गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने…..

काठमाडौं, दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७८ साल असार २७ गते अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधन यातायात भाडादर बढाएको थियो । बढाएको भाडादर असार २९ गतेदेखि नै लागू भइसकेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र लकडाउनका कारण ग्यारेजमा लामो समयसम्म थन्क्याउनुपर्दा सवारीसाधनको पाटपुर्जामा समस्या आएको जनाउँदै सरकारले भाडा बढाएको थियो । अब, दसैँमा उपत्यकाबाट घर जाने यात्रुहरूले सोही भाडादरअनुसार रकम तिरेर घर जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । मन्त्रिपरिषद्को बैठकले भदौ २७ गते बढाएको २८ प्रतिशत भाडादर लागू भइसकेकाले दसैँमा सोही भाडादर लागू हुने सिटौलाको भनाइ छ । उनले सरकारले तोकेभन्दा बढी भाडा लिन नमिल्ने र महासंघले त्यस्तो काम नगर्ने बताए । भने, ‘हामी सरकारले तोकेको भाडादरमै दसैँमा यात्रु ओसार्छौँ । तोकिएभन्दा बढी भाडा लिन मिल्दैन । यात्रुले उपत्यका छाडेर दसैँ मनाउन घर जाँदा चार प्रकारका सवारी अनुसार फरक–फरक भाडा तिनुपर्ने महासचिव सिटौलाले जानकारी दिए । ‘अहिले नेपालमा सामान्य, डिलक्स, सुपर डिलक्स र एसी गरेर चार प्रकारका यात्रुवाहक सवारीसाधन छन्,’ उनले भने, ‘ती सवारीसाधनको स्तरअनुसार २०/२० प्रतिशत भाडा महँगिँदै जान्छ । सरकारले मालबाहक सवारी साधनको भाडादर पनि बढाएको थियो । पहाडमा यस्ता सवारीसाधनको भाडादर २० प्रतिशत र तराईमा २६ प्रतिशतले बढाइएको थियो । मालवाहक सवारीसाधनमा बढेको भाडादर भदौ २९ गतेबाटै लागू भइसकेको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले यस वर्षको दसैँमा काठमाडौँ उपत्यकाबाट करिब १० लाख मानिस घर फर्किने अनुमान गरिएको बताए । उनका अनुसार गत वर्ष कोरोना महामारीका कारण उपत्यकाबाट जम्मा पाँच लाख मानिस बाहिरिएका थिए । अघिल्ला वर्षहरूमा उपत्यकाबाट दसैँको समयमा करिब २०÷२२ लाख मानिस घर फर्किन्थे । तर, गत वर्ष यो सङ्ख्या ह्वात्तै घटेर पाँच लाखमा झरेको भुसालले बताए । यद्यपि; यस वर्षको दसैँमा भने घर फर्किने मानिसहरूको सङ्ख्या १० लाख हाराहारी पुग्ने उनको भनाइ छ ।  ‘यो वर्ष धेरैले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । यस्तै, अघिल्लो वर्षको तुलनामा कोरोनाको महामारी पनि नियन्त्रित भएको छ ।’ सोही कारण, विभागले अघिल्लो वर्षको तुलनामा बढी मानिसहरूले यस वर्ष उपत्यका छाड्ने अनुमान विभागले गरेको हो । महासंघले पनि सोही अनुपातमा मानिसले उपत्यका छाड्ने अनुमान गरेको छ ।राताेपाटी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार