महोत्तरी, सप्तरी र काठमाडौं — आगलागीले सखाप बनाएको उजाड बस्तीमा बेला बेला हुरी चल्दा खरानी उडेर मुखसम्मै आइपुग्छ । तैपनि महोत्तरीको मटिहानी–६ जरलहवागाछीका ८० वर्षीय इलिहास अन्सारीलाई बस्तीभन्दा पर जान मन लाग्दैन । बस्तीसँग उनको दुई दशकदेखिको आत्मियता गाँसिएको छ । गत वैशाख १२ मा आगलागीले अन्सारीको सहित बस्तीका १ सय ३ घर जलेर ध्वस्त भए । विपद व्यवस्थापन समिति र पालिकाले आगलागीपछि सुरक्षित स्थानमा सार्ने प्रयत्न गर्दा पनि यहाँका बासिन्दा बस्ती छाड्न मानीरहेका छैनन् । हरेक बिहान बेलुका के खाने र कसरी रात कटाउने भन्ने चिन्ताबीच पनि इलिहासलाई जलेको बस्तीको मायाले सताइरहेको छ । ७ धुरमा घर थियो, सबै खरानी भयो,’ अन्सारीले भने, ‘अब कहाँ जाने?’ गुठी संस्थानको जग्गामा घर बनाएर बसेका अन्सारीजस्तै पीडितहरु अन्य ठाउँमा स्थानान्तरण भएमा त्यही जग्गा पनि गुम्ने त्रासमा छन् । ६ धुरमा बनेको फुसको घरमा गुजारा चलाइरहेकी ६० वर्षीया मफिदा खातुन अब केही नबचेको सुनाउँछिन् । ‘सरकारले दुखीलाई हेर्छ भन्ने सुनेको छु,’ उनले भनिन्, ‘हामीलाई अब आफैं बसेको ठाउँमा घर बनाइदिनपर्यो सरकार । बस्ती छोड्न नमानेका धेरैजसो अहिले त्रिपालमुनी कष्टकर रात गुजारिरहेका छन् । मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डल स्थायी बासको व्यवस्था कसरी गर्ने भन्नेमा निष्कर्षमा पुगिनसकेको बताउँछन् । गुठी संस्थान भने अब त्यही ठाउँमा बस्ती नबसाउने योजनामा छ । स्थानीयलाई पटक-पटक हटाउने कोसिस गर्दा पनि नसकेको संस्थानले अब उक्त जग्गामा घरटहरा बनाउन नदिने गुठी संस्थान महोत्तरीका प्रमुख किशोरकुमार झाले बताए । मटिहानीको जस्तै दुःखको कथा छ, सप्तरीको महादेवा गाउँपालिका–१ मा पनि । मंगलबार दिउँसो सल्केको आगोले यहाँको यादव, मुसहर र सरदार टोलका ६२ परिवारका १ सय २० घर जले । पीडितहरु त्रिपालमुनी रात बिताउन बाध्य छन् । श्रीमान्ले पञ्जाबमा काम गरेर पठाएको पैसा र जीवनभर दुःख गरेर जोडेको सरसामान आगोले खरानी बनाएको चिमटी गाउँकी सोनिला सदाले बताइन् । ‘एक टुक्रा पनि केही निकाल्न सकिनँ’ उनले भनिन् । चिमटी गाउँका अधिकांश पीडितको अवस्था सोनिलाकै जस्तो छ । कतिपयको आङमा एकजोर कपडा समेत देख्न मुश्किल छ । पालिका र जिल्ला प्रशासनले पीडितहरुको ब्यवस्थापन भईरहेको बताएपनि कैयौं पीडितले पाल समेत नपाएपछि मंगलबारको रात खुला आशाकमुनी नै काटे । ‘घरमा आगो लागेर दिनभरी तवाह भए, राति भोकै बिताइयो,’ पीडित रामकुमारी सदाले भनिन्, ‘बुधबार बिहानैदेखिको चर्को घाम छल्न कठिन भयो । आगलागी पीडित मुसहर बस्तीका अधिकांश पुरुष कमाउनका लागि पंजाब गएका छन् । रामकुमारीका पति उपेन्द्र सदा पनि १५ दिनअघि मात्र कामको खोजीमा पञ्जाब गएका छन् । ३ छोरा र एक छोरी घरमै रहेकी रामकुमारीको आगलागीमा घरसहित सरसामान जल्दा छाक टार्न र शरीर ढाक्ने लुगा समेत अभाव भएको बताइन् । ‘घर त खरानी भयो नै, अन्न र बस्त्र पनि बचाउन सकिएन,’ पीडित भुपेन्द्र यादवले भने, ‘जिविका चलाउनका लागि ट्रयाक्टर र थ्रेसर थियो त्यो पनि जल्यो । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय तह, रेडक्रस र अन्य संघसंस्थाको सहयोगमा पीडितको व्यवथापन भइरहेको दाबी गरे । बुधबार भएको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले खाद्यसामग्रीको व्यवस्थापन पालिकाले, बास र गैरखाद्य सामग्रीको व्यवस्था रेडक्रस, उद्योग वाणिज्य संघ र इच्छुक संघसंस्थाको समन्वयमा गर्ने निर्णय गरेको छ । राहत वितरण एकद्वार प्रणाली अन्तर्गत जिल्ला प्रशासनको समन्वयमा गर्नुपर्ने निर्णय समेत भएको छ । एक महिनामा ७४ जिल्लामा १ हजार ४ सय ११ वटा आगलागी (वनडढेलो सहित) का घटना भएका छन् । साभार : इका












