सार्वजनिक खरिद, मिलेमतोले गर्नु गर्‍यो…..

काठमाडौं-    मिलजुल, मेलमिलाप र मिलेमतो– तीनवटै शब्दको अर्थ मानिस–मानिसबीच कुरो मिल्नु, मनपेट मिल्नु वा मिलाप हुनु हो। सुन्दा राम्रो लाग्छ–मिलाप भएको सुन्दा। तर सबै मिलाप राम्रा हुन्नन्। अघिल्ला दुई सबैका लागि हितकर भए पनि मिलेमतो भने हुन्न सबैका लागि किनकि यो खोटो नियतले गरिन्छ-आपूmलाई हित र अरूलाई बेहित गर्न खोजिने हुनाले। मानिसले कुरा गर्दा, अखबारका समाचारमा, मिडियाका समाचारमूलक रिपोर्टमा र विचारमा मिलेमतो शब्दको प्रयोग खुबसँग गरेका हुन्छन्। धेरैजसो प्रसंग सरकारले गरेको खरिद वा बिक्रीमा मिलेमतो भयो/गरियोको हुन्छ। यसखाले मिलेमतो धेरैजसो सरकारी पक्षका राजनीतिक व्यक्ति वा कर्मचारीले व्यवसायी पक्षसँग मिलेर गरे भन्ने हुन्छ भने केही खबर वा टिप्पणी व्यवसायी–व्यवसायी मिलेर प्रतिस्पर्धात्मकरूपमा गरिने भनिएको खरिदको खिल्ली उडाउँदै मिलेमतो गरी सरकारी ठेक्का हात पारे भन्ने हुन्छ।

खरिदका मूलभूत कुरा:

सार्वजनिक खरिद भनेको सरकारी निकायले गर्ने वा सरकारी कोष प्रयोग गरी अन्य निकायले गर्ने खरिद हो। यस्तो खरिद कानुनअनुसार गर्नुपर्छ। खरिद गरिने कुरा भनकोे मालसामान, निर्माण, परामर्श वा सेवा हुन सक्छ। खरिद सम्भव भएसम्म कम मूल्यमा हुनुपर्छ, व्यवहारमा पारदर्शिता, समान व्यवहार देखिनुपर्छ। त्यसैले सामान्यतया खरिद आफूलाई सबभन्दा उपयुक्त प्रमाणित गर्न सक्ने व्यवसायीबाट गर्नुपर्छ। निजी रूपमा खरिद गर्दाझैँ आफ्नो विवेक र क्षमताले जोसँग मन लाग्यो, ऊसँग गर्न मिल्दैन÷पाइन्न। यसका लागि बजारमा प्रतिस्पर्धा गराएर गर्नुपर्ने हुन्छ। प्रतिस्पर्धाको आधारमा खरिद गर्न आफूलाई के चाहिएको हो, त्यसलाई पहिले परिभाषित नै गर्नुपर्छ र त्यो कस्तो योग्यता वा गुण भएकाले आपूर्ति वा सेवा दिन सक्ला भनी बनाएका मापदण्डका बनाइनुपर्छ, अनि ती मापदण्डमा जो सबभन्दा राम्रो र सस्तो ठहरिन्छ ऊबाट खरिद गर्नुपर्छ। यसमा इच्छुक र तोकिएको योग्यता पुग्ने जोकोहीले भाग लिन पाउने हुनुपर्छ।

आमबुझाइ र कानुनी परिभाषा:

मिलेमतोमा यही नपाइने भनेको कुरालाई पङ्गु बनाउने काम हुन्छ– खरिदकर्ता र व्यवसायी मिलेर वा व्यवसायी–व्यवसायी मिलेर। उनीहरू विभिन्न हत्कण्डा अपनाउँछन् यसका लागि। प्रतिस्पर्धा गर्न सक्नेलाई रोक्छन् र यस्तो तारतम्य यस्तो मिलाउँछन् कि कसबाट खरिद गर्ने हो, त्यसको तय उनीहरूले पहिल्यै गर्छन्। प्रतिस्पर्धात्मकरूपमा खरिद भएझैँ देखाउँछन् मात्र। यसो भनूँ–प्रतिस्पर्धा भएको नाटक मात्र मञ्चन हुन्छ, यथार्थमा भएको हुन्न। सार्वजनिक खरिद स्वच्छ, पारदर्शी र मितव्ययी हुनुपर्छ भनेको छ नेपालको खरिदसम्बन्धी मुख्य ऐन– सार्वजनिक खरिद ऐन २०६३ ले। यस्तो हुनका लागि खरिद प्रतिस्पर्धामा आधारित हुनुपर्छ अपवादमा बाहेक। यी गुण भएको खरिद हुन केही अवाञ्छित गतिविधि हुनु हुन्न जसमा घुसको लेनदेन हुन नहुने, झुटो विवरण पेस हुन नहुने, अरूलाई प्रतिस्पर्धामा भाग लिन रोक्न बल, डर, धाकधम्की देखाउन नहुने, ठीक प्रक्रिया अपनाइएको थियो कि थिएन भनी जाँचबुझ गर्न खोज्दा अवरोध सिर्जना गर्न नहुने, मिलेमतो गर्न नहुने तथा निहित स्वार्थको द्वन्द्व रहेको कुनै व्यक्ति निर्णायक काममा संलग्न हुन नहुने। यस्ता कुरा खरिदका लागि प्रयोग हुने नेपालका कागजातमा उल्लेख भएका छन्। यसअनुसार मिडिया तथा आमबुझाइ खरिदमा हुने मिलेमतो भनेको खरिदकर्ता पक्षको व्यक्ति तथा व्यवसायीबीच हुने अवैध साँठगाँठ हो भन्ने रहने गरेको भए पनि यो त घुस वा भ्रष्टाचारको मामिला हो भने मिलेमतो भनेको व्यवसायी–व्यवसायी मिलेर प्रतिस्पर्धा हुन नदिई आपूmले सहमति गरेको व्यवसायीलाई ठेक्का पार्ने काम हो। साभार :  नादप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार