गोंगबु-उपद्र गम्भीर र डरलाग्दो, सुरक्षाको प्रश्न…..

काठमाडौँ — यातायात मजदुरहरूको प्रदर्शनका क्रममा सोमबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा भएका उपद्रव तथा लुटपाटको घटना आफैंमा गम्भीर र डरलाग्दो छ । सामाजिक सञ्जालमा भाइरल भएका यसका दृश्यहरू ‘नेपालकै हुन् र’ जस्ता लाग्नेछन् । प्रायः द्वन्द्वग्रस्त र कानुन तथा सुव्यवस्था कमजोर भएका मुलुकमा देखिने यस्ता घटना काठमाडौंमा निकट विगतमा सितिमिति भएकै थिएनन् । इराक घटनाको निहुँमा २०६१ भदौ १६ मा मच्चिएको विध्वंसयता राजधानीमा यति अनियन्त्रित भीड देखिएको थिएन । सरकारी अधिकारीहरूको दाबी मान्ने हो भने प्रशासनको संयमले गर्दा सोमबार ठूलो क्षति हुन भने पाएन । तैपनि, मानिसका हातहातमा स्मार्टफोन र कुना–कुनामा सीसीटीभी भएको यो जमानामा पनि राज्यप्रशासन र कानुनलाई ठाडो चुनौती दिँदै दिनदहाडै भएको यो घटना काठमाडौंको शान्ति–सुरक्षाका निम्ति अहम् प्रश्न अवश्य हो । खास गरी, लक्ष्यहीन राजनीति र लयहीन अर्थतन्त्रका कारण नेपाली समाज जुन मनोदशाबाट गुज्रिरहेको छ, त्यसप्रति गहिरो चिन्ता गरेर हेर्ने हो भने यो घटना सम्बन्धित सबैलाई झस्काउन पर्याप्त छ । जगजाहेरै छ, यति बेला मुलुकमा घूसखोरी र भ्रष्टाचार चरम रूपमा मौलाइरहेको छ । राजनीतिकर्मी र कर्मचारीहरूलाई राज्यस्रोतको जति पनि दोहन गर्न छुटजस्तै छ । रोजगारीको अवस्था मात्र होइन, गरिखाने वातावरण पनि अत्यन्त दयनीय छ । आफैं केही गरूँ भन्ने हुटहुटी भएको व्यक्तिले पनि कति ठक्कर खानुपर्छ भन्ने त भर्खरैको प्रेमप्रसाद आचार्यको आत्मदाहले पनि थप छर्लंग पारिसकेको छ । सार्वजनिक सेवा लिन सरकारी कार्यालय पुग्ने नागरिकले आज पनि आफूलाई रैती महसुस गर्नुपर्ने अवस्था छ । मुलुकमा निराशाबाहेक अर्थोक केही हात नलागेपछि परिवारको छाक टार्नधरि आम युवा बिदेसिन विवश छन् । त्यही सस्तो र जोखिमपूर्ण श्रम बेच्दाबेच्दै कतै बाकसमा पो फर्कनुपर्ने हो कि भन्ने कुनै टुंगो हुँदैन । र, यी सबै कुरामा चिन्ता गर्नुपर्ने राजनीतिज्ञहरूको ध्याउन्न सत्ता तथा सुखभोगभन्दा पर छैन । यही कहालीलाग्दो अवस्था नै डर मान्नुपर्ने मूल कारण हो । त्यसैले, कुनै पनि कारण भोलिका दिनमा यस्तै अनियन्त्रित आगोको झिल्को सल्किएर सहरभरि फैलन नपाओस् भनी राज्यप्रशासन चिन्तित हुनैपर्छ । सोमबार प्रदर्शनमा उत्रिएका मजदुरहरूको माग कति जायज थियो अथवा त्यो दंगाका पछाडि कुनै नियोजित मनसाय पनि थियो/थिएन भन्ने अलग्गै प्रश्न हुन् । सरकार र मजदुरहरूबीच मंगलबार सहमति भएर तत्काललाई आन्दोलन स्थगित भैसकेको छ, ढिलोचाँडो यस मुद्दामा तार्किक निष्कर्ष निक्लिएला पनि । र, ल्होत्से मलका व्यवसायीहरूले आफूहरूको ८–९ करोड रुपैयाँबराबरको मोबाइल लुटिएको दाबी गरेका छन्, यसको मात्रा पनि सत्यापनकै विषय होला । किन्तु यस घटनाले औंल्याएको काठमाडौंको सुरक्षा सवाल निकै गहिरो छ । माझ सहरमा प्रहरीकै गाडी पल्टाइनु, आगजनी गरिनु, एम्बुलेन्स फोडिनु, पसलहरू लुटिनु र गोलीबारी चलिरहेको द्वन्द्वग्रस्त इलाकामा झैं नागरिकहरू हात उठाएर हिँड्न अभिशप्त हुनु भीडतन्त्र र अराजकताको प्रस्ट संकेत हो । यस्ता घटना दोहोरिन नदिन राज्य संयन्त्रको पर्याप्त सतर्कताको खाँचो छ । उक्त क्षेत्र हेर्ने प्रहरी अधिकारीलाई जिम्मेवारीविहीन गरेर मात्रै समस्याको समाधान हुँदैन । भिडियो फुटेजका आधारमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरू पहिचान गरी तिनलाई कारबाहीको दायरामा ल्याउनु आवश्यक छ । र, यस क्रममा राज्यप्रशासनकै कमी–कमजोरी पनि पहिल्याउनुपर्छ । भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिने गरी प्रबन्धन मिलाउन यी दुवै कार्य अविलम्ब हुनु जरुरी छ । यस्तो समस्याप्रति गृह तथा प्रहरी प्रशासन मात्रै भन्दा पनि समग्र राजनीतिक नेतृत्वकै चासो र चिन्ता हुनुपर्छ । यति धेरै निराशाका बीचमा आधा करोडजति मानिस बसोबास गर्ने काठमाडौं उपत्यकाको विधि र सुव्यवस्थाको प्रश्नलाई बेवास्ता गरिएमा भोलि कुनै दिन गम्भीर परिणति भोग्नुपर्ने हुन सक्छ । तसर्थ पहिलो त, राजनीतिक नेतृत्व देश, राजनीति, अर्थतन्त्र र समाजको स्वास्थ्य सुधार्न नै संकल्पित हुनुपर्छ । र दोस्रो, शान्ति–सुरक्षाको प्रश्नलाई ‘चलिहाल्छ नि’ भन्ने शैलीमा कहिल्यै लिनु हुन्न । गृहजस्तो संवेदनशील मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकै तीन साता हुन लागिसक्यो, बाह्र–सत्ताइस भूमिका भएका प्रधानमन्त्रीले गृहको समेत जिम्मेवारी चाहेर पनि कुशलतापूर्वक सम्हाल्न सक्दैनन् । यस दृष्टिले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्नु भनेको देशको विधि र सुव्यवस्थाको सवाललाई कम आँक्नु हो । तसर्थ, प्रधानमन्त्री पुष्पकमल दाहालले गृह तथा प्रहरी प्रशासनको मुख्य चालक गृहमन्त्री नियुक्त गर्न कत्ति पनि ढिलाइ गर्नु हुँदैन । र, गृह तथा प्रहरी प्रशासनले राजधानी लगायत देशका जुनसुकै भूभागमा कुनै पनि दिन यस्ता अप्रिय विस्फोट नहोऊन् भनेर आवश्यक व्यवस्था मिलाउनुपर्छ । भोलि कहिल्यै पछुताउनु नपर्ने गरी आजै सम्पूर्ण बन्दोबस्त मिलाउनुपर्छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार