काठमाडौँ — चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) खण्ड विस्तारको काम अझै सुरु हुन सकेको छैन । निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) नै तयार भएको छैन । डीपीआर नबनी ठेक्का अघि बढाउन मिल्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत फागुनमै डीपीआरको काम थालिएको जनाएको थियो । तर अहिलेसम्म डिजाइन नै फाइनल भइसकेको छैन । यस खण्डमा पूर्वतयारीको काम सबै सकिइसकेको आयोजनाले जनाएको छ । तर पूर्वतयारीको काम गर्नै ४ वर्षभन्दा बढी लागेको हो । विस्तारको काम अघि बढाउने तयारीमा रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । ढुंगेधारालगायत स्थानमा आवश्यक परे अन्डरपास बनाउन चीन सकारात्मक छ, नेपाल सरकारका तर्फबाट सर्भिस लेन बनाउने काम सुरु भएको छ,’ उनले भने, ‘अब छिट्टै ठेक्का गरेर निर्माणको काम अघि बढाउँछौं । गत फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले डिजाइनको काम थालेको हो । त्यतिबेलै मन्त्रालयले दुई महिनाभित्र डिजाइनको काम सकिने जनाएको थियो । डिजाइन सुरु थालियो भनेकै ६ महिना भइसकेको छ । तर अझै फाइनल हुन सकेको छैन । डिजाइनको काम भइरहेको र त्यसमा केही थप्नुपर्ने भएकाले डिजाइनको काम गरिरहेको कम्पनीलाई सल्लाह दिइरहेको भौतिक मन्त्रालयको विकास सहायता, समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव अर्जुनजंग थापाले बताए । ‘विस्तार गर्न लागिएको खण्डमा दुर्घटनाको जोखिम बढी रहेकाले त्यसलाई कम गराउने गरी डिजाइन गर्न सुझाएका छौं,’ उनले भने, ‘त्यसैले ढिला भएको हो । तर निर्माण थाल्नेबारे केही टुंगिइसकेको छैन, चिनियाँ पक्षसँग छलफलमै छौं । फाइनल डिजाइन आएपछि कति लागत लाग्ने थाहा हुने उनको भनाइ छ । अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब यस सडकलाई ८ लेनमा विस्तार गर्न लागिएको हो । सडक विस्तारपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । महाराजगन्जको २ सय ४४ मिटर खण्डमा भने अझै समस्या छ । यसमा पछि काम गरिने भएकाले पछि नै समाधान गरिने मन्त्रालयले जनाएको छ । चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न आग्रह गरेको थियो । चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको ८.२ किमि खण्डको मात्रै काम गर्ने भएको छ । बाँकी काम तेस्रो चरणको चक्रपथ विस्तारमा समेट्ने सडक विभागले जनाएको छ । नेपाल सरकारले दोस्रो चरणमै कलंकीदेखि धोबीखोला (चाबहिल) सम्म निर्माण गर्न माग गरेको थियो । तर चीनले भने यसलाई तेस्रो खण्डमा काम गर्ने उल्लेख गर्दै आएको छ । डीपीआर तयार हुनासाथ ठेक्का प्रक्रिया अघि बढाइने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘चीन सरकारको अनुदानबाट विस्तार गर्न लागिएकाले यसबारे छलफल नभई निर्णय हुने छैन,’ उनले भने, ‘यसमा चिनियाँ कम्पनीले नै ठेक्का लिएर काम गर्छन् ।’ पूर्वतयारीका सबै काम सकिइसकेको काठमाडौं चक्रपथ सडक विस्तार योजना कार्यालयका प्रमुख बाबुराम सापकोटाले बताए । ‘विस्तारमा पर्ने बस स्टप हटाइएको छैन,’ उनले भने, ‘ठेक्का प्रक्रियामा जानसाथ यी संरचना भत्काउन समय लाग्दैन । चक्रपथ विस्तारमा नेपाल सरकारको स्रोतबाट निर्माण गर्नुपर्ने कामका लागि चालु आर्थिक वर्षमा २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । नाली, सर्भिस लेन निर्माणलगायतको काम गर्न यो बजेट व्यवस्थापन गरिएको सडक विभागले जनाएको छ । यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड कोटेश्वर–कलंकी सडकको चीनले नै ८ लेनमा विस्तार गरिदिएको थियो । चीनले ८ लेनमा विस्तार गरेर ०७५ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो, जसको दूरी १०.३९ किमि छ । साभार : इका












