कांग्रेसको देउवा समूहमा नेताको खोजी…..

काठमाडौं –   कांग्रेसको शीर्ष नेतृत्वमा सभापति शेरबहादुर देउवा नौ वर्षयता निरन्तर छन् । पार्टीभित्र उनीनिकट समूहमा बिस्तारै नेताको खोजी सुरु हुन थालेको छ । कांग्रेसका दुई खेमामध्ये तुलनात्मक रुपमा संस्थापन पक्ष एकताबद्ध छ । विगतमा लामो समय कोइराला पक्षको छायामा परेको हालको संस्थापन पक्षलाई सभापति देउवाले एकढिक्का बनाइराखेका छन् । पत्नी आरजु राणासँग विमति राख्ने व्यक्तिहरुलाई समेत उनले टाढा जान दिएका छैनन् । दोस्रोपटक सभापति बनिसकेका देउवाका लागि अब सोही पदमा रहन विधानले दिंदैन । १५ औं महाधिवेशनबाट देउवाले पद त्याग्नुपर्दछ । १३औं भन्दा १४ औं महाधिवेशनबाट देउवा थप शक्तिशाली बनेका थिए । अहिले कांग्रेसभित्र उठ्दै गरेको प्रश्न हो, केन्द्रीय समितिमा ८२ प्रतिशतको शक्ति रहेको संस्थापन पक्षलाई एकतावद्द अघि बढाउन सक्ने क्षमता देउवा जतिकै अर्को को होला ? एक उच्च तहका नेताको बुझाइमा देउवा समूहमा नेताको खोजी सुरु भएको छ, जुन खोजीले परम्परागत कोइराला-देउवा गुटको अघोषित संरचना समेत भत्काउने छ । ‘शेरबहादुर दाइसँग निकट नेताहरु यति बेला आफू नेता हुन्छु भनिरहनुभएको छैन, दोस्रो पुस्ताको कोही व्यक्तिलाई अघि सार्न चाहिराख्नुभएको छ,’ ती नेताले भने, ‘यो खोजी कांग्रेसको आन्तरिक जीवनका लागि रोचक छ । पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग भिड्दै छुट्टै समूहको अस्तित्व कायम गर्न सफल भएका देउवा १५औं महाधिवेशनमा प्रतिस्पर्धी नहुने पक्कापक्कीसँगै यो छटपटी सुषुप्त रुपमा प्रकट हुन थालेको हो । खासगरी देउवा समूहभित्र राजनीतिक करिअर बाँकी नै रहेका नेताहरुले नयाँ पुस्तासँग जोडिएर भए पनि आफूलाई मजबुत राखिराख्न खोजेका छन् । कांग्रेसमा नियमित समयमा महाधिवेशन हुने हो भने २०८२ मंसिरबाट नयाँ नेतृत्व आउनुपर्ने हुन्छ । देउवाको कार्यकाल दुई वर्ष पनि बाँकी नरहँदा त्यसपछि उनको समूह हाँक्ने पात्रका बारेमा कांग्रेसमा चर्चा सुरु भएको छ । कांग्रेसका नेताहरुका अनुसार देउवाले समूहको नेतृत्व लिने गरी अघि बढाउने व्यक्तिको निर्णयमा सभापति पुगिसकेका छैनन् । आफ्नो अनुकूल हुने गरी प्रतिबद्धता गर्ने व्यक्तिलाई नै उनले अघि सार्नेछन् । देउवाले कुनै पनि नेतालाई ‘तिमी हौ’ हाम्रो समूहको नेता भनिसकेका छैनन् । यसअर्थ उनको समूहको कसले नेतृत्व गर्छ भन्ने कुनै टुंगो छैन देउवाको समर्थनमा संस्थापन समूहबाट उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह उक्त पक्षको नेतृत्वमा पुग्ने आकांक्षी हुन् । देउवाले समूहको नेता हुने गरी भित्र्याउन सक्ने व्यक्तिमा संस्थापनइतरका नेता डा.शेखर कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालाको चर्चा छ । साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार