प्रदेश १ सरकारको गाडी मोह, एक अर्ब बढीका गाडी खरिद…..

प्रदेश १ सरकारले विगत साढे तीन वर्षमा प्रदेश तथा प्रदेशवासीको हितका लागि भन्दै गरेका धेरैजसो निर्णय कार्यान्वयनमा आएका छैनन् । तर मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि गाडी गर्ने सन्दर्भमा निर्णय लिन र त्यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले निकै तदारुकता देखाउने गरेको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले साढे तीन वर्षको अवधिमा १ अर्बभन्दा बढी मूल्यको गाडी खरिद गरेको छ । विशेष गरी मुख्यमन्त्रीसहित मन्त्रीका लागि विलासिताका गाडी खरिदमा होड नै देखिएको छ । प्रदेश सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै मुख्यमन्त्री राई आफैले ३ करोड १९ लाख ७३ हजार रुपैयाँको ‘प्राडो’ खरिद गरेका छन् । अन्य मन्त्रीका लागि पनि उस्तै प्रकृतिका विलासिताका सवारी साधन यो बीचमा प्रदेश सरकारले खरिद गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले पछिल्ला तीन आर्थिक वर्षमा गाडी खरिदका लागि १ अर्ब बढी खर्चेको छ । अघिल्लो आर्थिक वर्षसम्म प्रदेश सरकारले ९१ करोड ८७ लाख २१ हजार मूल्य बराबरको सवारीसाधन खरिद गरेको थियो । चालु आर्थिक वर्षमा मन्त्रिपरिषद्को निर्णय उल्टाउँदै १० करोड बढीको सवारी साधन प्रदेश सरकारले खरिद गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट गाडी खरिद नगर्ने मन्त्रिपरिषद्को निर्णय थियो । तीन आर्थिक वर्षमा प्रदेश सरकारले ९१ करोड ८७ लाख २१ हजार मूल्यबराबरका १०९ वटा चार पाङ्ग्रे, ८८ लाखका २ वटा बस, २३ करोड ५४ लाख ६९ हजारको ५९७ वटा मोटरसाइकल र ९८ लाख ९ हजारको ५२ वटा स्कुटर खरिद गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल १० करोड ९० लाख ३१ हजार ७५५ रुपैयाँ बराबरको गाडी खरिद गरेको छ । प्रदेश सरकारले आर्थिक सङ्कट भएपछि बैठक भत्ता वितरण नगर्ने, विविध खर्च कटौती, टीएडीए कटौती, कार्यक्रम खर्च नगर्ने तथा पुराना कार्यालयका लागि फर्निचर, सवारी साधन, मेसिन औजार नकिन्ने जस्ता नीति बनाएको थियो । तर त्यसलाई लत्त्याउँदै सरकारले गाडी खरिदमा ठुलै रकम खर्चिएको हो । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार