किन बन्द हुँदै छन् उद्योग ?…..

बारा –  दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने बारा–पर्सा औद्योगिक करिडोरको सालिमार सिमेन्ट उद्योगले अहिले ३ देखि ४ हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दछ । प्रतिदिन २० घण्टा चल्ने उद्योगले एक वर्षअघिदेखि ८० प्रतिशतले उत्पादन घटाएको छ । उत्पादन घटाएपछि ५० प्रतिशत मजदुर पनि कटौती गरेको छ । उत्पादन र मजदुर कटौती मात्रै होइन उद्योगमा विद्युत् खपतसमेत पनि ४० प्रतिशतले घटेको विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रको तथ्याङ्कमा उल्लेख छ । सालिमार सिमेन्ट उद्योगका प्रोप्राइटर अशोक वैद्य सिमेन्टको अर्डर आएका खण्डमा मात्रै उद्योग चलाउने र अन्य समयमा बन्दै हुने गरेको बताउँछन् । उनले सरकारले पुँजीगत खर्च नबढाएसम्म उद्योगको अवस्था झनै दयनीय हुँदै जाने दाबी गर्दछन् । पहिलेको भन्दा ८० प्रतिशतले उत्पादन कमी भइसकेको छ । हाम्रो पहिले दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन थियो, अहिले ३ देखि ४ हजारमा झरिसकेको छ ।कर्मचारीलाई तलब दिनसक्ने अवस्था छैन ।’ उद्योगपति वैद्यले भने, ‘चर्को ब्याजदरले बैङ्कको ऋण तिर्न नसक्ने अवस्था आइसक्यो । भएको पैसा बजारमा फसेको छ, सरकारले राजनीतिबाट फुर्सद पाउँदैन, उद्योगीको सस्मयामा कसरी ध्यान दियोस् । बारा–पर्सा औद्योगिक करिडोरका एक दर्जनभन्दा बढी सिमेन्ट तथा छड उद्योगमध्ये सालिमार सिमेन्ट एउटा मात्र उद्योग सञ्चालनमा छ । कोभिड–१९ सुरु भएलगत्तै बन्द भएको साखः स्टिल पुनः सञ्चालन हुन सकेको छैन, हामा आइरन बन्दै छ । अरनिको सिमेन्टमा विद्युत् प्राधिकरणले गत वर्ष फागुनदेखि नै विद्युत् लाइन काटिसकेको छ । उद्योगले विद्युत् महसुलबापत करिब ७५ लाख बक्यौता रकम बुझाउन बाँकी भएपछि प्राधिरणले विद्युत् लाइन काटेको हो । त्यस्तै गरी अशोक स्टिलले पनि बैङ्कले धितो जफत गर्ने डरले देखाउनकै लागि एक सिफ्ट मात्रै उद्योग सञ्चालन गरेको छ । स्थलगत अनुगमनका क्रममा धेरै सिमेन्ट र छड उद्योगहरूले भौतिक सम्पत्तिको संरक्षणार्थ सुरक्षा गार्ड मात्रै खटाएका छन् । करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिलले पनि सिमेन्ट र छडको उत्पादन ४० प्रतिशत घटाएको उद्योगले जनाएको छ । साथै विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रअन्तर्गत रहेका ५६८ उद्योगमा विद्युत् खपत ३५ देखि ४० प्रतिशतले घटेको प्राधिकरण सिमरा केन्द्रले जनाएको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार