काठमाडौं । संसदीय अंकगणितमा निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा दुई धारबीच राजनीतिक द्वन्द्व बढ्न थालेको छ । सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि ओली इतर राजनीतिक पक्षसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र बहस चलिरहेको छ । जसपा नेपालले नेकपा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने वा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धनका साथ सरकारमा सामेल हुने भन्नेबारे निर्णय लिन सकिरहेको छैन । सो पार्टीका नेताहरुले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका साथै काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सत्ता समीकरणका बारेमा छलफल गर्दै आएका छन् । जसपाका नेताहरुको दौडधुप पछिल्लो समय निकै बढेको छ । उनीहरु पार्टी समायोजनको विषयलाई थाँती राखेरै भए पनि कहिले बालुवाटार, कहिले बूढानीलकण्ठ, कहिले पेरिसडाँडा पुगेर सत्ता गठबन्धनबारे छलफल गर्न व्यस्त हुने गरेका छन् । जसपा नेपालका नेताहरुको दौडधुप हेर्दा सत्ता अन्य दलको तुलनामा उनीहरुकै प्राथमिकतामा परेको प्रस्ट देखिन्छ । यद्यपि, जसपा नेपालले ओलीलाई साथ दिने कि देउवा–प्रचण्डलाई भन्नेबारे आफूलाई प्रस्ट रुपमा उभ्याउन सकेको छैन । बरु पार्टीभित्र यसबारे दुई धार देखिएको छ । एउटा धारले ओलीको पक्षमा निकटता देखाउन थालेको छ भने अर्को पक्षले काँग्रेस र माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिन थालेको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको झुकाव प्रधानमन्त्री ओलीतिर देखिन्छ । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई भने काँग्रेस र माओवादी केन्द्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने पक्षमा देखिन्छन् । जसपा नेपालमा एउटा धार महन्थ ठाकुर र अर्को धारको नेतृत्व उपेन्द्र यादवले गरेजस्तो देखिएको उल्लेख गर्दै उनले ती नेताहरुको अभिव्यक्ति हेर्दा जसपा नेपाल पनि दुई धारमा बाँडिएको भनेर बुझ्न सकिने बताए । ‘दुई पार्टी मिलेर बनेको जसपामा पार्टी एकताले पूर्णता नपाएका कारण यस्तो अलमलमा परेको देखिन्छ,’ उनले भने । अहिले सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्न सक्ने ठाउँमा पुगेका कारण जसपा नेपालले सक्रियता बढाएको उनको भनाइ छ । ‘यही मौकामा एक दुईवटा माग पुरा गराउन सकिन्छ कि भनेर जसपा नेपालका नेताहरु सक्रिय भएका हुन्,’ उनले भने, ‘जनता समाजवादी पार्टी कुनै साधुहरुको पार्टी होइन, राजनीतिमा आएको छ भने सत्ताकै लागि हो, सत्तामा जानु कुनै गलत कुरा होइन, उनीहरु मौकाको पर्खाइमा देखिन्छन् । जब सत्तामा जाने सन्दर्भमा लेनदेनको कुरा जोडतोडले उठ्ने गरेको उनको भनाइ छ । यसकै उदाहरणका रुपमा रेशम चौधरीको रिहाइबारे अघि सारिएको शर्तलाई लिन सकिने उनले बताए । ‘रेशम चौधरी रिहा हुनुपर्छ किनकि राजनीतिक मुद्दामा उनलाई जेलमा राखिएको हो । त्यसमा दुईमत छैन तर रेशम चौधरीको रिहाइ विल्कुल प्रशासनिक मुद्दा हो,’ उनले भने, ‘त्यसलाई प्रशासनिक प्रकृया पुरा गरेर जुन बेला पनि छाड्न सकिन्छ ।’ तर रेशम चौधरी रिहा भएपछि थारुको मुद्दा समाधान हुन्छ त ? भन्ने उनको प्रश्न छ । उनले जसपा नेपालका नेताहरुको अभिव्यक्ति र क्रियाकलापले गर्दा पार्टीमा दुईटा धार रहेको संकेत गरिरहेको बताए । पार्टीमा दुई धार रहेकै कारण अहिलेको सन्दर्भमा पार्टीले स्पष्ट दिशा लिन नसकेको हो कि जस्तो लागेको उनको भनाइ छ । वरिष्ठ पत्रकार सीताराम अग्रहरीले जसपा नेपाल अहिलेको राजनीतिक सन्दर्भमा निर्णायक भूमिकामा भए पनि त्यसको फाइदा लिन नसकेको बताए । ‘अहिले सत्ताको आवश्यकता एमाले, माओवादी केन्द्रलाई होइन, जसपालाई मात्र हो जस्तो देखिन्छ,’ उनले भने, ‘यसका लागि किन यति दौडधुप भइरहेको छ, थाह छैन, कतैबाट निर्देशित भएर यो सब भइरहेको हो कि ! प्रधानमन्त्री ओलीले जसपा नेपाललाई पुनः फसाउन खोजेको उनको भनाइ छ । उनले भने, ‘केही दिन पहिलेसम्म जसपालाई नानाथरी कुरा गरेर ब्यङ्ग्य गर्ने ओलीका लागि अहिले जसपा किन प्यारो भयो ? त्यो कुरा पनि सोच्नुपर्ने हुन्छ । रेशम चौधरीको रिहाइलगायत केही माग अगाडि सारेर जसपा नेपालले तीन ठूला दलसँग कुरा गरिरहे पनि आफ्नै पार्टीभित्र दुई धार भएका कारण त्यसले ठोस रुप लिन नसकेको उनको बुझाइ छ । श्राेत: रापा












