पूर्वमा पहिचानवादी को निसानामा एमाले…..

झापा — ‘समृद्धिका लागि संकल्प यात्रा’ को १२ औं दिन घुर्मी हुँदै कोशी प्रदेश टेकेको एमाले टोलीमाथि पहिचानवादीहरूले अवरोध सिर्जना गरेका छन् । मंगलबार खोटाङको हलेसी हुँदै ओखलढुंगाको हर्कपुर पुगेर सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । पहिचानवादीहरूले बन्द आह्वान गरेरै कार्यक्रम बिथोल्ने प्रयत्न गरे । पहिचानवादी नेता तथा पूर्वसंस्कृतिमन्त्री गोपाल किराँतीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै किटेर ‘चिहान खन्ने’ धम्की दिएका थिए । मदन भण्डारी लोकमार्गको गौंडा ढुकेर बसेका पहिचानवादीहरूले बाटो अवरोध पार्न रूख मात्रै ढालेनन्, ठाउँ–ठाउँमा आगजनीसम्म गर्न भ्याए । विवादास्पद अभिव्यक्ति बाहिरिनेबित्तिकै पूर्वमन्त्री किराँतीसहित जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाईसीएल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राईलगायत दर्जन बढी नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गर्‍यो । त्यही दिन नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ पक्राउ परेका थिए । प्रशासनले एस्कर्टिङ गरेर ओलीलगायतका नेताहरूलाई सभास्थल हर्कपुर पुर्‍यायो । सभालाई सम्बोधन गर्दै ओलीले पहिचानवादी र सरकारविरुद्ध चर्को भाषण गरे । किराँतीसहितका पहिचानवादी नेता पक्राउ गरेको आक्रोशको घानमा परे, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । दमकको एक कार्यक्रममा भाग लिन आइरहेका उनलाई १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीलगायतका पहिचान पक्षधरहरूले कालो झन्डा मात्रै देखाएनन्, मुख्यमन्त्री सवार गाडीमा ढुंगा नै प्रहार गरे । मुख्यमन्त्रीको गाडीमाथि तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले त्यही रात प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक चौधरीलाई अर्जुनधारा–६ स्थित घरबाटै पक्राउ गरेको थियो । उनलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको छ । चौधरीको रिहाइको माग गर्दै पहिचानवादीहरूले जिल्ला प्रशासन कार्यालयमा बुधबार ज्ञापनपत्रमार्फत २४ घण्टे अल्टिमेटम दिएका छन् । चौधरीलाई नछाडे थप संघर्षका कार्यक्रम अघि बढाइने पहिचानवादी नेता दिपेनवाला राईले चेतावनी दिए । प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिका अनुसार एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा र झापासहितका जिल्लाका २४ जना बढी पहिचान पक्षधर नेता, कार्यकर्ता पक्राउ परेका छन् । ‘पहिचानविरोधी एमाले र ओलीको विरोध जारी रहन्छ,’ एक पहिचानवादी नेताले भने, ‘एमाले र ओली जहाँ भेटिन्छन्, त्यहीं हामी अवरोध गर्छौं । एमाले अध्यक्ष यतिबेला पहिचान पक्षहरूका नजरमा ‘प्रधान शत्रु’ झैं बनेका छन् । उनीसहित एमालेका नेता केही महिनायता पूर्वमा निरन्तर लखेटिँदै आएका छन् । योगेश भट्टराईदेखि महेश बस्नेतसम्मका एमाले नेता पहिचानवादीको आक्रमणमा परिसकेका छन् । पूर्वमा आएका एमाले नेता जहाँ पुग्छन्, त्यहीँ पुग्छन् पहिचानवादी र बिथोल्छन् कार्यक्रम । अनि, कालो झन्डा देखाएर ढुंगामुढाकै तहमा उत्रिन्छन् । एमाले नेतृत्वको प्रदेश सरकारले २०७९ फागुन १७ मा प्रदेशको नाम कोशी राखेयता यो प्रदेश अशान्त छ । एमालेले षड्यन्त्रपूर्ण ढंगबाट प्रदेशको नाम ‘कोशी’ राखेको भन्दै असन्तुष्ट पहिचान पक्षधरहरू एमालेप्रति आक्रामक बन्दै गएका हुन् । ‘एमालेकै नेतृत्वमा नामांकन भएका कारण उनीहरू एमालेप्रति अलि बढी आक्रामक रूपमा आएको देखिन्छ,’ एमालेका एक प्रदेशस्तरीय नेताले भने, ‘असन्तुष्टि पोख्न पाइन्छ तर सबै एमालेले मात्रै गरेको भन्दै निरन्तर एमालेलाई तारो बनाइराख्नचाहिँ पाइन्न होला ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार