काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा फर्काउन नयाँ सत्ता गठबन्धन सकारात्मक देखिएको छ । रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रयासलाई १० दलीय गठबन्धनले सकारात्मक रुपमा लिएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, नाउपा, नेसपा, आम जनता पार्टी र जनमोर्चा गरी १० दल सामेल छन् । सोही गठबन्धनको आधारमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले संघीय सरकारको नेतृत्व गरेका छन् । अहिले कांग्रेस, जसपा, एकीकृत समाजवादी, नाउपा, लोसपा र नेसपाको मात्र सरकारमा सहभागी छन् भने रास्वपा, जनमत, आजपा र जनमोर्चाको समर्थन छ । कांग्रेससहितको १० दलीय गठबन्धन बनेपछि चैत १७ र वैशाख ३ गरी २ पटक मन्त्रिपरिषद विस्तार हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषलाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । रास्वपाको मागका सन्दर्भमा आजभोलि नै सत्ता साझेदार दलसँग छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ । कांग्रेसले पनि सरकारमा रास्वपा आउने वा नआउने विषयमा चाँडै टुङ्गोमा पुग्न प्रधानमन्त्री प्रचण्डलाई सुझाएको छ । कांग्रेस महामन्त्री गगन थापालले रास्वपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको चाहनामा कांग्रेस सकारात्मक रहेको रातोपाटीलाई बताए । रास्वपालाई सरकारमा सहभागी गराउने कुरा प्रधानमन्त्रीको हो । यसमा कांग्रेसको कुनै विमति रहँदैन,’ महामन्त्री थापाले भने, ‘रास्वापासँगको छलफलबारे प्रधानमन्त्रीले सत्ता साझेदार दललाई बोलाएर ब्रिफिङ गर्नु होला । रास्वपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको पहलमा कांग्रेसले साथ दिने उनको भनाइ छ । साभार : रापा












