काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ थियो । यो कर्मचारीको तलब भत्ता, प्रशासनिक खर्च आदि सबै रकम जोड्दा हुने खर्च हो । विकास बजेटलाई हेर्ने हो भने करिब ३ खर्ब २ अर्बको मात्रै विकास बजेट घोषणा भएको थियो । तर देशको कुल विकास बजेट बराबरकै रकम भने मात्रै पाँच व्यक्तिले कारोबार गरेको पाइएको छ । रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत् अदालतमा मुद्दा दायर गरेको छ । रुपेश श्रेष्ठ, आशिष अग्रवालसहितका ५ जना व्यक्तिहरुले करिब ३ खर्ब रुपैयाँको क्रिप्टोकरेन्सी, अनलाइन बेटिङ र हुण्डीको कारोबार गरेको पाइएपछि सीआइबीले उनीहरुमाथि अनुसन्धान गरेको थियो । अनुसन्धान पछि सीआइबीले ५ जनालाई पक्राउ गरी १२ जनालाई फरारको सूचीमा राखेर मुद्दा चलाएको छ । सीआइबीको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले माघ ७ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । सीआइबीले अनुसन्धानका क्रममा रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मिन बहादुर जिसी कुमार परियार र झनिन्द्र प्रसाद खतिवडालाई पक्राउ गरी पेस गरेको छ । कारोबारमा संलग्न विवादित व्यापारी विमल पोद्धारसहितका १२ जना कारोबारी भने फरार रहेका छन् ।
यसरी पक्राउ परे रुपेश:
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई बागबजारका रुपेश श्रेष्ठ ठूलो क्रिप्टो कारोबारी हुन् भन्ने सूचना आयो । मुख्यतः अमेरिकाका बैंक खाताहरुमा कारोबार गर्ने, हुण्डी, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ आदि सबै गराउने र अवैध सुन तस्करीमा समेत रकमको कारोबार गर्ने गरेको सूचना आएपछि सीआइबीले सुरुवा रुपेश श्रेष्ठसँग सम्बन्धित बैंक खाताहरुको अध्ययन गर्यो । बैंक खाताहरुको अध्ययन गर्दा रुपेशले अस्वभाविक कारोबार गरेको देखिएपछि सीआइबीको टोली बागबजारस्थित रुपेशको घरमा पुगेर गत मंसिर ६ गते जरुरी पक्राउ पूर्जी दिएर नियन्त्रणमा लियो । त्यसपछि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेपछि आशिष अग्रवाल, मिन बहादुर जिसी, कुमार परियार र झनिन्द्र प्रसाद खतिवडालाई नियन्त्रणमा लियो । करिब दुई महिना अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा रायसहितको प्रतिवेदन दियो । रुपेश एक्लैले गरेका थिए झण्डै २ खर्बको कारोबार, सीआइबीले प्रतिवादी बनाएका रुपेश श्रेष्ठ एक्लैले झण्डै २ खर्ब रुपैयाको कारोबार गरेको सिआइबीको अनुसन्धानबाट खुलेको छ । रुपेशले क्रिप्टोकरेन्सीमा १ खर्ब ७१ अर्ब ६२ करोड, १६ लाख, ९८ हजार १२७ रुपैयाँ, क्यास एपमार्फत् १४ अर्ब, ७४ करोड, ३२ लाख, ४८ हजार ४२५ रुपैयाँ, हुण्डी कारोबारमा २ अर्ब २६ करोड ११ लाख ५६ हजार ८८३ रुपैयाँ तथा घरबाट बरामद ८९ लाख ६९ हजार तथा अमेरिकी डलर ७ हजार २६ को नेपाली रुपैयाँ ९ लाख ३९ हजार गरी कुल १ खर्ब ८६ अर्ब ३७ करोड ४८ लाख ५४ हजार ७८७ रुपैयाँको कारोबार गरेको पाइएको छ । साभार : रापा












