बाढी र पहिरोबाट अति प्रभावित बनेको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्याउन कठिनाइ भएको छ । खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्याउन नसकिएको हो । दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित भएका छन् । ‘सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसला समेतका खाद्यान्न सकिएको खबर छ । सोमबार हेलिकप्टरमा तीन क्विन्टल चामलसहित सामान पठाउने तयारी गरिएकोमा खराब मौसमले सम्भव भएन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको छ ।’ स्थानीय व्यवसायीहरुले हेलिकप्टर उपलब्ध गराएकोले मात्रै यसअघि पनि राहत पुर्याउन पाइएको उनले बताए । पहिरोले क्षति पुर्याएका धौलागिरिको मराङ, कल्लेनी, राम्चे, रिखा र मालिकाको बिम, दुले र नुरवाङमध्ये कल्लेनी र बिममा बाहेक अन्यत्र हिँडेर पुग्न समस्या छ । शुक्रबार बिहान ४ बजेतिर खसेको पहिरोले धौलागिरि–६ मराङ, वडा–७ ताकमको कल्लेनी र मालिका–७ बिमका ५० घर पूर्णरूपमा पुरिएका थिए । पहिरोले घर बगाएका तथा जोखिमयुक्त स्थानका १५० भन्दा परिवारका कम्तीमा ७ सय ५० जनालाई सुरक्षित स्थलमा सारिएको छ । पहिरो परी धौलागिरिमा २० र मालिकामा ८ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते र चार जना अझै बेपत्ता छन् । पहिरोले घरबारविहीन भएका र उच्च जोखिमका क्षेत्रमा रहेकाहरुलाई ताकमको हेम मावि, मराङको राम्चे सामुदायिक भवन र बिमको जनविकास आधारभूत विद्यालयको आपत्कालीन सेल्टरमा राखिएको छ । परिवारका सदस्य गुमाएकाहरु सेल्टरमै सामाजिक संस्कारअनुसार काजकिरियामा बसेका छन् । केही स्थानीय दिनभर किरियापुत्रीको साथमा रहने त केही खेतबारीमा काम गर्ने, वस्तुभाउको स्याहार गर्ने र साँझ बास बस्न सेल्टरमा आउने गरेका छन् । पहिरोमा सर्वस्व गुमाएकाहरु मानसिक रूपमा समेत विक्षिप्त बनेका स्थानीय प्रगति युवा क्लबका अध्यक्ष चक्रबहादुर पुनले बताए । ‘दिनभर टोलाएर सेल्टरमै बस्छन्,’ पुनले भने ।
तथ्यांक संकलनमै ढिलाइ
जिल्ला विपद् व्यवस्थापन समितिको टोली खोज र उद्धारको काम सकिएको र पीडित पुनर्बासको दायित्व स्थानीय सरकारको भएको भन्दै प्रभावित क्षेत्रबाट फर्किएको छ । यसले स्थानीयलाई गाँसबासकै व्यवस्थापनमा समस्या भएको छ । घटनाको चौथो दिनसम्म घर, पशुचौपायालगायत भौतिक क्षतिको लगत संकलन हुन सकेको छैन । शुक्रबार पहिलो दिन उद्धार टोली घटनास्थल पुग्नै सकेको थिएन । दोस्रो र तेस्रो दिन पहिरोमा पुरिएकाको खोजी र अन्तिम संस्कार गर्नमै बितेको थियो । सोमबारदेखि मात्र पहिरोले पुर्याएको क्षतिबारे तथ्यांक संकलनमा लागिएको स्थानीय तहहरुले बताएका छन् । ‘पहिरोमा परिवारका सबै सदस्य गुमाएका १० परिवार छन् । महत्त्वपूर्ण धनमालसहित ज्यान जोगाएका र आंशिक क्षति भएका, जोखिमले घर छोडेकाहरुको वर्गीकरण गरी क्षतिको लगत संकलन भइरहेको छ,’ मालिका–७ का अध्यक्ष रेशम जुग्जालीले भने, ‘राहत नआए गाउँलेले ढिडोखोले बाँडेर खान्छौं तर बस्ती जोड्ने पैदल बाटो, क्षतविच्छेद भएको खानेपानी र पुनर्बास कसरी गराउने भन्ने चिन्ता छ ।’
सडक र खानेपानी आयोजना क्षतिग्रस्त
पहिरोले मराङ, बिम र ताकम क्षेत्रमा जनधनको क्षतिसँगै बाटाघाटो, खानेपानी आयोजना र वडा कार्यालयमा समेत क्षति पुर्याएको छ । आपतकालीन सेल्टरमा राखिएका विस्थापित र स्थानीयले वर्षेमूलको पानीले काम चलाएको जनाएका छन् । वडाध्यक्ष जुग्जालीका अनुसार सबै वस्तीका खानेपानीका योजना पूरै क्षतविक्षत छन् । ‘पहिरोग्रस्त क्षेत्रका खासगरी मराङसम्म पुग्न कम्तीमा पैदल बाटो मर्मत गर्नु पहिलो चुनौती हो । त्यसपछि विस्तारै मान्छेलाई बोकाएर भए पनि सबै सामान लैजान र पुनर्निर्माण गर्न सजिलो हुन्थ्यो,’ प्रजिअ ढकालले भने, ‘आपत्कालीन सेल्टरमा आधारभूत तहको खानेपानी, स्वास्थ्य सेवा पुर्याउने कामलाई प्राथमिकतामा राखेर काम भएको छ ।’ श्राेत: इका












