दूधे बच्चासँगै सुत्केरीहरू समेत चिसो भुइँमै…..

रावत गाउँ, जाजरकोट — भूकम्पपछि टाँगिएको पालमाथि बिहानीको झुल्के घाम ठोक्कियो । एक साताकी सुत्केरी पवित्रा विक शीतले ओस्सिएका चार वटा लुगाथाङ्ना बोकेर बाहिर निस्किइन् । पालमाथि लहरै मिलाएर सुकाइन् । पहिलो पटक सुत्केरी भएकी १८ वर्षीया पवित्राले छोरी जन्मिएपछि तीन दिनमात्रै घरको बास पाइन् । शुक्रबार मध्यरातको भूकम्पले घरै चर्किएपछि उनीहरू बारीमा पाल टाँगेर बस्न बाध्य छन् । ढुंगामाटोले बनाएको दुईतले घर चिराचिरा परेको छ । हामी भाग्यले बचेका हौं । भुइँमै सुतेका भएर पनि भाग्न भ्याइहाल्यौं र बच्यौं,’ पवित्राले सुनाइन्, ‘त्यस दिन त बाहिर खुला आकाशमुनि नै बस्यौं । शनिबार पाल लगायौं, राति शीत परेर चुहिन्छ र भिजिन्छ । यसै हुने हो भने शीतले भिजेर मर्ने भयौं ।’ चिसोले गर्दा उनकी छोरीको नाइटो पाकेको छ । आँखा पाकेका छन् । उनले आफूलाई पिसाब गर्दा दुख्ने, रगत बग्ने र ढाड खाने (दुख्ने) समस्या बल्झेको बताइन् । परिवारमा उनकी दूधे छोरी, श्रीमान्, नन्द, देवर, सासूआमा र ससुरा गरेर आठ जना छन् । सुरक्षित बस्ने र खाने व्यवस्थाका लागि राहत नपुग्दा उनीहरू टनेलको पालमुनि भुइँमा पराल र केही ओढ्ने–ओछ्याउनेकै भरमा चिसो रात कटाउन बाध्य छन् । दिउँसो घाम लागुन्जेल न्यानो भए पनि राति शीतको चिसोले ठिहिर्‍याउँछ । नजिकै भेरी नदीको सिरेटोले उसैगरी हान्छ । ‘नन्द र देवरहरू पनि सानै छन् । चिसोले कठाङ्ग्रिएर रातभर जागै हुन्छन्,’ उनले भनिन्, ‘के गर्नु सबैतिर उस्तै दुःख छ । पानी र रुखोसुखो खाएर सास बचेको छ । चर्केको घरबाट दालचामल निकाल्न पनि नसकेको उनको भनाइ छ । छरछिमेकबाट ऐंचोपैंचो गरेर ल्याएको अन्नपात शुक्रबार साँझ खाना खाएर बाहिरै छोडेका भाडामा पकाएर खाने गर्छन् उनीहरू । छोरी जन्मेको छैटौं दिन आइतबार पालमै छोरीको न्वारान गरिदिएको पवित्राले बताइन् । उनीहरू मात्र होइन, नजिकै अन्य चार परिवार बसेको पालमा पनि दुई र तीन महिनाका चार दूधे बच्चाले यसैगरी चिसो रात कटाइरहेका छन् । भूकम्प गएको तेस्रो दिनसम्म प्रभावितहरूसम्म राहत नपुगेपछि सुत्केरी, गर्भवती, केटाकेटीसहित महिला, ज्येष्ठ नागरिक, अपांगता भएका, अशक्त तथा असहायहरूलाई रात कटाउन मुस्किल छ । उनीहरू पुराना पाल, त्रिपाल, तरकारीका टनेलको सहयोगमा छाप्रा/टहरा बनाएर बसेका छन् । ‘यस्तो बेलामा सुत्केरी, गर्भवतीलाई पोषण र मायाममता पनि उत्तिकै खाँचो पर्छ, हामीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत छिटोभन्दा छिटो राहत पुर्‍याउन समन्वय गरिरहेका छौं,’ जाजरकोट स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. प्रतीक्षा भारती भन्छिन् । भूकम्पले घाइते भएका दुई गर्भवती जिल्ला अस्पतालमा चेकजाँच गर्न पुगेका थिए । उनीहरूको अवस्था सामान्य देखिएपछि घर पठाइएको छ । तर जाजरकोटको भौगोलिक विकटता, भूकम्पको त्रासले गर्दा चेकजाँचमा आउन नसक्नेहरू गाउँमा थुप्रै हुन सक्ने आकलन स्वास्थ्य कार्यालय प्रमुख भारतीको छ । भूकम्पले कति सुत्केरी र गर्भवती प्रभावित भए भन्ने यकिन तथ्यांक नभएको उनले बताइन् । भेरी नगरपालिकाका अनुसार गत वर्ष नगर क्षेत्रमा मात्रै ९ सय ८३ जना सुत्केरी भएका थिए । नागरिक अगुवा तथा महिला बालबालिकाको क्षेत्रमा जानकार राजेन्द्रविक्रम शाहले भूकम्प प्रभावितलाई समयमा राहत नपुर्‍याइएको, पुर्‍याइएकोमा पनि सामाजिक समावेशीका आधारमा वितरण नगरिएको दाबी गर्छन् । भूकम्पले अन्नपात, लत्ताकपडा केही जोगिएका छैनन्, अधिकांशले घर चर्केका कारण बाहिर निकाल्न सकेका छैनन्, सुत्केरी तथा गर्भवतीलाई पोषण र हेरचाह चाहिने बेलामा राहतमा विशेष प्राथमिकता दिनुपर्ने हो, त्यस्तो भएको छैन,’ उनले भने, ‘सरकारी निकाय न सबै प्रभवित क्षेत्रमा सूचना संकलन गर्न पुगेको छ, न त राहत नै पुगेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार