काठमाडौं – मलुकका सबै ६ महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् । महानगरपालिकाहरूले ल्याएको बजेटमा सार्वजनिक सेवा र सहरी पूर्वाधारमा जोड दिइएको छ । महानगरहरूले रोजगारी सिर्जना, सहरी सरसफाइ र फोहोर व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् । ६ महानगरमध्ये काठमाडौंले सबैभन्दा ठूलो बजेट २५ अर्ब ७० करोड बराबर ल्याएको छ भने सबैभन्दा सानो बजेट मधेश प्रदेशको वीरगञ्ज महानगरले २ अर्ब ८९ करोडको ल्याएको छ । सबै महानगरको गरी कुल ५३ अर्ब ६४ करोड ९ लाख बराबरको बजेट छ । संघीय राजधानी समेत रहेको काठमाडौं महनगरले आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ । महानगर उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको बताइन् । महानगरले आगामी आवको स्रोतका लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख खर्च हुने गरी विनियोजन भएको छ । यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन भएको छ । पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड विनियोजन भएको छ । महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख उठाउने लक्ष्य राखेको छ । यस्तै राजस्वका स्रोतहरूमा महानगरले ससर्त अनुदान संघबाट १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख स्रोत अनुमान गरेको छ । संघीय राजस्व बाँटफाँटबाट १ अर्ब ९९ करोड प्रदेशको राजस्व बाँटफाँट ५५ करोड राजस्व अनुमान महानगरले गरेको छ । स्थानीय राजस्व बाँटफाँटबाट १० करोड अनुमान गरेको छ । समानीकरण अनुदानतर्फ संघबाट ८० र प्रदेशबाट १० करोड अनुमान गरेको छ ।
ढलरहित नदीनाला गौरवको योजना, स्वरोजगारमा जोड:
आगामी आवका लागि महानगरको गौरवको योजना अन्तर्गत ‘ढलरहित नदीनाला’ लाई थप गरेको छ । ३ अर्ब ८० करोडको बजेट प्रस्ताव गरेको योजनामा महानगरले ठूलो लगानी गर्ने देखिएको छ । त्यस्तै ‘कपडा बैंक’, ‘थेमाटिक स्कुल’, ‘पोखरी मर्मत तथा संरक्षण’, ‘फोहरबाट मल’ र ‘महानगर होमस्टे’ जस्ता स्वर्णिम योजनाहरू बजेटमा आएका छन् । काठमाडौंले आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरका आर्थिक गतिविधि मार्फत योगदान गर्ने विषयलाई प्राथमिकता दिएको छ । यस्तै भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना, स्वदेशमै सिप तथा तालिम दिई स्वरोजगार बनाउने, खाद्य गुणस्तरलाई उच्च प्राथमिकता दिने महानगरको प्राथमिकता छ ।
ललितपुरको जोड सुशासन र दिगो विकासमा:
ललितपुर महानगरपालिकाले ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ । उपप्रमुख मञ्जली शाक्यले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगत खर्चतर्फ ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरिएको छ । ललितपुरले चालु आवका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार ल्याएकोमा आगामी आवका लागि १५ प्रतिशतले बढाएर ल्याएको हो । चालु आवका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार विनियोजन भएकोमा आगामी वर्ष सामाजिक सुरक्षा भत्ताबापत थप १५ करोड अन्य प्रशासनिक खर्च तर्फका पारिश्रमिक लगायत अनिवार्य दायित्वका रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालु खर्चतर्फ गत वर्षको तुलनामा करिव २९ करोड बढ्ने प्रक्षेपण गरिएको छ। अर्थात्, यो रकम चालु वर्षको तुलनामा ११ प्रतिशत बढी हो। ललितपुरले ल्याएको बजेटको प्राथमिकतामा सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास परेको छ । यस्तै कला, संस्कृति, सम्पदा संरक्षण र सम्बद्र्धनमा पनि महानगरले जोड दिएको छ । रोजगारमूलक शिक्षा, वातावरण संरक्षण, उद्यम–व्यवसाय प्रवर्द्धनमा महानगरको जोड रहेको बजेटमा उल्लेख छ । रोजगार प्रवर्द्धन, प्रविधियुक्त एवम् नागरिक मैत्री र जवाफदेही सेवा प्रवाहमा महानगरको जोड छ । साभार : अखप












