संखुवासभा — सुक्खा लागेर पानीको मुहान सुकेपछि खाँदबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण थालेको छ । खाँदबारीबाट १६ किलोमिटर टाढाको सभाखोलाको पानी दुई दमकल एवं साना पानी ट्यांकरमा भरेर शुक्रबारदेखि बजारवासीलाई वितरण थालिएको हो । नगर प्रमुख महेश थपलियाका अनुसार टोलटोलमा लगेर बाँडिँदै छ । नगरपालिकाले खाँदबारीस्थित सेनाको ब्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन गरिरहेको छ । ‘दैनिक ३० देखि ५० हजार लिटर पानी खाँदबारीका टोलटोलमा पुर्याउन थालिएको छ,’ उनले भने । खाँदबारीमा ल्याइएको पानीका मुहान सुकेकाले नगर क्षेत्रमा चरम अभाव भएको हो । दमकलबाट भए पनि पानी वितरण सुरु भएपछि नगरवासीलाई केही राहत महसुस भएको छ । नगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब ३ हजार ५ सय उपभोक्ता छन् । वितरण सहज हुँदा दैनिक ६ लाख लिटर पानी चाहिन्छ । दमकल र ट्यांकरबाट थालिएको वितरणमा पालो मिलाएर एक परिवारलाई करिब ३५ लिटर पानी दिने गरिएको छ । वितरणको अस्थायी उपायले पार नलाग्ने आकलन भइरहँदा ट्यांकीमा ल्याएर जम्मा गर्ने र पालो मिलाएर धाराबाटै आपूर्ति सहज बनाउन उपायमा पनि काम भइरहेको नगर प्रमुख थपलियाले बताए । स्थानीय होटल व्यवसायी फडीन्द्र श्रेष्ठ वितरणको यो अस्थायी प्रयासले नगरवासीको दैनिक जीवन केही सहज भएको बताउँछन् । ‘धारामा पानी नआएको एक महिना भयो,’ उनले भने, ‘पानी नआउँदा बोकेर होटल चलाउने कुरा त भएन, धेरै समस्या थियो । पानी अभाव भएपछि स्थानीयले सभाखोलाको धमिलो पानी एक रुपैयाँ लिटरमा किनेर दैनिकी धानिरहेका थिए । ‘जेठमा धारामा पानी २ पटक मात्र आयो,’ उनले भने,‘दैनिक पानी किनेर खाजाघर चलाउन परिरहेको छ ।’ गर्मीको समय भएकाले पानीको खपत धेरै हुने गरेको श्रेष्ठले बताए । ‘खोलाको पानी ल्याएर होटल चलाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘शौचालय जानलाई समेत पर्याप्त पानी छैन । नगरमा आपूर्ति गर्ने स्रोत सुकेकाले पानी वितरण गर्न नसकेको खाँदबारी साना सहरी खानेपानी उपभोक्ता समितिले जनाउँदै आएको छ । समितिका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठका अनुसार खाँदबारी ल्याइएका पानीका मूल सुक्खायामका कारण सुकेको हो । खडेरीले मूल सुकेको छ,’ उनले भने, ‘खाँदबारीका पानीट्यांकी खाली छन् ।’ ट्यांकीमा थोरथोरै संकलन गरेर उपभोक्तालाई हरेक साता एक पटक पानी दिने गरेको उनले बताए । ‘हामीले टोल–टोल छुट्याएर सातामा एक पटक भए पनि पानी दिने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘यो पटक जेठमा पनि खडेरी लागेको छ । वर्षा लाग्नासाथ पानीको समस्या नहुने उनले बताए । साभार : इका












