काठमाडौँ — जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी महिलालाई प्रहरी कार्यालयबाट आफ्नै गाडीमा राखेर घर पुर्याउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् आगामी दिनमा आवेशमा आएर त्यस्ता कार्य नगर्न प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई सचेत गराएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कानुनमन्त्री श्रेष्ठले उक्त कुराको जानकारी दिएका हुन् । मन्त्री लीलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वंम प्रहरी कार्यलय पुगेको र आफ्नै सवारीसाधनमा चढाएर लगेको प्रसंग उल्लेख गर्दै कानुन कार्यान्वयमा सन्देह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएको जवाफ फर्काएका हुन् । जातीय विभेदको अन्त्यका लागि सरकारले नै ऐन, नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै शिक्षामन्त्री श्रेष्ठ र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई आगामी दिनमा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानुनमन्त्री श्रेष्ठले जानकारी दिएका हुन् । सञ्चारकर्मी रुपा सुनारलाई दलीत भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा राखेर घर पुर्याएका थिए ।मन्त्री श्रेष्ठको उक्त कार्यको सर्वत्र विरोध भएको थियो । मन्त्री लीलानाथ श्रेष्ठले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनेर पनि टिप्पणी गरेका थिए । उनले भने, ‘गाडीमा चढाएर लगे । यो दुर्भाग्य कुरा हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले, अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ! तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । ‘मन्त्रीज्यू, आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईंले गर्नुभयो, त्यो ठिक भएन’ भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वंयमको पनि ध्यानाकर्षण भएको छ । श्राेत: इका












