प्रचण्डमाथि दबाब बढाउँदै ओली…..

काठमाडौं –    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेताहरुको सार्वजनिक अभिव्यक्तिले सत्ता समीकरणमा असर नपर्ने बताएका छन् । सोमबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले यो समीकरण पुरा कार्यकाल चल्ने विश्वास गरेका छन् । सँगै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति जनाइरहेको असन्तुष्टि साँचो नभएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ‘उहाँले विरोध गरेजस्तो मात्रै गर्नुभएको हो । साँच्चै ग¥या होइन’, प्रचण्डले भनेका छन् । ओलीको अभिव्यक्ति र सत्ता सहयात्राबारे प्रधानमन्त्रीले सार्वजनिक खण्डन गर्नुपर्ने परिस्थिति भने गत १९ जेठपछि निर्माण भएको हो । आगामी आर्थिक वर्ष २०८१÷०८२ लागि १५ जेठमा सरकारले ल्याएको बजेटप्रति ओलीले संसदीय दलको बैठक राखेरै असन्तुष्टि जनाएका थिए । १९ जेठमा बसेको संसदीय दलको बैठकबाटै ओलीले बजेटप्रति सन्तोष जनाउन नसकिने भएकाले आफ्ना कुरा राख्न सांसदहरुलाई आह्वान गरेका थिए । ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर, छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ’, ओलीले त्यसदिन भनेका थिए । त्यसयता हरेकजसो सार्वजनिक अभिव्यक्तिमा ओलीले बजेटप्रति गुनासो गरिरहेका छन् । ओलीको संकेत पाएपछि एमाले सांसदहरुले बजेटका कमजोरी औंल्याइरहेका छन् । संसदीय अभ्यासमा सत्तारुढले बजेटको समर्थन र विपक्षीले आलोचना गर्ने प्रचलन स्वभाविक हो । तर अहिले प्रमुख सत्तारुढ शक्ति एमालेकै अध्यक्षले बजेटप्रति असन्तुष्टि जनाएका छन् । ओलीले नै असन्तुष्टि जनाएकाले सत्ता समीकरणबारे प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खण्डन गर्नु परेको देखिन्छ । प्रधानमन्त्री प्रचण्डको विश्वासप्रति सत्ता साझेदार दलका नेताहरु पनि सहमत देखिन्छन् । एमाले उपमहासचिव विष्णु रिमाल, नेताहरुको सार्वजनिक टिप्पणीकै आधारमा सत्ता समीकरणमा केही फरक नपर्ने बताउँछन् । ‘सत्ता समीकरणमा केही फरक पर्दैन, ढुक्कका साथ यो समीकरण अगाडि बढ्छ । साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार