काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरा कर्तव्य विमुख भएको निष्कर्ष निकाल्दै राजीनामा नआए आफ्ना इकाईमार्फत देशभर आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । कात्तिक ५ मा सुरु भएर मंगलबार साँझ सकिएको बार बैठकले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । बारको यस निर्णयले आफूमाथि लागेका आरोपलाई सहकर्मीतर्फ पन्छाउने प्रधानन्यायाधीश जबराको ‘रणनीति’ कमजोर बनाएको छ । ‘प्रधानन्यायाधीशले सहकर्मी न्यायाधीशहरूलाई समेत विश्वासमा लिएर काम गर्न सकेको देखिएन । अब उहाँ न्यायपालिकाको समग्र नेतृत्व गर्न सक्षम हुनुहुन्न भन्ने हाम्रो निष्कर्ष हो । यस गतिरोधलाई अन्त्य गर्न उहाँले राजीनामा दिनुपर्छ,’ बार बैठकपछि महासचिव लीलामणि पौड्यालले भने, ‘उहाँले आज–भोलिसम्ममा राजीनामा दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ । दिनुभएन भने देशभरका ९० वटा बार इकाईमार्फत चरणबद्ध आन्दोलनका कार्यक्रम गर्नेछौं । महासचिव पौड्यालले बुधबारदेखि सर्वोच्च अदालतमा मुद्दा दर्ताका काम मात्र हुने जानकारी दिए । ‘हामी बहस पैरवीमा जाने छैनौं,’ उनले भने । सुरुमा सर्वोच्च अदालतमा मात्र विरोधका कार्यक्रम गर्ने र त्यति गर्दा पनि राजीनामा नआए देशभरै बेन्च बहिष्कार हुने उनको भनाइ थियो । सल्लाहकार समितिका ३६ जनाले मंगलबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्नुपर्ने र इजलास बहिष्कार गर्नुपर्ने सुझाएका थिए । श्राेत: इका












