बिहीबार वर्षकै बढी गर्मी…..

काठमाडौं –    यस वर्ष काठमाडौं लगायत देशभरि नै पोहोरभन्दा बढी गर्मी भएको छ। मौसमविद्हरूले पश्चिमी क्षेत्रका तराईका भूभागमा अझै गर्मी बढ्न सक्ने अनुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री पुगेको छ। काठमाडौंको तापक्रम ३४ पुगेको बिहीबार पहिलोपटक भने होइन। यसअघि मे २४ तारिखमा पनि काठमाडौंको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री पुगेको थियो। महाशाखाका अनुसार पोहोर यही महिनामा काठमाडौंको तापक्रम यति पुगेको थिएन। पोहोर काठमाडौंको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्रीसम्म पुगेका थियो। ‘यो वर्ष काठमाडौंलगायत देशभरिको तापक्रम पोहोर सालको भन्दा बढी छ,’ मौसमविद् गोविन्द झाले भने, ‘हामीले पहिले नै यस वर्ष काठमाडौं लगायत देशभरिको अधिकतम तापक्रम औसतभन्दा बढी हुने अनुमान गरिसकेका थियौं। गर्मी याममा सूर्यको किरणबिना अवरोध सोझै पृथ्वीमा आउँदा अधिकतम तापक्रम बढ्ने गरेको उनको भनाइ छ। उनले भने, ‘तर बादल लाग्यो र बादलले सूर्यको किरणलाई अवरोध गर्‍यो भने अधिकतम तापक्रम घट्छ। महाशाखाका अनुसार अहिलेसम्मको रेकर्डमा काठमाडौंको तापक्रम सबैभन्दा बढी ३६ दशमलव ६ डिग्रीसम्म पुगेको छ। सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम त्यति पुगेको थियो। त्यो रेकर्ड भने यस वर्ष पनि तोडिएको छैन। मौसमविद् झाका अनुसार विशेष गरी सुदूरपश्चिम क्षेत्रका तराई–मधेसमा अझै गर्मी बढ्ने सम्भावना छ। अन्य प्रदेशहरूमा पनि तत्काल गर्मी घट्ने सम्भावना छैन। महाशाखाका अनुसार केही दिनयता नेपालगन्ज, धनगढी र दीपायल, वीरेन्द्रनगरमा सबैभन्दा बढी तापक्रम बढेको छ। ती ठाउँहरूमा अधिकतम तापक्रम ४२–४४ डिग्रीभन्दा माथि पुगेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार बिहीबार नेपालगन्जमा ४४.२, धनगढीमा ४४.१, घोराहीमा ४०.१ तथा वीरेन्द्रनगरमा ४१ डिग्री अधिकतम तापक्रम पुगेको छ। महाशाखाले निकालेको बुलेटिनअनुसार शुक्रबार कोसी, मधेस, बागमती र गण्डकीलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा मौसम सामान्यता सफा हुनेछ। यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस वर्ष नेपालमा मात्र नभई छिमेकी देशमा समेत अधिकतम तापक्रम बढेको छ। केही दिनअघि भारतको राजधानी दिल्लीको अधिकतम तापक्रम ५३ डिग्रीसम्म मापन गरिएको थियो ।  साभार :  नादप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार