आखिर कहाँबाट आउँछन् सुकुम्बासी ?…..

काठमाडौँ — अहिले सुकुम्बासीलाई खतरनाक हुकुम्बासीका रूपमा पनि चित्रण गर्न थालिएको छ, कतिपय त्यस्ता पनि छन् । तर, सुकुम्बासी हुनु आर्थिक परिस्थिति मात्र होइन, सामाजिक अवहेलना पनि हो । आम मान्छेहरू कसरी सुकुम्बासी बन्न बाध्य हुन्छन् ? म सुकुम्बासी हुँ भन्दै क्यामरामा बोल्नु रहर हो कि बाध्यता ? उत्तर खोज्न हामीले अहिले चर्चामा रहेकै वाग्मती किनार थापाथलीका सुकुम्बासी बस्ती चहारेका छौं । थापाथलीस्थित सुकुम्बासी बस्तीका ९० वर्षीय बलध्वज राई । बस्ती हटाउन महानगरको डोजर आएकै दिन कान्छा छोराको निधन भएपछि उनी शोकमा छन् ।  दलमर्दन कामीको थातथलो वाग्मती किनार होइन । उनी तेह्रथुमको विकट दागंपा (हाल लालीगुराँस नगरपालिका–५) मा जन्मिएका हुन् । अन्न उब्जनी हुने खेती थिएन, घरबाहेक जमिन थिएन । वर्षभरि फलामका भाँडा पिट्ने, अन्न फल्ने बेला घरघर डुलेर ज्याला संकलन गर्ने । बालीघरे प्रथामा उनको परिवार निर्भर थियो, तर वर्षभरि खान पुग्ने अन्न जुट्दैनथ्यो । बुबाआमा र ९ छोराछोरीसहित ११ जनाको परिवार एउटै छानोमुनि बस्थ्यो । गरिबीको चपेटा त दलमर्दनको परिवारले भोगेकै थियो, त्यसमा पनि दलितमाथिको सामाजिक विभेद सहिनसक्नु थियो । एक दिन उनी स्कुल जाँदै थिए । बाटैमा कथित उपल्लो जातिका छिमेकी भेटिए । ‘आत्मीय भावमा मैले काका ! कहाँ जान लाग्नुभएको भनेर सोधेको मात्रै थिएँ, उनले त थुक्क कामी साइत बिगारिस् भन्दै मुखमा थुकिदिए,’ दलमर्दन सम्झिन्छन्, ‘मेरो कलिलो दिमाग घाइते भयो, म त मान्छे नै होइन कि क्या हो भन्ने छाप पर्‍यो । त्यो घटनापछि उनी स्कुल जान छाडे र ‘मान्छे’ बन्ने थलो खोज्दै काठमाडौं आइपुगे । तर निरक्षर दलित उनलाई न्यानो सद्भाव दिने कोही थिएन । भोकै–प्यासै महिनौं र वर्षौं बित्दै गए, कतैबाट उछिट्टिएर वाग्मती किनारामा पुगे । उनी अहिले त्यहीं सुकुम्बासी बस्तीमा २८ वर्षदेखि संघर्ष गरिरहेका छन् । दलित अधिकार र राजनीतिक क्षेत्रमा जोडिएका छन् । ‘म मान्छे हुँ भनेर चिनाउन काठमाडौं आएँ, राजनीतिमा लागें, तर समाजमा जस्तै राजनीतिमा पनि विभेद छ,’ उनी भन्छन्, ‘राज्यले नै विभेद गर्छ, न्याय खोज्न कहाँ जाऊँ ? साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार