१२५ औं साहित्य श्रृंखलामा चार कृतिहरु सार्वजनिक

  टोपबहादुर याक्खा

२९ अक्टुबर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलालाई नेपाल, बेलायत र भारतबाट प्राप्त ४ वटा कृतिहरु सार्वजनिक, उक्त कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै आइतबार १२५ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।

श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाकी पूर्व संयोजक एवं सल्लाहकार सुनिता गिरीको श्वागत मन्तव्यसंगै बेलायत निवासी टंक वनेमको संस्मरण संग्रह ‘सुदूर विस्मृतिका बिम्बहरु’, त्यस्तै गरी कवि मिथोचको कविता संग्रह ‘आगोको पिदार’, नवीन पौड्यालको ‘साहित्य सन्धान’ र रविन कुमार कोइराला र डा.याम प्रसाद शर्माद्धारा लिखित ‘अल्टरनेटिभ आर्ट सिफ्टिङ ट्रेण्ड्स इन एस्थेटिक्स’ गरी ४ वटा कृतिहरु सार्वजनिक गरिएको थियो भने श्रृंखलाका संरक्षक दाजु गुरुङले उक्त कृतिका कृतिकारहरुलाई साहित्य श्रृंखलाको तर्फबाट हार्दिक बधाई दिदै कृतिहरु माथि छोटो टिप्पणी राखेका थिए ।

श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु जानु काम्बाङ लिम्बु, रोशन यक्सो, बेलबाहादुर थापा, डोम राना, लोक प्रसाद दाहाल लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए ।

याउ मा तेई स्थित हिन्सको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा गत अगष्ट महिनामा सम्पन्न साहित्य श्रृंखलाको ‘११ औं वार्षिकोत्सव कार्यक्रम–२०२३’ लाई सफल बनाउँन आर्थिक सहयोग गर्ने महानुभावहरुलाई साहित्य श्रृंखलाको तर्फबाट संयोजक रमण गुरुङले खदा लगाएर सम्मान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेका थिए ।

नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार