माओवादीप्रति विश्वास टुट्दै गएको निष्कर्ष…..

काठमाडौँ — चारमहिने विशेष रूपान्तरण अभियानबाट जनताको विश्वास टुट्दै गएको निष्कर्ष निकाल्दै माओवादीले सच्चिनुको विकल्प नभएको जनाएको छ । वडावडा पुगेका नेता तथा कार्यकर्तालाई सर्वसाधारणले नेताहरू सत्ता स्वार्थमा केन्द्रित भएकाले विश्वास टुट्दै गएको बताएका छन् । २०६५ पछि ९ पटक सरकारमा पुगेको पार्टीले उधारो होइन, व्यवहारमै काम गरेर देखाउन सर्वसाधारणले चुनौतीसमेत दिएका छन् । चारमहिने रूपान्तरण अभियान सोमबार सकिएको छ । साउनको केन्द्रीय समिति बैठकले संगठन भत्किँदै गएकाले रूपान्तरण अभियान चलाउने निर्णय गर्दै नेताहरूलाई गाउँ पठाएको थियो । ‘सत्तामा पुगेपछि कहाँ हरायौ, चुनाव जितेपछि कहाँ जान्छौ जस्ता प्रश्नको सामना गर्नुपर्‍यो,’ गाउँबाट फर्किएका नेताहरूले सुनाए, ‘सत्तामा पुगेपछि तिम्रो कार्यशैली किन बिग्रियो, आफ्नो धरातल किन भुल्यौ जस्ता गुनासा मिश्रित प्रश्न जनतामा छन् ।’ अभियानमा खटेका नेताहरूले जनताले व्यवहारमै जवाफ खोजेकाले अब गम्भीरतापूर्वक योजना बनाउनुपर्ने महसुस भएको जनाए । माओवादी सहरकेन्द्रित भएको तथा सत्ता, शक्ति र आर्थिक लाभमा केन्द्रित भएका कारण साख गिर्दै गएकाले नेता तथा कार्यकर्तालाई रूपान्तरणका लागि पार्टीले वडावडा पठाएको थियो । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियानले निष्क्रिय संगठनलाई सक्रिय र कार्यकर्तालाई जागृत गराए पनि जनतासँग धेरै प्रश्न आएको बताए । जनताबाट आएका प्रश्नको जवाफ दिन आगामी दिनमा कसरत गर्ने उनको भनाइ छ । ‘जनता पूर्ण विश्वस्त हुन नसकेको रिपोर्ट आएको छ,’ उनले भने, ‘उनीहरू अझै माओवादीको कार्यशैली हेरौं भन्ने अवस्थामा भएको पाइयो ।’ पार्टीको नीतिविपरीत नेता तथा कार्यकर्ताको कार्यशैली मौलाउँदै गएकाले विश्वास टुटेको रिपोर्ट आएको उनको भनाइ छ । ‘जनताको टुटेको विश्वास जोड्न हामीले विशेष रूपान्तरण अभियान चलाएका हौं । त्यसैले जरुर रूपान्तरण हुन्छौं भनेर नम्रतापूर्वक भनेका छौं,’ उनले भने, ‘अब हामी सच्चिनुको विकल्प छैन । नगरपालिका र गाउँपालिका पुगेका नेताहरूलाई कार्यकर्ताले पनि प्रश्न तेर्स्याएका छन् । शक्ति हातमा भएका नेताले विधि, पद्धति मिचेकाले त्यसको असर संगठनमा पुगेकाले माथिबाटै सच्चिएर आउन सुझाव दिएका छन् । ‘विधि पद्धति माथिबाटै पालना भए आउनुपर्‍यो । मुहान सफा भयो भने मात्र तलतिर सफा हुन्छ भन्ने सार हो,’ प्रवक्ता सापकोटाले सुनाए । सुदूरपश्चिमको अछाम खटिएका केन्द्रीय सदस्य ओमप्रकाश पुनले ‘हराएको पार्टी जनतामा पुगेको’ स्मरण गर्दै नेता तथा कार्यकर्ताको हैसियत जनतामा देखिएको बताए । ‘सांगठिक, वैचारिक र सांस्कृतिक रूपमा स्खलित भइसकेका रहेछौं भन्ने अनुभूति भएको छ,’ उनले सुनाए, ‘जनताको गुनासो कार्यकर्ताप्रति, कार्यकर्ताको नेताप्रति र नेताको मूल नेतृत्वप्रति गुनासो छ । यी गुनासा सम्बोधन नगर्ने हो भने रूपान्तरण हुन कठिन छ । भदौ १६ मा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ विचार निर्माण गर्ने बताएका थिए । ‘हामीले अभियानमार्फत कस्तो विचारको विकास गर्छौं र कस्तो पार्टी निर्माण गर्छौं भन्ने कुरामा हाम्रो भविष्य, लाखौं नेता र कार्यकर्ताको भविष्यसमेत निर्भर छ,’ उनले भर्चुअलमार्फत देशभरका कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए, ‘तसर्थ, अभियानका क्रममा तपाईंका हरेक पाइला, सोच, चिन्तन र कार्यशैली नेपाली जनताको र विश्वका श्रमजीवी जनताको भविष्य निर्माणमा अघि बढ्नेछन् भन्ने विश्वास लिएको छु । संघ र सातै प्रदेशमा सरकार तथा २ सय २० स्थानीय सरकारमा सहभागी माओवादीका लागि रूपान्तरण फलामको च्युरा चपाएजस्तो देखिएको छ । अभियानमा खटेका नेता तथा कार्यकर्ताले केन्द्रबाटै रूपान्तरण भए मात्र सम्भव हुने बताएका छन् । खोटाङमा खटिएका केन्द्रीय सदस्य दुर्गा जयन्ती राईले आफू सम्बन्ध नवीकरण गर्न गाउँ जाँदा बढी काम नेतृत्वबाट सुरु गर्नुपर्ने महसुस गरेको बताइन् । ‘समग्रमा नेतृत्वप्रति विश्वास कम छ । जनतामा विश्वास जगाउन नेतृत्वबाट व्यवहारमै काम थाल्नुपर्ने देखिन्छ,’ उनले अनुभव सुनाइन्, ‘जनताले व्यवहारमै प्रश्नको जवाफ खोजेका छन् ।’ कुरा गरेर मात्रै जनताको विश्वास जित्न नसकिने भन्दै उनले थपिन्, ‘गाउँमा शिक्षा, स्वास्थ्यको सुविधा, रोजगारीको सिर्जना चाहिएको अवस्थामा सरकारमा भएका बेला पार्टीले व्यावहारिक रूपमा सम्बोधन गर्नुपर्छ । अर्का केन्द्रीय सदस्य ओमप्रकाश पुनले यही अवस्थामा पार्टी विघटन र विसर्जनतिर जाने संकेत अभियानबाट मिलेको बताए । ‘साँच्चिकै रूपान्तरण भनेको जनताको जीवनशैलीसँग जोडिनु हो,’ उनले भने । माओवादीले अभियानकै क्रममा विगतमा सत्ता र निजी स्वार्थका कारण कम्युनिस्ट पार्टी विभाजन भएको उल्लेख गर्दै समाजवादी क्रान्तिका लागि वामपन्थी एकतामा जोड दिएको निष्कर्ष निकालेको छ । वामपन्थी एकता, पार्टी रूपान्तरण र समाजवादी क्रान्तिको आधार भने तयार भइनसकेको बुझाइ माओवादीको छ । यो अभियानबाट पार्टीको धरातल बुझ्न मद्दत पुगेको, स्थानीय कमिटी पुनर्गठन भएको, सदस्यता नवीकरण, स्थानीय तहका अन्तरविरोध हल गर्न सहयोग पुग्ने प्रवक्ता सापकोटाले बताए । ‘जनताका सुझावलाई कार्यान्वयनमा जाने हो भने पार्टी रूपान्तरण सम्भव छ भन्ने बल मिलेको छ,’ उनले भने । पार्टी रूपान्तरण अभियानमा करिब ८० प्रतिशत नेता तथा कार्यकर्ता परिचालन भएको उनको भनाइ छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार