काठमाडौँ — सहकारी ठगी तथा सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश शुक्रबार साँझ पक्राउ परेका छन् भने उपराष्ट्रपतिका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध १ सय ३८ केजी सुन तस्करी प्रकरणमा मुद्दा दायर भएको छ । तर योभन्दा उच्चस्तरबाट सुन तस्करलाई संरक्षण गर्ने पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि के कारबाही हुन्छ भन्ने प्रश्न आकर्षित भएको छ । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् । उनी माओवादी केन्द्रका विशेष प्रदेश कमिटीका सदस्य तथा अखिल क्रान्तिकारीका महासचिव हुन् । पुनका अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमा रहेको पाइएको छ । दीपेशलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । उनलाई खासगरी सहकारीको बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर सुन तस्करीमा समेत अनुसन्धान गर्ने बताइएको छ । चिनियाँ सुन तस्करसँग संलग्नता देखिए पनि पुनले यसअघि प्रहरी अनुसन्धानबाट उन्मुक्ति पाएका थिए । यता, आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि महरामाथि मुद्दा दर्ता त भएको थिएन । जबकि महरा बाबुछोराले चिनियाँ सुन तस्करहरूसँग २५६ पटक टेलिफोन संवाद गरेको कलडिटेल रेकर्ड प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ जसलाई सुन जाँचबुझ आयोगले पनि प्रमाण मानेको छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अर्कोतर्फ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३८ किलो सुन तस्करी गरेको आरोपमा पूर्वउपराष्ट्रपति पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । विमानस्थल भन्सार कार्यालयका अनुसार १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो जरिवाना र ५ वर्ष कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको हो । भन्सारले गरेको छानबिन र अनुसन्धानमा भरियाले विमानस्थल हुँदै दुबईलगायत देशबाट तस्करी गरेर ल्याएको सुन गुरुङले बुझिलिने गरेको पाइएको थियो । उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुखसमेत हुन् । मंसिर २१ मा १४ किलो सुनसहित विमानस्थलबाट गोरखाका चन्द्र घले पक्राउ परेपछि उक्त सुन ल्याउने ‘योजनाकार’ गुरुङ भएको खुलेको थियो । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत फागुन १४ मा पक्राउ गरेको थियो । पक्राउपछि विमानस्थल भन्सार कार्यालयले गरेको छानबिन र अनुसन्धानमा भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिएर व्यवस्थापन गरेको खुल्न आएको हो । उक्त सुन तस्करी प्रकरणमा यसअघि ९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएकामध्ये ७ जना पुर्पक्षका लागि थुनामा छन् भने २ जना फरार छन् । गुरुङसहित १० अभियुक्तलाई समान कसुरमा मुद्दा दायर गरिएको भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जनाए । उनी भन्सार विभागले गठन गरेको सुन तस्करीसम्बन्धी छानबिन समितिका संयोजकसमेत हुन् । भरियाले ल्याएको सुन गोरखाका मीन घले हुँदै गुरुङसम्म पुग्ने गरेको अनुसन्धानमा सहभागी भन्सारका एक अधिकारीले बताए । घले समूहले सन् २०१४ देखि नै सुन तस्करी गरेको र पछिल्लो एक वर्षमा मात्रै करिब १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको छानबिनमा क्रममा खुलेको थियो । तस्करहरूले ल्याएको सुन विमानस्थलको शौचालयभित्र लुकाएर राख्ने गरेको तथ्य फेला परेको थियो । नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको मिलेमतोमा सुरक्षा चेकजाँच छलेर ‘चोरबाटो’ हुँदै बाहिर निकाल्ने गरिएको पाइएको थियो । ‘भरियाले ल्याएको सुन विमानस्थलबाट बाहिर निकालेपछि पहिले मीन घलेले बुझ्थे । त्यसपछि जीवन गुरुङले भएको ठाउँसम्म पुर्याएर उनैको जिम्मा लगाउने गरेको प्रमाणहरू भेटिएको छ,’ ती अधिकारीले भने । उक्त प्रकरणमा मीन घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ र रमेश देउला पुर्पक्षका लागि थुनामा छन् भने दनबहादुर गुरुङ र बिना गुरुङ फरार छन् । उनीहरू श्रीमान्–श्रीमती हुन् । उनीहरूलाई पनि जीवनकुमार गुरुङले परिचालन गर्ने गरेको भन्सार कार्यालयले जनाएको छ । २०७२ कात्तिकदेखि २०७९ चैत ६ सम्म दुई कार्यकाल गरी करिब ७ वर्ष पुन उपराष्ट्रपति थिए । जतिबेला गुरुङ उपराष्ट्रपति पुनका सचिवालय टिममा थिए । उपराष्ट्रपतिको टिममा रहँदादेखि नै गुरुङले तस्करी गरेर ल्याएको सुन बुझिलिने गरेको भन्सारका अनुसन्धान अधिकृतहरूले जनाए । उनले नै भरियाले नेपाल ल्याएको सुन भारतीय बजारसम्म पुर्याउने गरेको खुलेको छ । उनीविरुद्ध पुस पहिलो साता पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि पर्वत स्थायी घर भएका उनी फरार थिए । एक वर्ष (२०७९ मंसिरदेखि २०८० मंसिरसम्म) मा मात्र कृष्णकुमारले १४ किलोका दरले ७ पटक, मीनले १४ किलो र चन्द्रले ४, ८ र १४ किलोसहित १ सय ३८ किलो सुन विमानस्थल हुँदै बाहिर निकालेको स्वीकार गरेका छन् । साभार : इका












