अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप अस्वीकार…..

काठमाडौँ — पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप अस्वीकार गरेका छन् । संसदीय छानबिन विशेष समितिसमक्ष बिहीबार बयान दिँदै उनले बजेट निर्माणमा आफू र अर्थ मन्त्रालयको टिमबाहेक अरूको संलग्नता नरहेको जिकिर गरेको एक सदस्यले बताए ।  मन्त्रालयका कर्मचारीसँग बयान लिएपछि समितिले बिहीबार शर्मालाई बोलाएको थियो । समितिका ती सदस्यका अनुसार शर्माले जनतालाई सम्झिएर बजेट बनाएको दाबी गरेका छन् । बयानका क्रममा उनले समितिलाई आफूमाथि हरेक कोणबाट छानबिन गर्नसमेत आग्रह गरेका छन् । ‘छानबिनमा पाएको तथ्य र प्रमाणमा टेकेर जनतालाई प्रस्ट पारिदिनुस्, मैले सदनमा पनि भनिसकेको छु, वास्तविकता जे हो, समितिमा पनि भनिसकें,’ शर्माको भनाइ उद्धृत गर्दै अर्का सदस्यले भने । समिति सदस्यहरूले सोधेका प्रश्नको शर्माले एकमुष्ट जवाफ दिएका थिए । बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएको प्रमाण खोजी गर्न समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज खोजी गरिरहेको छ । अर्थ मन्त्रालयले फुटेज उपलब्ध नगराएपछि हार्डडिक्स नै रिकोभरीका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । सीसीटीभी फुटेज डिलिट गरेको पनि पूर्वमन्त्री शर्माले अस्वीकार गरे । सीसीटीभी फुटेजको स्टोरेजबारे आफूलाई जानकारी नभएको उनले समितिमा बयान दिएका छन् । ‘प्राविधिक विषय मलाई थाहा हुने कुरा भएन, सीसीटीभी फुटेजको स्टोरेज के छ, कति दिनमा डिलिट हुन्छ, मलाई ख्याल भएन,’ उनले समितिमा भनेका छन् । समितिले शर्मासँग तीन घण्टा बयान लिएको थियो । यसैबीच, प्रतिनिधिसभाले बिहीबार शर्मामाथि छानबिन गर्न गठित समितिको कार्यावधि सात दिन थप गरेको छ । संसद्मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्ताव पारित भएको हो । असार २२ मा गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबारमात्रै सभामुख सापकोटासँग समय थप्न माग गरेको थियो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार