काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा आज एउटा ठूलो दुर्घटना टरेको छ । पार्टीको कार्यकारिणीको बैठक बसेको भए आज एउटा दुर्घटना हुने सम्भावना थियो । त्यही दुर्घटनालाई रोक्नका लागि सो बैठक स्थगित गरिएको बुझिएको छ । सत्ता समीकरणमा नेपाली काँग्रेस–माओवादी केन्द्रलाई सहयोग गर्ने कि एमालेलाई सहयोग गर्ने विवाद झेलिरहेको जसपामा अध्यक्ष उपेन्द्र यादवको पक्ष बलियो भएको देखेर बैठक स्थगित गरिएको कार्यकारिणी समितिका एकजना सदस्यले बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रले जसपाको सम्पूर्ण माग पुरा गर्न तयार रहेको र पहिलादेखि नै मधेशको माग पुरा गर्नेमा सकारात्मक रहेको हुँदा सो पार्टीलाई सहयोग गर्ने गरी अगाडि बढ्नुपर्ने तर्कसहित अध्यक्ष यादवले कार्यकारिणी समितिमा प्रस्ताव लगेर पास गराउने तयारीमा थिए । उनले विहानको बसेको पदाधिकारी बैठकमा नै सो प्रस्ताव पास गराउन चाहेका थिए । तर आज विहान बसेको पदाधिकारी बैठकमा पूर्व राजपाका नेताहरुले त्यसलाई अस्वीकार गरेपछि बैठक नै स्थगित भएको हो । यता, वरिष्ठ नेता राजेन्द्र महतो भने एमालेका अध्यक्ष केपी शर्मा अोलीले मधेशको माग पुरा गर्न तयार रहेको तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उधारो सहमति गर्न खोजेको बताउँदै ओलीसँग नै सहमति गरेर जानुपर्ने कुरा राखेका थिए । जसपा नेपालको बटमलाइन जसले माग पुरा गर्छ त्यसलाई समर्थन गर्ने हो । ओलीले तत्कालै पुरा गर्न तयार भएका छन् । उनी यसपाली नगदमा माग पूरा गर्न तयार छन् । प्रचण्डको भनाइ चाहिँ सरकार आएपछि पुरा गर्ने छ । तर, सरकार बन्छ कि बन्दैन, बनेपछि त्यो माग पुरा गर्छ कि गर्दैन, त्यसको ठेगान छैन । तर अहिले ओली प्रधानमन्त्री पदमा छन् । उनले तुरुन्तै गर्ने भनेको हुनाले जसपाले ओलीको साथमा जाँदा उपयुक्त हुन्छ,’ पदाधिकारी बैठकमा महतोले राखेको धारणा स्रोतले रातोपाटीलाई सुनायो । प्रधानमन्त्री अोलीले संसद विघटन गरेर प्रतिगमन गरेको भन्दै त्यसको विरोधमा जसपाले भर्खरै आन्दोलन गरेको थियो । अहिले नै कुन मुखले समर्थन गर्ने ?,’ भन्ने अध्यक्ष उपेन्द्र यादवको तर्क रहेको पूर्व राजपा पक्षका एक कार्यकारिणी सदस्यले बताए । ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने भन्दै बरु ओलीलाई सरकारबाट कसरी बहिर्गमन गराउनेबारे स्पष्ट धारणा बनाउनुपर्ने यादवले तर्क राखेका थिए । तर अध्यक्ष यादवले सार्वजनिक कार्यक्रम तथा मिडियामा दोहोरो कुरा गर्ने गरेको भन्दै पूर्व राजपाका नेताहरुले प्रश्न उठाएका थिए । ‘मिडियामा जसले आफूहरुको माग पुरा गर्छ त्यसलाई नै समर्थन गर्ने भन्नुहुन्छ । अर्कोतिर ओली प्रतिगमनकारी शक्ति हो समर्थन गर्नुहुँदैन पनि भन्नुहुन्छ । यो दोहोरो कुरा भयो भन्ने पूर्व राजपा नेताहरुको भनाइ थियो,’ स्रोतले भन्यो । जसले मधेशको माग पुरा गर्छ त्यसलाई साथ दिने भनेपछि ओलीले माग पुरा गर्दा उनलाई साथ दिने कि नदिने प्रश्न यतिबेला पार्टीमा उठेको छ । अध्यक्ष यादवले भने प्रतिगामी कदम चालेका ओलीलाई साथ दिन नसकिने अडान पार्टी बैठकमा राखेको स्रोतले जनाएको छ । त्यसपछि सत्ता समीकरणबारे एमाले, काँग्रेस र माओवादी केन्द्र मौन रहेको बेला जसपाले किन हतार गर्ने बरु बैठक स्थगित गरेर उनीहरुको निर्णयलाई कुरौँ भन्ने अध्यक्ष महन्थ ठाकुरले प्रस्ताव गरेका थिए । स्रोतका अनुसार सत्ता गठबन्धनको बारेमा निर्णय गर्न हतार गर्न नहुने कुरा पूर्व राजपाको तर्फबाट आएको थियो । ‘बरु अझै यसमा छलफल गरौँ’ भन्ने उनीहरुको प्रस्ताव थियो । सो प्रस्तावमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि समर्थन जनाएपछि बैठक स्थगित भएको हो । माओवादी केन्द्रलाई समर्थन गर्ने निर्णय सर्वसम्मतिले नभए बहुमतबाट गराउने सोच उपेन्द्र यादवको थियो । पदाधिकारी र कार्यकारिणी समितिमा पूर्व समाजवादी पार्टीको बहुमत रहेको छ । बहुमतबाट निर्णय गराएर अगाडि बढ्ने उनको योजना थियो । ‘यदि आज त्यस्तो गरेको भए आज जसपा नेपालमा दुर्घटना हुन निश्चित थियो,’ एक नेताले भने, ‘जे भयो राम्रै को लागि भयो, अब पुनः त्यसमा छलफल हुन्छ र होलीपछि बैठक बसेर छलफल हुन्छ । श्राेत: रापा












