुल १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख बजेट विनियोजन गरिएकोमा असार अन्तिमसम्ममा कुल बजेटको ५८.४४ प्रतिशत अर्थात् १ खर्ब ९७ करोड ४१ लाख मात्र खर्च गरेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।
साढे ८ खर्ब राजस्व संकलन
चालु आर्थिक वर्षको अन्त्यसम्म सरकारले साढे ८ खर्ब माथिको राजस्व (ट्याक्स) उठान सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार असार मसान्तसम्म सरकारले लक्ष्यको अधिकतम ९३.४१ प्रतिशत अर्थात् ८ खर्ब ५२ अर्ब ८० करोड ८८ लाख रुपैयाँ राजस्व उठाउन सफल भएको हो । आर्थिक वर्षका लागि सरकारले कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्वको लक्ष्य राखेको थियो । यस्तै, गैरकर तर्फ सरकारले चालु आर्थिक वर्षका लागि कुल ९९ अर्ब ८० करोड ९४ लाखको लक्ष्य राखेकोमा असार ३१ सम्ममा लक्ष्यको ६५.०४ प्रतिशत अर्थात् ६४ अर्ब २६ करोड ७१ लाख उठान सफल भएको छ ।
३ खर्ब हाराहारीको बजेट फ्रिज
सरकारले चालु आर्थिक वर्षका लागि आय व्ययसहित कुल अनुमति १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट छुट्याएको थियो । उक्त विनियोजित बजेट मध्ये आर्थिक वर्षको अन्तिम दिन आज असार ३१ गतेसम्म सरकारले जम्माजम्मी ११ खर्ब ८० अर्ब १७ करोडको मात्र खर्च गर्न सकेको छ । यो सरकारको नियमित (चालु) खर्च, पुँजीगत (विकास) खर्च र साँवा ब्याज भुक्तानी (वित्तीय) खर्च समेत गरेर आएको एकमुष्ट खर्च हो । यो हिसाबले चालु आर्थिक वर्षका लागि छुट्याइएको खर्चमध्ये करिब ३ खर्ब रुपैयाँ बराबरको बजेट सरकारले खर्च गर्न सकेको छैन । बजेट खर्चको सोझै हिसाबले चालु आर्थिक वर्षको कुल बजेटको करिब २० प्रतिशतले हुन आउने २ खर्ब ९४ माथिको बजेट सरकारले खर्च गर्न नसकेको हो । यो रकम चालु आर्थिक वर्षका लागि फ्रिज हुने भएको हो । श्राेत: रापा