काठमाडौँ — उडान सुरक्षा मापदण्ड उल्लंघनका घटना नागरिक उड्डयन प्राधिकरणले कडाई गरेकोमा वायुसेवा संचालकहरुले प्रशंसा गरेका छन् । एक वर्षको दाँजोमा तीन महिनामा ६३ वटा घटनामा मापदण्ड उल्लंघन गर्नेहरुलाई गरिएको कारबाहीमा व्यवसायीहरुले उडान सुरक्षामा मद्दत पुगेको जनाउँदै तारिफ गरेका हुन् । २०२३ सुरु भएयता चार महिनामा प्राधिकरणले ३२ पाइलट, ७ इन्जिनियर/प्राविधिक, १० क्याबिन-क्रू, ३ एयर ट्राफिक कन्ट्रोलर (एटीसी), ३ ग्राउन्ड स्टाफ, ७ वायुसेवा र २ विदेशी वायुसेवालाई उडान सुरक्षा उल्लंघन गरेकोमा ग्राउडेड, क्षतिपूर्ति, चेतावनी, तालिम लिन लगाउनेलगायतलाई कारबाही गरेको थियो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हरेक साताको शुक्रबार सरोकारवालासँग आयोजना गर्ने ‘शुक्रबारे संवाद’मा सहभागी दर्जन बढी वायुसेवाका संचालक तथा एकाउन्टेवल म्यानेजरले प्राधिकरण पहिल्यै सक्रिय हुनुपर्नेमा ढिलै भए पनि तारिफयोग्य रहेको बताएका थिए । ‘प्राधिकरण प्रोएक्टीभ भएको राम्रो हो,’ सर्वाधिक आन्तरिक उडान गर्ने बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘प्राधिकरणको यस्तो सक्रियता धेरै अगाडि हुनुपर्ने थियो ।’ बस्नेतले प्राधिकरणको सक्रियाले हवाई सुरक्षामा मद्दत पुग्ने बताए । सौर्य एयरलायन्सका महाप्रबन्धक गोपाल भट्टराईले वायुसेवाका कमीकमजोरीमा प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले औंल्याएका विषय व्यवसायीहरुका लागि मार्गनिर्देशन भएको बताए । ‘वायुसेवाका कमीकमजोरीमा प्राधिकरण सक्रिय भएको हाम्रै लागि राम्रो हो,’ महाप्रबन्धक भट्टराईले भने, ‘अप्ठ्यारो पर्दा वायुसेवा सँगसँगै प्राधिकरणको साथ रहनुपर्छ । गुण एयरलायन्सका एकाउन्टेवल म्यानेजर योगराज कँडेल शर्माले विगतका तीन वर्ष दुइटा भूतपूर्व महानिर्देशकले नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्नुपर्ने भन्दै आएकाले कुन आधारमा प्राधिकरण विभाजन गर्नुपर्ने हो महानिर्देशक अधिकारीलाई सरोकारवालासँग एउटा कार्यक्रम आयोजना गरी यस विषयमा प्रस्ट्याउनुपर्ने सुझाव दिएका थिए । ‘एउटा सेमिनार गर्नुहोस, प्राधिकरण विभाजन गर्ने वा नगर्ने भए कुन डकुमेन्टले भनेको छ भनिदिनुपर्यो । हामी वायुसेवाहरु पनि प्रस्ट हुने थियौं । श्री एयरलायन्सका अध्यक्ष सुधीर मित्तलले प्राधिकरणको ‘फंसनल’ विभाजनले दुइटा फरक निकाय भइसकेको बताए । उनले दुइटा संस्था स्थापना गरेर दुइटा महानिर्देशकसँग संवाद गर्नुभन्दा अहिलेको संरचना वायुसेवाहरु लागि उपयुक्त भएको बताए । मन्त्रालयले पर्यटन, संस्कृति, नागरिक उड्डयनलगायतका विषयमा हेर्दा भेग भएकाले नागरिक उड्डयनलाई मात्रै छुट्टै नेपाल सरकारले हेर्नुपर्ने छलफलमा धारणा राखेका थिए । वायुसेवा संचालकहरुले छलफलमा तराईका विमानस्थलमा जहाज उड्नुअघि एक्जिलरी पावर युनिट (एपीयू) राखेर डिजेलबाट करेन्ट उत्पादन गर्दा वातावरणमा हानी पुगेको, खेर गइरहेको विद्युत्को उपयोग हुन नसकेको जनाउँदै प्राधिकरणलाई विद्युत्बाट संचालन गर्न सकिने ग्राउन्ड पावर युनिट (जीपीयू) राखिदिन भनेका थिए । ‘एपीयू चलाउनाले डिजेलमा विदेशी मुद्रा बाहिर गइरहेको छ । नेपालमा उत्पादन भएको विद्युत् खेर गरेको छ, त्यसैले प्राधिकरणले भद्रपुरदेखि धनगढीसम्म एपीयू प्रणाली हटाइ जीपीयू राखिदिनुपर्छ,’ बुद्धका संचालक बस्नेतले भने । यात्रु बोर्डिङ गर्दैगर्दा एपीयू र जीपीयूले जहाजमा विद्युत् दिई एसी चलाउन मद्दत गर्छ । यो सुविधा नहुँदा जहाजले एसी चलाउन इन्जिन नै स्टार्ट गर्नुपर्छ । जुन अत्याधिक खर्चिलो हुन जान्छ । साभार : इका












