चिसोले लियो २२ भूकम्पपीडितको ज्यान…..

सुर्खेत, जाजरकोट — भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् । वडा कार्यालयहरूका अनुसार बिहीबारसम्म चिसोले मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको ज्यान गएको हो । मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । ‘सामान्य अवस्थामै पनि दीर्घरोगीको स्वास्थ्य कमजोर हुन्छ, केहीले त भूकम्पपछि नियमित औषधि नै सेवन गर्न पाएका थिएनन्,’ जिल्ला अस्पतालकी प्रमुख डा. प्रतीक्षा भारतीले भनिन्, ‘एक त रोग प्रतिरोधी क्षमता कमजोर, त्यसमा पनि अत्यधिक चिसोको बसाइ, जसलाई उनीहरूको शरीरले पचाउन सकेन ।’ दुई बालबालिकाले पनि समयमै उपचार नपाउँदा ज्यान गुमाएको उनले बताए । अत्यधिक चिसोका कारण दीर्घरोगीले थप स्याहार पाउन नसक्दा ज्यान गुमाइरहेको नलगाड नगर अस्पतालका डा. विशाल उप्रेती बताउँछन् । उनका अनुसार भूकम्पका कारण सबैभन्दा बढी क्षति बेहोरेको नलगाडमा झन्डै एक हजार दीर्घरोगी छन् । ‘अधिक चिसोले झाडापखाला, ज्वरो र रुघाका बिरामी बढेका छन्, मुटु रोगी, दमका बिरामी, उच्च रक्तचाप र मधुमेहका बिरामीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ,’ उनले भने, ‘अस्पतालमा आएकालाई हामीले औषधि दिएर त पठाइरहेका छौं तर अस्थायी टहरा नबन्दासम्म उनीहरू सबैको ज्यान जोखिममै छ ।’ अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेका छन् । नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले पर्याप्त टहरा बन्न नसक्दा भूकम्पपीडितलाई चिसोबाट बचाउन मुस्किल भएको बताए । ‘अहिलेसम्म एउटा परिवारका लागि १/१ थान त्रिपाल र कम्बल मात्र दिन सकेका छौं, त्यसैको भरमा ५/७ जनाको परिवार बस्नुपरेको छ,’ उनले भने, ‘रातभरि चुहिने शीत र सिरेटो थेग्न नसक्दा स्वास्थ्य समस्या बढिरहेको छ, अहिले त बिरामी नभएका त्रिपाल र परिवार एउटै छैनन् । एकसरो त्रिपाल र लत्ताकपडाको भरमा कष्टकर जीवनयापन गर्दै आएका भूकम्पपीडितले धमाधम ज्यान गुमाउन थालेको स्थानीय अगुवा जनक केसीले बताए । ‘धन्न धेरै दीर्घरोगी र एकाध सामान्य अवस्थाका व्यक्तिले मात्र ज्यान गुमाएका छन्,’ उनले भने, ‘चिसोका कारण सबैजसो पालमा छन्, कोही न कोही बिरामी छन्, पीडितलाई रातभर आगो तापेर जाग्राम बस्नुपर्ने बाध्यता छ । छेडागाडस्थित आधारभूत अस्पतालमा भने बढीजसो निमोनिया भएका बालबालिका उपचारका लागि आउने गरेको डा. प्रिय शाहीले बताए । उनका अनुसार चिसोका कारण अस्पतालमा ५० जनासम्म बिरामी आउने गरेकामा झन्डै आधा बालबालिका हुने गरेका छन् । बालबालिकामा ज्वरो र रुघाखोकीको समस्या बढी देखिएको छ । जाजरकोट अस्पतालमा पनि चिसोका कारण बिरामीको चाप बढिरहेको छ । दैनिक सय जनासम्म चिसोका बिरामी उपचारका लागि आउने गरेको र झन्डै २५ जनाको इमर्जेन्सीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले मृत्यु हुनेमा वृद्धवृद्धा, शिशु र दीर्घरोगी बढी भएको बताए । ‘केहीलाई पहिल्यैबाट समस्या देखिएको थियो, कोही उमेर बढी भएका पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘पालमा चिसो भयो, चिसोले अझै असर गर्‍यो पनि, त्यसैले मृत्यु हुन गयो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जाजरकोटमा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १ हजार ३ सय ६० जना गर्भवती र ९ सय सुत्केरी भूकम्पबाट प्रभावित छन् । रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कालीबहादुर ओलीले बताए । उनका अनुसार जिल्लाभरि १ हजार ६८ गर्भवती र ७ सय ३९ सुत्केरी प्रभावित भएका छन् । उनले रुकुम पश्चिममा झन्डै १ हजार २ सय दीर्घरोगी र ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक प्रभावित भएको जानकारी दिए । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५६ जनाको मृत्यु भएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा झन्डै ५५ हजार परिवार विस्थापित भएका छन् । जसमध्ये झन्डै १ हजार परिवारका लागि स्वयंसेवी, संघसंस्था र राजनीतिक दलले अस्थायी टहरा निर्माण गरेका छन् भने बाँकी परिवार त्रिपालमुनि नै छन् ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार